आधुनिक समाजवादको बाटोमा चीन
2021-11-11 15:23:43cri
Share with:

------- अजय अलौकिक

आधुनिक समाजवादको बाटोमा चीन_fororder_src=http___big5.xinhuanet.com_gate_big5_www.xinhuanet.com_photo_titlepic_111875_1118758034_1461808609391_title0h&refer=http___big5.xinhuanet

मानिसको जन्मसँगै नयाँ आशा पनि पलाएको हुन्छ र यही आशाले नै जीवनलाई डोर्याउने गर्दछ। साथै कोही मानिस सफल हुन आशासँगै लक्ष्य पनि लिएर हिँड्नुपर्छ। महाकवि लक्ष्मी प्रसाद देवकोटाले ‘उडी छुनु चन्द्र एक’ भने झैं योजना बनाएर लक्ष्य प्राप्तिका लागि अघि बढ्नुपर्छ। यस्ता लक्ष्य, योजना मानिसमा मात्रै सिमित हुँदैन, मुलुकले पनि बनाएको हुन्छ। कुनै पनि देशलाई अघि बढाउने काम राजनीतिले गरेको हुन्छ। राजनीति तथा सरकार र नेतृत्व वर्गद्वारा देशलाई हाँक्ने गरिन्छ।

नेपालमा पनि दुई तिहाइको सरकार स्थापनासँगै आमनेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको छ। जसरी नेपालको समृद्ध नेपाल, सुखी नेपालीको नारा छ यस्तै चीनले नयाँ चीन स्थापनाको एक सयौं वार्षिकोत्सवअघि आधुनिक शक्तिशाली समाजवाद राष्ट्र बनाउने लक्ष्य लिएको छ।

चीन अहिलेदेखि नै यो लक्ष्य पछ्याउने बाटोमा लम्किसकेको छ। भर्खरै सम्पन्न चीनका महत्त्वपूर्ण दुई अधिवेशनमा यसै वर्षबाट आरम्भ हुने चौधौँ पञ्चवर्षीय योजनासँगै सन् २०३५ सम्मको दीर्घकालीन लक्ष्यको कार्ययोजनाको मस्यौदा माथि बहस गरी एउटा खाका पारित गरेको छ। उक्त खाकाबाट नयाँ विकास अवधारणालाई कार्यान्वयन गर्दै उच्च गुणस्तरीय विकास पथमा लाग्ने चिनियाँ अठोट व्यक्त गरिएको छ। यस पटकको दुई अधिवेशनको मुख्य विषय नै चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्य मस्यौदाको रूपरेखाको समीक्षा रहेको थियो।

यस सन्दर्भमा, खासमा चीन दुईवटा शतवार्षिकीमा दुईवटा लक्ष्य भेट्टाउने उद्देश्यले अघि बढेको छ। पहिलो, सन् २०२० सम्ममा पूर्ण रूपमा गरिबी निवारण गरी सन् २०२१ सम्म, चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी वर्षमा चीनलाई औसत रूपमा सम्पन्न मुलुक बनाउने र अर्को सन् २०४९ मा, नयाँ चीन स्थापनाको शतवार्षिकीमा चीनलाई आधुनिक शक्तिशाली समाजवाद मुलुक बनाउने लक्ष्य रहेको छ।

चीनले पहिलो शतवार्षिकी लक्ष्य पूर्वघोषित समय भित्रै हासिल गरेको छ। योसँगै चीनको गरिबी निवारण समीक्षा तथा पुरस्कार समारोह फेब्रअरी २५ तारिख बेइजिङ सहरमा आयोजना गरिएको थियो जहाँ चीनका राष्ट्रपति सी चिनफिङले चीनले गरिबी निवारण युद्धमा पूर्ण जीत हासिल गरेको घोषणा गरेका थिए। पछिल्लो ८ वर्षमा मात्र ८ सय ३२ वटा गरिब जिल्लाहरू र १ लाख २८ हजारवटा गरिब गाउँहरू लगायत लगभग १० करोड गरिब जनता गरिबीमुक्त भएका छन्।

यसै गरी, चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवशेनदेखि नै नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराबारे चर्चा हुँदैआएको थियो र सन् २०१७ अक्टुबरमा, १९‌औं महाधिवशेनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा चीन राष्ट्रको पुनःउत्थानलाई सफल बनाउने निर्देशिका भएको दावीसहित सार्वजनिक गरेका थिए। यस विचारधारामा सन् २०२१ सम्ममा चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्ने आधारमा यस २१औँ शताब्दीको मध्यकालसम्ममा चीनलाई सबल, प्रजातान्त्रिक, सभ्य, सामञ्जस्यपूर्ण तथा सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुक बनाउने उल्लेख गरिएको छ।

दुईवटा शताब्दी लक्ष्य, २०२१ सम्म चीनलाई औसत सम्पन्न मुलुक बनाउने र जन गणतन्त्र चीनको स्थापनाको शतवार्षिकी मनाउन २०४९ मा चीनको पुनरोदय गर्ने लक्ष्य लिएको छ। यसै लक्ष्य भेट्टाउन चीनले यस वर्षबाट आरम्भ हुने चौधौँ पञ्चवर्षीय योजना तथा आधुनिक शक्तिशाली समाजवाद मुलुकको निर्माणका लागि अबको पन्ध्र वर्ष अर्थात् सन् २०३५ सम्म पहिलो चरणको खाका बनाएको छ। यस वर्षबाट चीन नयाँ यात्रामा अग्रसर भएको छ।

योजना अनुसार, २१ औं शताब्दीको मध्यसम्ममा चीनलाई सबल, प्रजातान्त्रिक, सभ्य, सामञ्जस्यपूर्ण तथा सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुकको निर्माणअघि सन् २०३५ सम्ममा पहिलो चरणको आधुनिक समाजवाद मुलुकको निर्माण रहेको छ। यसका लागि चीन संयुक्त रूपमा आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक तथा पर्यावरणीय सभ्यताको आधुनिक निर्माणमा लागेको छ।

आर्थिक वृद्धिले मात्र सामाजिक बाधा तथा कठिनाइको अन्त्य हुँदैन। समाज, संस्कृति तथा पर्यावरणको विकास पनि सँगसँगै हुनुपर्छ भन्ने कुरामा चीन प्रष्ट छ। आधुनिकीकरणको असन्तुलनले विकासमा द्वन्द्व निम्त्याउन सक्छ यसैकारण चीनले सामाजिक विकासलाई जोड दिएको छ। साथै सी विचारधारामा चीनमा विद्यमान महत्त्वपूर्ण समस्यामा असन्तुलित र अपूर्ण विकास र यसबाट जनताको आवश्यकतालाई पूरा गर्न चुनौती थपेको उल्लेख छ।

तसर्थ, समाजवादी आधुनिकीकरणमा जनमुखी विकासमा जोड दिइन्छ जहाँ आर्थिक विकाससँगै सामाजिक विकासलाई महत्त्व दिएर साझा समृद्धि तथा प्रकृति र मानवजातिबीच सामञ्जस्यपूर्ण सहअस्तित्व हासिल गरिन्छ।

यसै क्रममा, कोभिड-१९ महामारीको अवधिमा चीनले ‘जनतालाई प्राथमिकता’, ‘सर्वप्रथम जनता’ भन्ने नारा अवलम्बन गरेको थियो। यसै गरी गरिबी निवारणको क्रममा ‘कोही पनि नछुटुन्’ भन्दै गाउँगाउँको कुनाकाप्चासम्म पुगेर यो अवधारणालाई लागू गरेको थियो। करोडौं जनतालाई गरिबीमुक्त गरी विश्वसमक्ष चमत्कार देखाएको चीनले अब १ दशमलब ४ अर्बको सङ्ख्यामा रहेका समग्र जनताको उच्च कोटीको विकासमा ध्यानकेन्द्रीत गर्ने छ।

यस विशाल जनसङ्ख्याको विशाल माँग अनि घरेलु बजारको आधारमा चीनले अन्तर्राष्ट्रिय बजार तथा घरेलु बजार आधारित दोहोरो संचरणको ढाँचालाई अघि सारेको छ। चीनसँग ४० करोडभन्दा बढी मध्यम आय भएका जनता छन्। चीनले भौतिक वस्तुको उपभोगमा प्रोत्साहन, वस्तु तथा सेवाको खपतमा नयाँ नयाँ ढाँचाको प्रयोगसँगै उच्च कोटीको गुणस्तरीय सेवा तथा वस्तुको उत्पादनमा जोड दिने छ। चीनले डिजिटल इकोनोमीको विकास गर्दैजाने छ र नयाँ विकास दर्शन तथा वैज्ञानिक विश्लेषणको विकास गर्ने छ। चीनले नवप्रविधि तथा विज्ञानको विकासमा विशेष महत्त्व दिएको छ। साथै नवप्रविधि, नविनता नै उच्च कोटीको विकासको साँचो हो।

चिनियाँ राष्ट्रपति सीले नवीनता नै विकासको मुख्य शक्ति भएको र उच्च कोटीको विकास प्राप्त गर्न नवीन प्रविधिलाई अङ्गाल्न जोड दिँदैआएका छन्। उनले आफ्नो भाषणहरूमा विज्ञान तथा प्रविधिको विकासले उच्च कोटीको विकास हासिल गर्ने दोहोर्याउँदैआएका छन् र यही अनुरूप कार्ययोजनाहरू अघि बढेका छन्। साथै राष्ट्रपति सीले वैज्ञानिक तथा प्राविधिक विकासमा विश्वभरका वैज्ञानिक लक्षित गरिनुपर्ने, मुख्य आर्थिक क्षेत्रमा सेवा पुर्याउने तथा देशको महत्त्वपूर्ण आवश्यकताहरूलाई पूरा गर्ने र जनताको स्वास्थ्य तथा जीवनलाई फाइदा पुर्याउने हुनुपर्ने पनि बताउँदैआएका छन्।

यसै गरी, दुई अधिवेशनको दौरानमा प्रधानमन्त्री ली खछ्याङले पनि चीनले विज्ञान तथा प्रविधिको काममा प्राप्त सफलता तथा सूचनाको आदानप्रदानलाई तीव्रता दिने बताएका छन्। साथै चौधौँ पञ्चवर्षीय योजनाको अविधमा अनुसन्धान तथा विकासको खर्चमा औसत रूपमा ७ प्रतिशतभन्दा बढी वार्षिक वृद्धि सुनिश्चित गरेको छ। नवीन प्रविधिको क्षेत्र र उच्च प्रविधिको व्यवसायको विकाससँगै नवप्रविधिको विकासमा विश्वमा अग्रपङ्क्तिमा आउने दीर्घकालीन लक्ष्य चीनले लिएको छ।

आधुनिक समाजवादको बाटोमा चीन_fororder_src=http___ww.dongyh.albiz.cn_imgMsg88_images_202004_15864802559600.png&refer=http___ww.dongyh.albiz

कोभिड-१९ महामारीसँगै चीनमा इन्टरनेट गतिविधि ह्वात्तै बढेको छ। गाउँगाउँसम्म अनलाइन व्यापार, अनलाइन शिक्षा, टेलिमेडिसिन, अनलाइन स्ट्रीमिङ निकै फस्टाएको छ। ‘अप्टिकल फाइबर’को विस्तार ‘फाइभ जी’ बेस स्टेशनको निर्माणले सबै जनतामा इन्टरनेटको पहुँच पुगेको छ। उच्च विकासका लागि विज्ञान तथा प्रविधिलाई विशेष जोड दिँदै चीनले वैज्ञानिक तवरमा औद्योगिकरण, सहरीकरण, कृषि आधुनिकीकरणसँगै सूचना प्रविधिको विकासमा छिटोभन्दा छिटो लक्ष्य प्राप्त गर्ने छ। ८ वर्षमा लगभग १० करोड गरिब जनता गरिबीमुक्त गरेको चीनले विश्वलाई फेरि पनि अचम्भित तुल्याउने नै छ। यसै बीच चीनले विश्व बौद्धिक सम्पत्ति संगठनको सन् २०२० ग्लोबल इन्नोभेसन इण्डेक्समा १४औँ स्थानमा फड्को मारेको छ।

समाजवादी आधुनिकीकरणको बाटोमा गुणस्तरीय तथा उच्च कोटीको विकाससँगै आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक तथा पर्यावरणीय सभ्यताको निर्माणमा लागेको चीनले २०२१ देखि २०३५ को अवधिमा आधुनिक समावजादको पहिलो चरणको अनुभव गर्ने छ। यस यात्रामा सक्षम सरकार र नेतृत्वको अहम भूमिका रहने छ। उता नेपाल समाजवाद उन्मुख राष्ट्र भनिएको छ। प्रजातन्त्र स्थापनादेखि नै थालिएको समावजादको चर्चा आज अझै व्यापक बनेको छ। माक्स समाजवाद, लोकतान्त्रिक समाजवाददेखि वैज्ञानिक समाजवाद र यूटोपियनसम्मका चर्चापरिचर्चा हुने गरेको छ र चर्चामै सिमित पनि छ।

चीनले नयाँ चीन स्थापनापछि कृषि, उद्योग, रक्षा तथा विज्ञानको क्षेत्रमा आधारित चार आधुनिकीकरणको नारा बुलन्द गरेको थियो। सन् १९७८ मा सुधार तथा खुलापन नीति लागू गरेपछि चीनले विकास र समृद्धिको नयाँ यात्रा आरम्भ गरेको मान्नसकिन्छ। चीनले खुला नीतिलाई अपनाउँदै विश्व व्यापीकरणको समर्थन गर्दैजाने नै छ र विश्वले पनि लाभ उठाउने नै छ। साथै विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको देशको अबको आधुनिकीकरणको यात्रा र गतिले विश्वलाई अवश्य प्रभावित पार्ने छ।

(इकागजमा चैत्र ४, २०७७ मा प्रकाशित)