प्रेमिका नपाएर निराश युवाबाट शुरू भएको अभियान बन्यो किनमेल महोत्सव
2021-11-18 17:29:37cri
Share with:

प्रेमिका नपाएर निराश युवाबाट शुरू भएको अभियान बन्यो किनमेल महोत्सव_fororder_src=http___ww2.sinaimg.cn_mw690_002nFBTqly1gvlz3iiwidj61hc0ondsz02&refer=http___www.sina

चीनमा एकै दिन अनलाइनबाट सबैभन्दा धेरै किनमेल हुने दिन हो नोभेम्बर ११। यस दिनलाई किनमेल दिवसका रुपमा मनाउन थालिएको छ। नोभेम्बर ११ को अनलाइन छुटको किनमेल महोत्सव चीनबाट सुरु भएर यतिबेला विश्वभर नै लोकप्रिय हुन थालेको छ।

नोभेम्बर ११ का दिन अलिबाबाले छुट दिएर सुरु गरेको किनमेल चलन चीनबाट अन्य मुलुकमा पनि फैलिन थालेको प्रमाण नेपालको दराज कम्पनीलाई लिन सकिन्छ। नोभेम्बर ११ का दिन दराज कम्पनीले नेपालमा अनलाइन किनमेलमा विशेष छुट दिने कार्यको थालनी केही वर्ष अगाडि गरेको छ। दराजमा अलिबाबाले लगानी गरेको छ।

हिजोआज नोभेम्बर ११ लाई किनमेल दिवस भनिए पनि यसको थालनी चाहिँ एकल दिवस अर्थात् ‘सिङ्गले डे’ बाट सुरु भएको हो। मिति लेख्दा नोभेम्बर ११ मा सबैभन्दा बढी ‘१’ सङ्ख्याको प्रयोग हुन्छ। एघार महिनाको एघार तारिख लेख्दा चारवटा १ प्रयोग हुने भएकाले यसलाई ‘एकल दिसव’ भन्न थालिएको हो।

विश्वभरि नै किनमेलको उत्सवका रुपमा मनाइने एकल दिवसको थालनी चाहिँ निकै निरस र दुःखद रहेको छ।  

सन् १९९३ मा नाचिङमा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले एकल दिवस मनाउन सुरु गरेका हुन्। विश्वविद्यालयको छात्राबासमा अध्ययनरत चारजना विद्यार्थीले प्रेम गर्नका लागि केटी साथी पाएका थिएनन्।

लैङ्गिक असमानताले चिनियाँ युवाले जोडी नपाउने र जोडी पाइहाले पनि विवाह परम्परा अत्यन्त महङ्गो भएकाले थुप्रै चिनियाँ युवाहरु एकल जीवन बिताउन बाध्य भएका छन्।

सन् १९७८ देखि चीनले लिएको एक सन्तानको नीतिले चीनमा लैङ्गिक असमानता रहेको छ। चीनको जनसंख्यामा एक सय महिलाको अनुपातमा एक सय १८ पुरुष रहेका छन्। अहिले चीनमा ३० वर्षभन्दा कम उमेरमा महिलाभन्दा पुरुषको संख्या ३ करोड ५० लाखले बढी छ। यही समस्यालाई मध्यनजर राख्दै चीनले सन् २०१६ देखि एक सन्तानको नीति हटाएर दुई सन्तानको नीति लिएको छ। यसलाई अझै सुधार गरेर अहिले आएर चीनले तीन सन्तानको नीति अँगालिसकेको छ।

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिले बिहे गर्ने उमेरका साढे तीन करोडभन्दा बढी युवाले युवती पाउँदैनन्। जोडी पाउने युवा पनि बिहेमा हुने खर्चका कारण बिहे नगरिकन एकल बस्न थालेका छन्। चीनका दशवटा ठूला शहरमा विवाह गर्ने खर्चका बारेमा भएका विभिन्न सर्वेक्षण अनुसार पैचिङ, शाङहाई, शनचन लगायत चीनका पहिलो पंक्तिका शहरहरुमा विवाहको खर्च २० लाख युआनभन्दा बढी पुगेको छ भने हाङ चौ, क्वाङ चौ, नानचिङ आदि शहरमा विवाहको खर्च १० लाख युआन बराबर छ।

चीनमा बिहे गर्नका लागि पहिले प्रेम गर्नुपर्छ। लैङ्गिक असमानताले गर्दा सबै केटाले प्रेम गर्नका लागि केटी पाउन मुस्किल छ। यही मुस्किलमा फसेका थिए नानचिङ विश्वविद्यालयका ती चार केटाहरु।

अरु साथीहरु प्रेमिका लिएर रेष्टुरेन्ट गएको देख्ता उनीहरु निरास हुन्थे। ती चारजना केटाहरुले सल्लाह गरे र उनीहरुभित्र भएको एक्लोपन र निरासालाई हटाउनका लागि ‘सिङ्गलडे’ मनाउने बिचार गरे। सल्लाह अनुसार उनीहरुले नोभेम्बर ११ तारिखलाई रोजे। ती विद्यार्थीहरुले नोभेम्बर ११ कै दिन भेला भएर पार्टी गर्नुको कारण म एक्लै छु भन्ने सन्देश दिनु थियो।

सन् १९९३ पछि हरेक वर्ष नोभेम्बर ११ का दिन जोडी नपाएका विद्यार्थीहरु भेला हुने र एक्लोपन भगाउनका लागि पार्टीको आयोजना गर्न थाले। केही वर्षसम्म यो छात्राबासका विद्यार्थीबीचमा मात्र सीमित थियो। यद्यपि एकल दिवसमा केटाहरु मात्र होइन केटीहरु पनि भेला भएर उत्सव मनाउन थालेका थिए।

      सन् १९९३ बाट सुरु भएको एकल दिवस सीमित चिनियाँहरु युवापुस्तामा अल्झिएको थियो। सन् २००९ मा अलिबाबाले यो दिवसमा विशेष छुट दिन थालेपछि करोडौँ चिनियाँहरु यो दिवसमा रमाउन थालेका छन्। यद्यपि अलिबाबाले एकल दिवसमा दिने छुट सबैमा लागू हुने गरेको छ।

अलिबाबाले सन् २००९ को नोभेम्बर ११ तारिख पहिलोपटक एकल दिवसका अवसरमा विशेष छुटमा खरिद गर्ने सुविधा उपलब्ध गराएको थियो। यस सुविधा अन्तर्गत अलिबाबाको इन्टरनेट प्लेटफर्ममार्फत सन् २०११ मा ८२ करोड अमेरिकी डलरका सामान किनमेल भएको थियो। अर्को वर्ष सन् २०१२ मा यो मात्रामा उल्लेख्य बढोत्तरी भएर ३ अर्ब ४ करोड अमेरिकी डलरको कारोबार भएको थियो। त्यसपछि सिङ्गल डेका अवसरमा अलिबाबाको वेभसाइटबाट हुने कारोबार हरेक वर्ष बढ्दै गएको छ। २०१३ मा ५ अर्ब ८० करोड, २०१४ मा ९ अर्ब ३० करोड र २०१५ मा १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार भएको थियो। यस्तै सन् २०१६ मा १७ अर्ब ७९ करोड, २०१७ मा २५ अर्ब ३० करोड, २०१८ मा ३० अर्ब ८० करोड र सन् २०१९ मा ३९ अर्ब ४० करोड अमेरिकी डलरको कारोबार भएको थियो। गत वर्ष सन् २०२० को नोभेम्बर ११ मा अलिबाबाले ७४ अर्ब १० करोड अमेरिकी डलरको सामान बेचेको थियो। सन् २०१९ को भन्दा २०२० मा अलिबाबाको एकल दिवसको कारोकार ८५.६ प्रतिशतले वृद्धि भएको थियो। त्यसो त विगत ११ वर्षमा एकल दिवसमा अलिबाबाको कारोकार ९ लाख ४९ हजार ९ सय प्रतिशतले बढेको छ। अलिबाबाले आफ्ना भगिनी संस्था थाउपाउ र टिमलबाट नोभेम्बर ११ मा विशेष छुट दिने गरेको छ।

अलिबाबाले सन् २०१२ डिसेम्बर २८ तारिखमा एकल दिवसलाई चीनमा दर्ता गराएर आफ्नो सर्वाधिकार सुरक्षित गरेको छ। एकल दिवसमाथि कानुनी रुपमै एकाधिकार जमाएको अलिबाबाले यो दिवसका अवसरमा विशेष छुट भनेर अन्य कुनै पनि अनलाइनले विज्ञापन गरेमा मुद्दा चलाउने चेतावनी सन् २०१४ को अक्टोबरमा दिइसकेको थियो। चेतावनीका वावजुद इन्टरनेटका प्राय प्लेटफर्ममा एकल दिवसका अवसरमा छुटका विज्ञापन देख्न पाइन्छ। तर पनि अनलाइनबाट विशाल कारोबारमा भने अलिबाबाको बर्चश्व रहेको छ।

प्रेमिका नपाएर निराश युवाबाट शुरू भएको अभियान बन्यो किनमेल महोत्सव_fororder_src=http___img.chinait.com_2020_02_1580715540913721.png&refer=http___img.chinait

अलिबाबा सन् १९९८ मा चीनको चच्याङ प्रान्तको हाङचौमा स्थापना भएको हो। हाङचौ शहरमा मा युन नामका एक जना चिनियाँ युवाले स्थापना गरेको अलिबाबाले सन् २०१४ को सेप्टेम्बर १९ तारिख विहान साढे नौ बजेदेखि न्युयोर्क स्टक एक्सचेन्जमा स्टक बिक्री गर्न थालेको हो। सोही दिन न्युयोर्क स्टक एक्सचेन्जको कारोबार बन्द हुँदा अलिबाबाको कुल मूल्य करीब दुई खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको थियो। अहिले अलिबाबा गुगलपछि विश्वको दोस्रो ठूलो इन्टरनेट कम्पनी बन्न सफल भएको छ। चिनियाँ मा युनलाई पश्चिमी राष्ट्रमा ज्याक मा भनिन्छ। उनी चीनकै धन्याढ्य व्यक्तिमा अग्रस्थानमा आउँछन्।

ज्याक माको अलिबाबाले सुरु गरेको एकल दिवसको छुट चीनमा संस्कृतिको रुपमा विकास भएको छ। बजारमा एक साता अगाडिदेखि विशेष छुटमा सामान बिक्री गरिन्छ। अनलाइनमा त ठूलो छुटमा बिक्री गर्ने चलन छ। नोभेम्बर १० तारिख मध्यराति १२ बजेदेखि ११ तारिखको मध्य राति १२ बजेसम्ममा दिइने छुटमा भएको कारोबार मात्र उल्लिखित परिमाण हो। यो २४ घण्टामा कयौँ चिनियाँहरु सामान किन्नका लागि पर्खेर बसेका हुन्छन्।

सन् २०१४ को नोभेम्बर ११ तारिखमा ५५ सेकेण्डभित्रै दस करोड चिनियाँ युआनको कारोबार अनलाइन मार्फत भएको थियो। सोही दिन बिक्री भएका महिलाका भित्री पोशाकलाई एउटा थुप्रो बनाउँदा त्यसको उचाइ सगरमाथाको भन्दा तीनगुना बढी हुने कुरा चिनियाँ अनलाइन सेवा थाउपाउले जनाएको छ। एकै दिनमा एउटै वेभसाइटबाट यतिको बिक्री हुने र लाखौँ मानिसले एकैचोटी वेभसाइटबाट सामान अर्डर गर्ने हुनाले कतिपय अवस्थामा सर्बर डाउन हुने भएकाले सामान किन्नका लागि बारम्बार प्रयास गर्नुपर्छ। त्यही भएर त चिनियाँहरु रातभर इन्टरनेटमा सामान अर्डर गर्न व्यस्त हुन्छन्।

सन २०२० को नोभेम्बर ११ मा अलिबाबाको प्लेटफर्मबाट भएको बिक्री मात्रा अमेरिकी समाजको ‘ब्ल्याकफ्राइडे’ र ‘साइबरमनडे’ कोभन्दा डबल भएको थियो। अमेरिकामा नोभेम्बर महिनाको चौथो बिहीबारलाई ‘थ्याङ्कगिभिङ डे’ का रुपमा मनाइन्छ। ‘थ्याङ्कगिभिङ डे’ पछि आउने शुक्रबारलाई ‘ब्ल्याक फ्राइडे’ र सोमबारलाई ‘साइबरमनडे’ भनिन्छ। यी दुई दिनमा अमेरिकामा विशेष छुटमा अनलाइन किनमेल हुने गर्दछ। यस अवसरमा गत वर्ष ३४ अर्ब ४० करोड अमेरिकी डलरको अनलाइन किनमेल भएको थियो। 

गत वर्ष सन् २०२० मा कोभिडले गर्दा धेरै उपभोक्तामा अनलाइन किनमेल थप लोकप्रिय बनेको थियो। चीनको राज्य हुलाक ब्युरोले बताए अनुसार गत वर्षको नोभेम्बर ११ मा किनिएका सामानको २ अर्ब ९७ करोडवटा पार्सल उपभोक्तासम्म पुर्‍याउने काम भएको थियो। यो सरदरमा प्रत्येक चिनियाँको भागमा दुईवटा पार्सल बराबर हो।

चीनभरिमा अलिबाबाको मात्र १५० सहरमा २० हजारवटा आफ्नै प्याकेज वितरण केन्द्रहरु रहेका छन्। सन् २०२० मा २ लाख ५० हजार ब्राण्डका सामानहरु अलिबाबाको प्लेटफर्ममा विशेष छुटमा बिक्रीका लागि राखिएका थिए जसमा ३१ हजार विदेशी कम्पनीहरु सहभागी थिए। गत वर्षको नोभेम्बर ११ को किनमेलको पिकसिजनमा प्रतिसेकेण्ड ५ लाख ८३ हजार अर्डर भएको थियो।

यतिबेला नोभेम्बर ११ तारिख इन्टरनेट दुनियाँको सबैभन्दा ठूलो ‘हाटबजार’ भएको छ। विभिन्न कम्पनीहरुले आफ्ना सामानलाई विशेष छुटमा बिक्री गरेर एकैचोटि आफ्नो भण्डारण खाली गराउने मौकाका रुपमा यो मितिलाई लिन्छन्। उपभोक्ताले पनि सस्तोमा सामान पाउने भएकाले आफूलाई चाहिने सामान किन्नका लागि यही मिति कुरेर बसेका हुन्छन्। किन्नेलाई पनि फाइदा अनि बेच्नेलाई पनि फाइदा। फाइदै फाइदाको यो दिवस यतिबेला विश्व बजारको महोत्सवमा स्थापित भएको छ। आफ्नो अभियानले कुनैबेला विश्वमा तहल्का मच्चाउनेछ भनेर पक्कै सोचेका थिएनन् नानचिङ विश्वविद्यालयका ती निराश चार युवाले।

साभारः नेपाल भ्युज अनलाइन।