सीपीसीको छैटौँ पूर्ण बैठकतिर विश्वको ध्यान तानिँदै
2021-11-09 10:19:39CRI
Share with:

सीपीसीको छैटौँ पूर्ण बैठकतिर विश्वको ध्यान तानिँदै_fororder_DBC772A931D1277E028405AD3AC7B834

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक यही नोभेम्बर ८ तारिख सोमबारदेखि ११ तारिख बिहीबारसम्म (कात्तिक २२ देखि २५ सम्म) बेइजिङमा आयोजना हुँदैछ। सीपीसीको पूर्ण बैठकलाई प्लेनरी सेसन अथवा प्लेनम भन्ने चलन छ। यो बैठकले चीनको मात्र नभएर विश्वकै ध्यान आकर्षित गराएको छ।

सन् १९४९ अक्टोबर १ तारिखदेखि चीनको सत्ता सम्हालेको सीपीसी विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल हो। यसका ९ करोड २० लाख सदस्यहरु छन्। विगत ७२ वर्षदेखि अबिछिन्न सत्तामा रहेको सीपीसी र चीन सरकारको लोकप्रियदर ९० प्रतिशतभन्दा बढी रहेको अमेरिकी हार्डभड विश्वविद्यालयले गत वर्ष प्रकाशित प्रतिवेदनमा उल्लेख छ। विश्वका अन्य कुनै पनि मुलुकमा सत्तारुढ दल र सरकारको लोकप्रियदर ६५ प्रतिशतभन्दा माथि नभएको बेला सीपीसीको लोकप्रियदर भने बढ्दै गएको छ।

सीपीसीको पूर्ण बैठक महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय हो। पूर्ण बैठकले पारित गरेका एजेण्डालाई परिमार्जन अथवा खारेज गर्ने ल्याकत महाधिवेशनले मात्र राख्ने गर्छ। सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा हुने गर्छ। सम्पूर्ण केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य सहभागी हुने पूर्ण बैठक सामान्यत वर्षको एकपटक आयोजना हुनेगर्छ। महाधिवेशनको ठीक अगाडि र तुरुन्तै पछाडि चाहिँ एकै वर्षमा दुईपटकसम्म पूर्ण बैठक बस्न सक्छ। सीपीसीको १९ औँ केन्द्रीय समितिमा २०४ जना पूर्ण र १७२ जना वैकल्पिक सदस्य रहेका छन्।

सीपीसीको छैटौँ पूर्ण बैठकतिर विश्वको ध्यान तानिँदै_fororder_4FD66A86F3E008F718A621E79A2BB9F4

पहिलो पूर्ण बैठक महाधिवेशन सम्पन्न हुनासाथ बस्ने गर्छ। अन्य पूर्ण बैठक तीनदेखि चार दिनसम्म चल्ने भएपनि पहिलो पूर्ण बैठक भने एक दिन मात्र बस्ने गर्छ। यस बैठकले सीपीसीको महासचिव, पोलेटब्युरो, स्थायी कमिटीको चयन गर्दछ।

सीपीसीको नेतृत्व पहिलो पूर्ण बैठकले गर्छ भने चीनको नेतृत्वको प्रस्ताव दोस्रो पूर्ण बैठकले गर्छ। सामान्यतः अक्टोबर अथवा नोभेम्बरमा सीपीसीको महाधिवेशनसँगै पहिलो पूर्ण बैठक सम्पन्न भएको हुन्छ। त्यसको तीन महिनापछि दोस्रो पूर्ण बैठकले चीनको राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय जनकंग्रेसको अध्यक्ष र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको अध्यक्ष कसलाई बनाउने भनेर प्रस्ताव गर्दछ। सीपीसीको दोस्रो पूर्ण बैठकले प्रस्ताव गरेका व्यक्तिहरुलाई मार्चको ५ तारिखबाट सुरु हुने राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले औपचारिकता रुपमा चयन गर्छ।

चीनको राजनीतिक तथा आर्थिक कार्यक्रममा सीपीसीको तेस्रो पूर्ण बैठक सर्वाधिक महत्वको हुने गर्छ। सन् १९७८ मा ११ औँ सीपीसीको तेस्रो पूर्ण बैठकले सुधार र खुलापन अँगाल्ने निर्णय गरेको थियो। वर्तमान समृद्धशाली र शक्तिशाली चीनको यात्राको महत्वपूर्ण कोशेढुङ्गा यही बैठकलाई मानिन्छ।

सीपीसीको चौथो पूर्ण बैठकले चीनको शासन क्षमताका विषयमा केन्द्रित एजेण्डामा बहस गर्छ भने पाँचौँ पूर्ण बैठकले आशन्न पञ्चवर्षीय योजना तर्जुमा गर्दछ। छैटौँ पूर्ण बैठकले समाजको नैतिक धरातल सुधारमा छलफल गर्दै सांस्कृतिक पुनर्संरचनाका कार्यक्रमहरु अगाडि सार्ने गर्छ।

सातौँ पूर्ण बैठक सीपीसीको अन्तिम पूर्ण बैठक हो।  सातौँ पूर्ण बैठकले सीपीसको आशन्न महाधिवेशनमा पेश हुने प्रतिवेदन तयार गर्दछ। सातौँ पूर्ण बैठक सीपीसीको महाधिवेशनको ठीक पूर्वसन्ध्यामा आयोजना हुने गर्छ।

सीपीसीका उल्लिखित सातवटा पूर्ण बैठकहरु पूर्वनिर्धारित कार्यतालिका अनुसार व्यवस्थित र अनुशासित रुपमा सम्पन्न हुने गर्दछन्। राजनीतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा नीति निर्मण गर्ने, सरकारलाई मार्गनिर्देशन गर्ने, विदेश नीति परिमार्जन गर्ने लगायत महत्वपूर्ण विषयमा छलफल गर्दै कार्ययोजना अगाडि सार्ने गर्छ।

सीपीसीको छैटौँ पूर्ण बैठकतिर विश्वको ध्यान तानिँदै_fororder_D8EC1FDDB060531738FF6BCE53631E4D

चीनले ल्याउने नयाँ आर्थिक नीति, सुरक्षा व्यवस्था, वातावरण संरक्षण, राजनीतिक सुधार, सामाजिक पुनर्संरचना आदिले चीनभित्र मात्र होइन विश्वमा असर पार्दछ। चीनका नयाँ नीतिले छिमेकी मुलुकका साथै विश्वका प्रमुख आर्थिक तथा राजनीतिक शक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेकै हुन्छ।

आइतबारबाट सुरु हुँदै गरेको १९औँ सीपीसीको छैटौँ पूर्ण बैठक सीपीसीले सय वर्षको यात्रा पूरा गरेपछि आयोजना हुँदै गरेकाले यसको महत्व बढेको हो। कोरोना महामारी नियन्त्रण गर्नका लागि चीनले चालेका कदम, चीनको खोप कूटनीति, चर्कदै गएको चीन अमेरिका सम्बन्ध, ताइवानलाई शान्तिपूर्ण पुनःएकीकरण चीनको अभिष्ट, चीनका विरुद्धमा अमेरिकाले सुरु गरेको गठबन्धन आदि विषयमा चीनले केकस्तो नयाँ कदम चाल्छ भन्ने कुरामा विश्वको ध्यान केन्द्रित भएको छ। तसर्थ पनि बैठकमा पेश हुने एजेण्डा र बैठकले गर्ने निर्णयका बारेमा संसारका प्रमुख संचार माध्यमले सतर्कतापूर्वक विश्लेषण गर्न तम्तयार भएर बसेका छन्।

यस बैठकले मुख्यत: बितेका १ सय वर्षयता सीपीसीको उल्लेखनीय उपलब्धिको निचोड निकाल्नुका साथै मौजुदा ऐतिहासिक चुनौति तथा समस्याको अनुसन्धान र व्याख्या गर्नेछ

सीपीसीको छैटौँ पूर्ण बैठकतिर विश्वको ध्यान तानिँदै_fororder_4E8FD8B69B28E2C6862A6338B6622886

सीपीसी केन्द्रीय समिति स्कुल विभागका प्राध्यापक ताइ येन च्युनका अनुसार, यस पटकको पूर्ण बैठक चिनियाँ कम्युनिष्ट पार्टीको सतवार्षिकी पछि आयोजना गरिने सम्पूर्ण र ऐतिहासिक अर्थ बोकेको एक महत्वपूर्ण बैठक हो। सीपीसीले एक सय वर्षको इतिहासबाट ज्ञान र शक्तिको समिश्रण गरेर आफ्नो अठोटलाई सुदृढ पारी राम्रोसँग भविष्यको सिर्जना गर्दै जाने योजना अनुसार यस बैठकमा घनिभूत छलफल हुनेछ।

सामान्यतः छैटौँ पूर्ण बैठकले समाजको गर्ने नियमित एजेण्डामा चिनियाँ समाजको नैतिक धरातल सुधारमा छलफल गर्दै सांस्कृतिक पुनर्संरचनाका कार्यक्रमहरु अगाडि सार्ने हो। यस्तो एजेण्डा आफैँमा अत्यन्त गहन र वृहत हुनु स्वाभाविक छ। एक सय वर्ष पुगेको सत्तारुढ दलका अगाडि एक्काइसौँ शताब्दीमा जन्मिएका युवाको आकांक्षा पूरा गर्नुपर्ने सिङ्गो अभिभारा छ।

एक सय वर्षको इतिहास बोकेको सीपीसीले चिनियाँ नक्सामा प्राप्त गरेको विकासको उपलब्धि र संकलन गरेको मूल्यवान अनुभवमाथि चार दिनसम्म छलफल गरेपछि बैठकले निचोड निकाल्नेछ।

साभारः नेपाल भ्युज अनलाइन।