चिनियाँ कम्युनिस्ट पार्टी के गर्दै छ ?
2021-11-26 16:42:00cri
Share with:

 ----------अजय अलौकिक

गत साता विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको एक महत्त्वपूर्ण बैठक भयो। नयाँ चीन स्थापनादेखि सत्तासीन पार्टीको कुनै पनि बैठकले चीनभित्र मात्रै नभई उसले अख्तियार गर्ने नीति नियमले विश्वलाई नै प्रभाव पार्ने सामर्थ्य राख्छ नै त्यसमाथि शताब्दी वर्षमा भएको यो बैठक अझै अर्थपूर्ण थियो। यस्तो ऐतिहासिक मोडमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको महत्त्वपूर्ण कार्य भनेको चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्ष लामो इतिहासमा हासिल गरेका प्रमुख उपलब्धिहरू र ऐतिहासिक अनुभवको समीक्षा र भविष्यका लागि दिशा निश्चित गर्नु थियो।

एक वाक्यमा उल्लेख गर्नुपर्दा सय वर्षको अथक यात्रामा चिनियाँ कम्युनिस्ट पार्टी किन र कसरी सफल भयो र भविष्यमा पार्टीलाई निरन्तर रूपमा कसरी सफल बनाउन सकिन्छ भन्ने स्पष्ट दृश्य खोज्नु हो। यसबाहेक, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका अनुसार पार्टीका प्रमुख उपलब्धिहरूको समीक्षा र गत शताब्दीको ऐतिहासिक अनुभव निम्न उद्देश्यहरूका लागि आवश्यक थियो। 

पार्टीको सय वर्षको ऐतिहासिक प्रवृत्तिमा आधुनिक समाजवादी देश निर्माणका लागि नयाँ यात्रा आरम्भ गर्न, चिनियाँ विशेषतासहितको समाजवादलाई नयाँ युगमा अगाडि सार्न, राजनीतिक निष्ठा कायम राख्न र सचेतनालाई बलियो बनाउन, ठूलो सोच बनाउन, मूल नेतृत्वलाई अनुसरण गर्न र केन्द्रीय पार्टी नेतृत्वको साथमा रहन।

यसै गरी चिनियाँ विशेषतासहितको समाजवादको मार्ग, सिद्धान्त, प्रणाली र सामाजिक उत्थानप्रति आत्मविश्वास बढाउन, केन्द्रीय समिति तथा पूरा पार्टीमा कमरेड सी चिनफिङलाई मूल र मुख्य स्थानमा स्थापित गर्न र केन्द्रीय समितिको अधिकार र यसको केन्द्रीकृत, एकीकृत नेतृत्वको सुनिश्चितता बनाइराख्न सबै पार्टी सदस्यहरू एकजुट रहन तथा एकताबद्ध व्यवहार गर्न। त्यसै गरी पार्टीको सुधार, जुझारूपनको विकास, जोखिम र चुनौतीको सामना गर्न सक्षम बन्न, जोस र जीवन्त शक्ति कायम राख्नका साथै राष्ट्रिय कायाकल्पको चिनियाँ सपनाको निर्माणमा निरन्तर रूपमा जनतालाई एकजुट गर्न र नेतृत्व गर्न।

यसै बीच, नोभेम्बर ८ देखि ११ तारिखसम्म आयोजित उक्त बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षसम्मको महत्त्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभवसम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टीको निर्णय–प्रस्ताव पारित गरेको छ।

९ करोड ५० लाख बढी सदस्य रहेको उक्त चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा पारित गरिएको निर्णय–प्रस्तावको निष्कर्ष छः चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई समृद्ध बनाउनुदेखि शक्तिशाली बनाउनुसम्मको सुधारको नेतृत्व गरेको छ। चीनले केही दशकमा नै विकसित मुलुकहरूले सयौँ वर्ष लगाएर हासिल गरेको औद्योगिकीकरण बाटो पछ्याइसकेको छ, अर्थतन्त्रको तीव्र विकास र समाजको दीर्घकालीन स्थिरता यी दुवै चमत्कारको सिर्जना गरेको छ, चीनको विशेषतायुक्त आधुनिक पथको सफलताका साथ अन्वेषण गरेको छ, मानव सभ्यताको नयाँ ढाँचाको सिर्जना गरेको छ, र विकासोन्मुख मुलुकले आधुनिकीकरणतर्फ लम्किने बाटोलाई विस्तार गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वार्षिकोत्सवको अवसरमा उक्त छैटौँ बैठकले पार्टीको सयौँ वर्षको प्रयासको महत्त्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभवलाई समीक्षा गरेको १२ तारिख आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपमन्त्री वाङ स्याउ ह्वीले बताए। ‘यो ऐतिहासिक तथा रणनीतिक निर्णय हो जसबाट कम्युनिस्ट पार्टीले प्रारम्भिक कार्यभारलाई विचारमा राख्दै दृढ विश्वासका साथ जिम्मेवारीलाई कायम राख्दै जाने अभिव्यक्त भएको छ’, उनले भने, ‘विश्वास छ यस पूर्ण बैठकले कम्युनिस्ट पार्टीको एकीकृत विचार, सिद्धान्त र कारबाहीलाई प्रवर्द्धन गर्ने छ।’

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षको ऐतिहासिक अनुभव यस्तो छः चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा अडिग रूपमा लाग्नुपर्छ, जनतालाई सदा प्राथमिक स्थानमा राख्नुपर्छ, स्वतन्त्रतामा अडिग हुनुपर्छ, चिनियाँ शैलीको पथमा अडिग भएर लाग्नुपर्छ, मातृभूमिलाई सदा मनमा राख्नुपर्छ, नवप्रवर्तनमा अडिग भएर लाग्नुपर्छ, हिम्मतका साथ लड्नुपर्छ, एकीकृत मोर्चामा अडिग रहनुपर्छ, स्वाधीन क्रान्तिमा अडिग भएर लाग्नुपर्छ।

यसै गरी, पूर्ण बैठकमा पारित भएको महत्त्वपूर्ण निर्णयमा उल्लेख गरिएको छ: सन् २०१२ यता, सी चिनफिङ केन्द्रित पार्टीको केन्द्रीय समितिले शृंखलाबद्ध कार्य नीति तथा कदम चालेर लामो समयदेखि समाधान गर्न खोजेको तर नसकेका समस्याको समाधान गरेको छ साथै पहिले गर्न खोजेको तर नसकेको कार्यलाई समेत पूरा गरेको छ। जसबाट पार्टी लगायत देशको महाकार्यमा ऐतिहासिक सुधार ल्याइएको छ। चीनले समृद्धिको महान् फड्को मारिरहेको छ।

पार्टी महासचिव सीको नेतृत्वमा पार्टीले ‘यसअघि समाधान हुन नसकेका तर एजेन्डामा रहेका कैयौँ अप्ठ्यारा समस्या समाधान गरेको र अपेक्षा गरिएका तर हुन नसकेका कैयौँ कार्य सम्पन्न भएको’ स्पष्ट रूपमा खुलाइएको छ। विशेष गरी चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता, पार्टी सदस्यहरूले नयाँ युगमा सी चिनफिङको चिनियाँ विशेषतायुक्त समाजवादी विचार स्थापित गर्दै पार्टीको पूर्ण नेतृत्व, कडाइका साथ पार्टीको सञ्चालन आधारमा चीनको आर्थिक निर्माण, सुधार तथा खुलापनलाई गहन रूपमा अघि बढाउँदै आएका छन्। साथै राजनैतिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय सभ्यता, रक्षा तथा सशक्त सेनाको निर्माण भइरहेका छन्।

एक चीन नीति तथा एक देश दुई व्यवस्थाको पालना गर्दै देशको एकीकरणको प्रवर्द्धन तथा कूटनैतिक कार्य लगायतका क्षेत्रहरूलाई अघि बढाइरहेको छ जसबाट चिनियाँ कम्युनिस्ट पार्टी लगायत देशको महाकार्यमा पनि ऐतिहासिक उपलब्धि हासिल गरिएको छ। यसबाहेक, चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकबाट पार्टीको लागि भावी कार्यभार तथा विकासको दिशानिर्देश गरिएको छ कि नेतृत्वदायी रूपमा चिनियाँ जनतालाई एकताबद्ध पार्दै जनगणतन्त्र चीन स्थापनाको एक सयौँ वार्षिकोत्सवमा देशको आधुनिकीकरणलाई आधारभूत रूपमा पूरा गर्ने र चीनलाई समृद्ध, प्रजातान्त्रिक, सभ्य, शक्तिशाली, समाजवादी मुलुकका रूपमा निर्माण गर्ने रहेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले इतिहासको सन्दर्भमा उज्ज्वल भविष्यको सिर्जना गर्दै पुनरुत्थानको महान् चिनियाँ सपनालाई साकार तुल्याउँदै जानेछ।

भावी कार्यभार तथा दिशालाई यसरी स्पष्ट पारिएको छ: सुधार तथा खुलापनलाई गहन पार्दै संयुक्त रूपमा समृद्ध र धनी बन्न प्रवर्द्धन गर्दै जानुपर्छ। विज्ञान तथा प्रविधिबाट जनताको प्रजातान्त्रिक प्रक्रियालाई अघि बढाउँदै जानुपर्छ। जनतालाई देशको मालिकको प्रत्याभूति दिँदै कानुनबमोजिम देशको शासन गर्नुपर्छ। समाजवादी मूल्य प्रणालीको पालना गर्दै विकास क्रममा जनजीवनसँग घनिष्ठ सम्बन्ध भएका विषयहरूको विकास गर्नुपर्छ।

मानव तथा प्रकृतिको मेलमिलापयुक्त सह–अस्तित्वको पालना गर्दै विकास तथा सुरक्षाको समन्वय गर्नुपर्छ। देशको रक्षा तथा सेनाको आधुनिकिकरणलाई गतिशील पार्दै धनी जनता, शक्तिशाली देश भन्ने सुन्दर चीनको विकास गर्दै जानुपर्छ। चिनियाँ जनताको नेतृत्व गर्दै दोस्रो शताब्दी लक्ष्य अर्थात् सन् २०४९ मा जनगणतन्त्र चीन स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा देशको आधुनिकीकरण पूरा गर्दै समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक सभ्यतासहितको समाजवादी मुलुकको निर्माण गर्ने कार्य सम्पन्न गर्नुपर्छ।

गत शताब्दीमा पार्टीले जनताका तर्फबाट असाधारण ऐतिहासिक उपलब्धि हासिल गरेको छ। आज, यसले दोस्रो शताब्दीको लक्ष्य हासिल गर्न चिनियाँ जनतालाई नयाँ यात्राको र्यालीमा नेतृत्व गरिरहेको छ। अवश्य, चिनियाँ कम्युनिस्ट पार्टीले इतिहासबाट सिक्दै र कडा परिश्रम गर्दै दोस्रो शताब्दी लक्ष्य र चिनियाँ सपनालाई पूरा गर्ने छ। पार्टी र चिनियाँ जनताले गत शताब्दीको गौरव र जीतलाई नयाँ युगमा अझै उचाइ दिनेछ।

उक्त बैठकमा भनिए जस्तै हामीले किन सुरु गर्यौँ भनेर कहिल्यै बिर्सनु हुँदैन, यो वाक्याँशलाई मनन गर्ने हो भने हामी कहिले असफल हुने छैनौँ। अथक प्रयाससँगै अनुभवको निचोड निकाल्दै र गल्ती देखिएमा सच्याएर अगाडि बढ्दा अवश्य सफलता हात पर्ने छ।

वास्तवमा, नयाँ चीन स्थापनापछि, ७० वर्षमा चीनले विश्वकै एक गरिब देशबाट उच्च आय भएको अर्थ व्यवस्थामा आफूलाई परिणत गरिसकेको छ। विश्व आर्थिक वृद्धिमा चिनियाँ अर्थतन्त्रले गरेको योगदान निरन्तर १५ वर्षदेखि विश्वको पहिलो स्थानमा छ। चिनियाँ कम्युनिस्ट पार्टीको अगुवाइमा चीनले मानव कल्याणका धेरै आयामहरूमा विशाल फड्को मारेको छ, आममानिसको जीवनस्तर, आयु वृद्धि, शिक्षा, स्वास्थ्य र आयमा व्यापक सुधार भएको छ।

यसै गरी, गरिबी निवारण तथा औसत रूपमा सम्पन्न समाजको पहिलो शताब्दी लक्ष्य पूरा गरी दोस्रो शताब्दी लक्ष्यलाई पछ्याइरहेको अवस्थामा अनुभवको निचोड निकाल्नु, समीक्षा गर्नु र मार्गदर्शन आवश्यकता पनि हो। साथै, झण्डै १० करोड सदस्य रहेको पार्टी र ५६ जातजाति समूहसहित १.४ अर्ब जनताको नेतृत्व गरेको पार्टीको केन्द्रीय नेतृत्वमा एक प्रमुख व्यक्ति या एक कोर फिगर स्थापना गर्नु पार्टी र देशका लागि पनि सान्दर्भिक देखिन्छ। यसले दूरगामी महत्त्व बोक्नेछ, साथै पार्टीको संरचना र सुधारमा नयाँ जोस र उमङ्ग पनि थपेको छ।

(इकागजमा मंसिर ५, २०७८ मा प्रकाशित)