नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?
2021-11-30 20:37:55cri
Share with:

नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?_fororder_src=http___epaper.gmw.cn_gmrb_images_2016-10_14_07_res20_attpic_brief&refer=http___epaper.gmw

    नेपालका कम्युनिष्टहरु किसान र मजदुरको दुहाई दिँदै राजनीति गरिरहेका छन्। कम्युनिष्ट मात्र किन, नेपाली कांग्रेस पनि समाजवादी नारा लगाउँदै किसान र मजदुरकै नाममा राजनीति गर्दछ।

    नेपालमा दस पन्ध्र वर्ष अगाडिसम्म विश्वकै सबैभन्दा धेरै माओवादी राजनीतिक दलहरु सक्रिय थिए। नेपालका कम्युनिष्टहरु कुनै बेला माओको रातो किताब साथमा बोकेर हिँड्थे। माओले प्रतिपादन गरेका अनुशासनका आठ नियम कण्ठ बनाउँथे।

    यतिबेला नेपालका कम्युनिष्टहरु माओ विचारभन्दा सी चिनफिङ विचार सुन्न र अध्ययन गर्न लालायित छन्। 'सी चिनफिङ चीनको शासन व्यवस्था' किताबको पहिलो र दोस्रो भाग नेपाली भाषामा अनुवाद भइसकेको छ। चिनियाँ कम्युनिष्ट पार्टीसँग केही शृङ्खलामा नेपालका कम्युनिष्टहरुले तालिम पनि लिएका छन्।

    नेपाली कम्युनिष्टको सिक्ने र जान्ने इच्छा देखाएर चीनले तत्कालीन सत्तारुढ नेकपाका सबै नेतालाई चीनमै बोलाएर ग्रामीण क्षेत्रको प्रत्यक्ष अवलोकन गराउँदै तालिम दिने कार्ययोजना बनाएको थियो। त्यस्तो योजना कोरोनाका कारण स्थगित भयो। नेकपा पनि विभाजित भएर पूर्ववतः अवस्थामा पुग्यो।

नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?_fororder_src=http___sn.people.com.cn_NMediaFile_2015_0722_LOCAL201507221027000148016511926&refer=http___sn.people.com

    नेपालका कम्युनिष्ट नेताहरुको चीनबाट सिक्ने चाहना बोलीमा मात्र हो कि व्यवहारमा पनि हो भन्ने कुरा मुख्य प्रश्न हो। व्यवहारमा सिक्न चाहने हो भने व्यक्तिमा कम्युनिष्ट आचरण हुनुपर्छ। जीवनशैलीदेखि राजनीतिक लाभमा बस्ताका उसका क्रियाकलापलाई कम्युनिष्ट अनुशासनको मियोमा बाँध्न जरुरी छ।

    चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यले केकस्तो अनुशासन अपनाउनुपर्छ र अनुशासन उल्लङ्घन गरेमा केकस्तो कारवाही हुन्छ भन्ने कुरालाई अर्को लेखमा प्रस्तुत गर्नेछु। आजको लेखमा चाहिँ नेपाली कम्युनिष्टहरुले भन्ने गरेको सी चिनफिङ विचारको पृष्ठभूमिको चर्चा गर्दैछु।

    यतिबेला सी चिनफिङ विश्वकै चर्चित नेतामा रहनु भएको छ। विशाल जनसंख्या भएको विश्वकै सबैभन्दा ठूलो विकासोन्मुख मुलुक चीनलाई विश्वको पहिलो अर्थतन्त्र बनाउन सक्रिय रहेका सी चिनफिङको पृष्ठभूमि कस्तो थियो?धेरै नेपालीले चासो राखेको तर धेरै कुरा थाहा नभएको विषय हो यो।

    सी चिनफिङ विचारको सबैभन्दा सशक्त पक्ष भनेकै जनताको सेवा गर्नु हो। यो कुरालाई सीपीसीको दस्तावेदमा पनि उल्लेख गरिएको छ। जनताको सेवा गर्नका लागि जनताकै बीचमा पुग्नुपर्छ। पार्टीका हरेक सदस्यले जनताका बीचमा गएर काम गर्नुपर्छ भन्ने कुरालाई सीपीसीले निकै कडाइका साथ लागू गर्दै आएको छ। यो कुरालाई सी चिनफिङले नेपाल भ्रमणका क्रममा आफ्नो मन्तव्यमा पनि उठाउनु भएको थियो।

    सी चिनफिङको किशोर अवस्था र सीपीसीको पार्टी सदस्यता पाएको इतिहाससँगै जनताका बीचमा पुग्नुपर्ने उहाँको मूल मर्म कसरी सुरु भएको थियो भन्ने कुराको छोटकरी चर्चा गरौँ।

नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?_fororder_src=http___p2crires.cri.cn/yafei/p2_M00_A8_4D_CqgNOls3DfKAV9ZvAAAAAAAAAAA670.550x779&refer=http___p2.cri

    सी चिनफिङको जन्म सन् १९५३ मा राजनीतिक परिवारमा भएको थियो। उहाँका पिता सी चोङसुन क्रान्तिकारी कम्युनिष्ट नेता हुनुहुन्थ्यो। उहाँ चीनका उपप्रधानमन्त्रीसम्म हुनु भएको थियो। सन् १९६२ मा चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको आन्तरिक कारवाहीमा परेपछि सी चोङसुन जेलमा पर्नुभयो। उहाँलाई सांस्कृतिक क्रान्तिको समय सन् १९६६ देखि सावर्जनिक रुपमै अपमान गर्दै बेइज्जत गरियो।

    सांस्कृतिक क्रान्ति सुरु भएको दुई वर्षपछि सन् १९६८ डिसेम्बर २२ तारिख अध्यक्ष माओ चतोङले 'ग्रामीण भेगका गरिब किसानबाट युवालाई पुनशिक्षा आवश्यक' भन्ने फर्मान जारी गर्नुभयो। सहरी क्षेत्रको शिक्षा सैद्धान्तिक मात्र हुने र त्यस्तो शिक्षाले जनताको पिरमर्का बुझ्न नस्कने हुनाले विश्वविद्यालय प्रवेश गर्ने उमेरका किशोरहरुले ग्रामीण क्षेत्रमा पुगेर निश्चित समय जनतासँग घुलमिल हुँदै काम गर्नुपर्ने निर्देशन माओले जारी गर्नु भएको थियो।

    माओको उद्घोष सीपीसीको आदेश हुन्थ्यो र सीपीसीका सदस्य मात्र नभई हरेक चिनियाँले त्यसलाई अनुसरण गर्नु अनिवार्य थियो। माओको आदेश अनुसार एक करोड ७० लाख किशोर विद्यार्थीहरु (त्यतिबेला सहरी जनसंख्याको दस प्रतिशत) लाई सहर छोडेर ग्रामीण क्षेत्रमा गएर जनतासँग काम गर्न खटाइयो।

    १५ वर्षे सी चिनफिङलाई बेइजिङबाट दुरदराजमा रहेको ग्रामीण क्षेत्रमा पठाउनु अगाडि पिता सी चोङसुनको सबै सम्पति जफत गरिएको थियो। अपमानले भरिएको आफ्नो बाल्यकालमा भोग्नु परेको अपमान र  भेदभाव सम्झदै सी चिनफिङले लेख्नु भएको छ 'मेरो पहिचान नै कथित प्रतिक्रियावादीको अनुशासनहिन छोराको रुपमा थियो। म मुस्किलले १५ वर्षको थिएँ तर उनीहरु मलाई एक सय मृत्युको लायक छस् भन्थे।'

     त्यतिबेला गाउँमा जाने एक करोड ७० लाख किशोरमध्ये सी चिनफिङ एकजना थिए। सो समयमा सी १५ वर्ष पुगेर १६ मा लगेका थिए। बेइजिङदेखि पश्चिममा पर्ने पल्लो शान्षी प्रान्तको यानआन नजिकै लिआनच्याहमा सी चिनफिङलाई पुर्‍याइएको थियो।

नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?_fororder_src=http___fortune.chinanews.com_cr_2015_0814_1363164695&refer=http___fortune.chinanews

    यानआन त्यही क्षेत्र हो जहाँ चिनियाँ क्रान्तिको समयमा सबैभन्दा लामो समय सीपीसीको हेड क्वाटर रहेको थियो। माओको नेतृत्वमा लङमार्च यानआनमा पुगेर टुङ्गिएको थियो र सन् १९३४ देखि १९४९ सम्म सीपीसीको हेडक्वाटर रहेको थियो। अहिले यो क्षेत्र लालपर्यटनका रुपमा प्रख्यात छ। नेपालका वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन लगायत अधिकांश नेपाली कम्युनिष्ट नेताहरुले यानआनको अवलोकन गरिसकेका छन्।

    सी चिनफिङलाई यानआनमा पठाउनु एक हिसाबले निर्वासनमा पठाउनु जस्तै थियो। पहिले सीलाई जेलमा हाल्ने निर्णय भएको थियो तर जेल कोचाकोच भएकाले उहाँलाई श्रमसिविरमा पठाउने निर्णय गरियो। त्यसबारे स्मरण गर्दै सीले एक अन्तर्वार्तामा भन्नुभएको छ 'उनीहरुले म यानआनमा जाँदै गरेको देखे। त्यहाँ जानु भनेको लगभग निर्वासनमा जानु जस्तै थियो। त्यसकारण उनीहरुले जेलमा हाल्नुको साटो मलाई त्यहाँ जाने अनुमति दिए।'

    सीले यानआन जाने इच्छा आफैँ प्रकट गर्नु भएको थियो किनभने चिनियाँ क्रान्तिको समयमा उहाँका पिताले यानआनमै बसेर लामो समय पार्टीको काम गर्नु भएको थियो। उहाँले पिताबाट चिनियाँ क्रान्तिका थुप्रै साहसी घटनाहरु पनि सुन्नु भएको थियो।

    सन् १९६९ जनवरी १३ मा बेइजिङ रेलवे स्टेसन मानिसहरुको भीडले भरिएको थियो। १६ वर्षमा लाग्दै गर्दा सी चिनफिङ कथित यानआनका लागि 'शिक्षित युवा एक्प्रेस'मा चढ्नु भएको थियो। जब रेल गुड्न थाल्यो रेलको भित्र रहेका र बाहिर रहेका सबै रुन थाले।

    सो घटनाको स्मरण गर्दै सीले भन्नुभएको छ 'त्यहाँ म मात्र मुस्कुराइरहेको थिएँ। रेलबाहिर रहेका थुप्रै मेरा आफन्तहरु किन मुस्कुराएको भन्दै मलाई प्रश्न गरिरहेका थिए। मैले भनेँ यदि म यहीँ रहेको भए रुने थिएँ। मलाई थाहा छैन म बाँच्थे कि बाँच्दिनथेँ। त्यसकारण अहिले यहाँबाट छोड्नु राम्रो हैन त?'

     सन् १९६९ देखि १९७६ सम्म चार समूहमा २ लाख ८० हजार युवाहरुलाई बेइजिङबाट यानआनमा लगिएको थियो। सीको परिवारलाई त्यतिबेला छिन्नभिन्न बनाइएको थियो। बुबालाई जेलमा राखिएको थियो भने आमालाई घटुवा गरिएको थियो। अनि बहिनीलाई भित्री मंगोलिया पठाइएको थियो। यानआन पुगेको केही महिनापछि सीले परिवारलाई भेट्नका लागि बेइजिङ जाने अनुमति माग्नुभयो। त्यही निहुँमा उहाँलाई पक्राउ गरियो र सहर फर्कन खोजेको अभियोगमा थुनियो।

नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?_fororder_src=http___www.people.com.cn_mediafile_pic_20150214_3_1559971903063507855&refer=http___www.people.com

    थुनामा राख्दा उनलाई भयङ्खर शारीरिक र मानसिक यातना दिइयो। थुनामुक्त भएपछि उहाँ नियमित रुपमा श्रममा लाग्नुभयो। राति टुकी बालेर पढ्ने बानी थियो। त्यतिबेलै उहाँले चुरोट खान पनि सिक्नुभयो। सधैँ पढिरहने सी चिनफिङका लागि कागजी किताब बाहेक सबैभन्दा ठूला किताब स्थानीय किसान थिए। किसानका हरेक गतिबिधिले उहाँलाई गरिबी के हो र मानिसले केकस्ता समस्यासँग संघर्ष गर्नुपर्छ भन्नु कुराको गहिरो छाप परेको थियो। एउटा अन्तर्वार्ताका क्रममा सी चिनफिङले भन्नुभएको छ 'किसानहरूबाट मैले सिकेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको जमिनमा आफूलाई उभ्याउने कला र कठिनाइलाई सहन गर्ने क्षमता हो।'

    अहिले पनि सी चिनफिङ किसानलाई उच्च प्राथमिकता दिनुहुन्छ। किसानका घर दैलोमा पुग्नुहुन्छ। कृषि क्षेत्रमै पुगेर प्रत्यक्ष अवलोकन गर्नुहुन्छ। चिनियाँ कृषि प्रणाली र किसानका दुःखलाई किशोरावास्थामै बुझेकाले त्यसलाई सुधार गर्न सी चिनफिङले धेरै ठूलो प्रयत्न गर्नुभएको छ। फलतः आज चीन अन्न उत्पादनमा आत्म निर्भर बनेको छ। एक अर्ब ४० करोड चिनियाँ जनता अब कहिल्यै भोकै पर्ने छैनन्। सी महासचिव भएपछि ८ करोडभन्दा बढी चिनियाँलाई गरिबीबाट मुक्त गराउनु भएको छ। अब चीनमा कोही पनि गरिब छैनन्।

    श्रम सिविरमा गएको पाँच वर्षपछि सन् १९७३ को वसन्तको प्रारम्भमा सी चिनफिङले ल्यानचाह नजिकैको चाओच्याह निर्माण बिग्रेडमा अस्थायी शिक्षकको रूपमा काम गर्ने मौका पाउनुभयो। उहाँले त्यस अगाडि नै पार्टी सदस्यका लागि आवेदन दिनु भएको थियो। जतिपटक आवेदन दिएपछि सधैँ अस्वीकृत भयो। नौपटकसम्म आवेदन दिँदा पनि उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्न पाउनु भएन।

    सन् १९७४ मा दशौँ पटकको आवेदनमा बल्ल सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो। पार्टी सदस्य प्राप्त गरेपछि उहाँले विश्व विद्यालयमा पढ्ने अनुमति माग्नुभयो। उहाँको अनुमति स्वीकृत भएन। उनले किसानसँग पाँच वर्ष बिताइसक्नु भएको थियो। दोस्रोपटकको आवेदनमा उहाँले सन् १९७५ मा बेइजिङको छिङ्ह्वा विश्वविद्यालयमा पढ्ने अनुमति पाउनुभयो र केमिकल इन्जिनियरिङमा भर्ना हुनुभयो। सन् १९७९ मा केमिकल इन्जिनियरिङको अध्ययन पूरा गर्नुभयो।

    उहाँ इन्जिनियर भएर विश्वविद्यालयबाट निस्कदा सांस्कृतिक क्रान्ति पतन भएको तीन वर्ष भएको थियो भने तङ स्याओफिङको नेतृत्वमा चीनले सुधार र खुलापन अँगालिसकेको थियो। उहाँका पिता पनि जेलमुक्त भइसक्नु भएको थियो।

नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?_fororder_src=http___www.people.com.cn_mediafile_pic_20160205_16_1547895029078566536&refer=http___www.people.com

    इन्जिनियर भएपछि उहाँ पार्टीले खटाएका विभिन्न क्षेत्रमा काम गर्दै अगाडि बढ्नुभयो। उहाँ सीपीसीको महासचिव भएपछि स्वाभाविक रुपमा चीनको राष्ट्राध्यक्ष हुनुभयो। त्यसपछि उहाँ यानआन क्षेत्रका ती किसानहरुको घरमा पुग्नुभयो जहाँ उहाँले पाँचवर्ष दुःख बाँढ्नु भएको थियो। सन् २०१५ को फेब्रुअरी १३ मा उहाँ ल्याङच्याह पुग्नुभयो। उहाँले ४० वर्षदेखि भेट नै नभएका मानिसहरूलाई तुरून्तै चिन्नुभयो। उनीहरूको नाम र बोलाउने नामबाटै सम्बोधन पनि गरेपछि स्थानीय किसानहरु छक्क परेका थिए।

    नेपालका कम्युनिष्टहरु भोट माग्न मात्र जनताको घरदैलोमा पुग्छन्। जनताका दुःख अनुभूति गर्ने व्यक्ति मात्र नेता हुन्छ। यति कुरा थाहा पाएपछि नेपाली कम्युनिष्टहरुले सी चिनफिङ विचार अवलम्बन गर्न आँट गर्लान्?

साभारः नेपाल भ्युज अनलाइन।