कस्तो छ चिनियाँ कम्युनिष्ट पार्टीमा अनुशासन?
2021-12-03 15:34:57cri
Share with:

कस्तो छ चिनियाँ कम्युनिष्ट पार्टीमा अनुशासन?_fororder_src=http___img1.fjtv.net_material_news_img_960x445_2016_05_20160502233746UlW4&refer=http___img1.fjtv

एक सय वर्षको यात्रा तय गरेको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी विश्वको सबैभन्दा ठूलो मार्क्सवादी राजनीतिक दल हो। सन् २०१९ डिसेम्बर ३१ सम्ममा, सीपीसीमा ९ करोड १९ लाख १४ हजार सदस्य रहेका छन्। सीपीसीका ४६ लाख ८१ हजार निकाय र संगठनहरू छन् जसको बलमा विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको चीनमा ७२ वर्षदेखि निरन्तर सत्ता चलाइरहेको छ। स्थापना कालमा सीपीसीका ५० भन्दा केही बढी मात्र सदस्यहरू थिए।

   सीपीसीले अँगालेको कडा अनुशासनकै कारण चीनमा यो लोकप्रिय र सफल भएको छ। सन् १९२१ मा सीपीसीको स्थापना भएको हो। स्थापना भएको एक वर्षपछि सन् १९२२ को पहिलो पार्टी गठनको बिधानमा अनुशासनसम्बन्धी कडा नियमहरु उल्लेख थिए। उक्त विधानमा भनिएको थियो‘पार्टीको तल्लो तहका पदाधिकारीहरूले माथिल्ला तहका पदाधिकारीहरूको आदेश कार्यान्वयन गर्नुपर्छ; यदि तिनीहरूले गरेनन् भने माथिल्लो तहका पदाधिकारीहरूले संगठन नै रद्द गर्न वा परिवर्तन गर्न सक्छन्।'

सीपीसीको अनुशासन अनुगमन केन्द्रीय अनुशासन आयोगले गर्दछ। सन् १९२७ मा सम्पन्न सीपीसीको पाँचौ राष्ट्रिय प्रतिनिधि सभाले पहिलोपटक अनुशासन निरीक्षण समिति चयन गरेको थियो। जसलाई केन्द्रीय सुपरिवेक्षण समिति भनिन्थ्यो। तत्कालीन केन्द्रीय सुपरिवेक्षण समिति वर्तमानको केन्द्रीय अनुशासन निरीक्षण समितिको पूर्ववर्ती रुप हो। त्यो समयमा सुपरिवेक्षण समितिमा सात औपचारिक सदस्यहरू र तीन वैकल्पिक सदस्यहरू रहेका थिए जसमा अध्यक्ष वाङ हपो र उपाध्यक्ष याङ पाओआन थिए। अनुशासन निरीक्षण समितिमा रहेका सबै १० नेताहरू पार्टीप्रति वफादार थिए। ती मध्ये ६ जना पक्राऊ भएपछि मारिए तर गोपनीयता खोलेनन्।

   सो समयमा सीपीसी र चियाङ काइसेकको कोमिङताङ पार्टीबीच सहकार्य थियो। समितिका उपाध्यक्ष याङ पाओआन नै कोमिङताङ पार्टीको केन्द्रीय कमिटीका नौ स्थायी समिति सदस्य मध्ये एक थिए। यो कुरा याङ पाओआन पक्राउ परेपछि मात्र चियाङ काइसेकले थाहा पाए।

   चियाङ काइसेकले पक्राउ परेका याङलाई फोन गरेर कुरा गर्न खोजे तर याङले कुरा गर्न अस्वीकार गरे। त्यसपछि कोमिङताङ पार्टीका दिग्गज नेता वु चह्वुई याङ्ग फङलाई मनाएर आत्मसमर्पण गराउन जेलमा भेट्न गए। वुको यो प्रयास पनि असफल भयो।

   सन् १९२८ मा सीपीसी र कोमिङताङ पार्टीबीचको सहकार्य टुटेपछि सीपीसीले सर्वाधिक कठिन क्षणको सामना गर्नुपर्‍यो। सीपीसीले महाधिवेशन पनि चीन बाहिर गर्नु परेको थियो। सन् १९२८ जुन १८ देखि जुलाई ११ सम्म सीपीसीको छैटौँ महाधिवेशन मस्को नजिकै भएको थियो। सीपीसीको इतिहासमा विदेशमा आयोजित एक मात्र महाधिवेशन थियो यो।

   सीपीसीको अनुशासन कारवाहीमा कहिलेकाहीँ सिङ्गो कमिटी पनि पर्न सक्छ। यदि पहिलो तहका संगठनहरूमा पार्टीका बहुसंख्यक सदस्यहरूले अनुशासनलाई गम्भीर रूपमा उल्लंघन गरेमा र तिनीहरुले त्रुटीलाई पहिचान गर्न नसकेमा अथवा सच्याउन अस्वीकार गरेमा माथिल्लो तहको पार्टी संगठनले तल्लोतहको पार्टी संगठनलाई खारेज गर्न सक्छ। एकपटक माथिल्लो पार्टी संगठनले तल्लो पार्टी संगठनलाई खारेज गरेमा त्यस स्तरको संगठनका सबै पार्टी सदस्यहरू संगठनात्मक अनुसन्धानको दायाराभित्र पर्छन्। केवल योग्य पार्टी सदस्यहरूले मात्र पुन: दर्ता गर्न र फेरि संगठनात्मक सदस्यता प्राप्त गरी संगठनात्मक जीवन पुन: सुरुवात गर्न सक्छन्। अन्यथा, आधिकारिक पदबाट राजीनामा दिन निर्देशन दिइन्छ। अन्यथा पदबाट बर्खास्त गरि पार्टीबाट निष्कासन सम्मको कारवाही हुनसक्छ।

   संगठनात्मक रुपमा मात्र होइन पार्टी सदस्यको बोली व्यवहार र आचरण पनि अनुशासनको दायरामा पर्ने अर्को मापदण्ड हो।‘पार्टी सदस्यहरूले लिने विचार र बोलेका शब्द तथा कार्यले पार्टीको घोषणापत्र, बिधान र सम्मेलनको कार्यकारी समितिको प्रस्तावनाको उल्लंघन गरेमा, त्यस्ता व्यक्तिहरुलाई पार्टीबाट निष्कासन गरिनेछ' भनेर सीपीसीको निर्देशिकामा उल्लेख छ।

   त्यसैगरी पार्टी सदस्यले नियमित बैठकमा भाग लिने र लेबी तिर्ने कुरा पनि कडा अनुशासनभित्र पर्दछ। सीपीसीको प्रारम्भिक कालको नियम अनुसार यदि कुनै कारण बिना पार्टी सदस्य नियमित दुईपटक बैठकमा अनुपस्थित भएमा र तीन महिनासम्म पार्टीमा बुझाउनु पर्ने लेबी नबुझाएमा पनि पार्टीबाट निष्कासन गरिने कुरा उल्लेख थियो।

कस्तो छ चिनियाँ कम्युनिष्ट पार्टीमा अनुशासन?_fororder_src=http___www.zs.gov.cn_img_0_93_93566_1919452&refer=http___www.zs.gov

   अहिले यो नियमलाई परिमार्जन गरी ३ महिनाबाट ६ महिना बनाइएको छ। सीपीसीको विधानमा भनिएको छ‘बिना कारण चार महिनासम्म पार्टीका लागि कुनै सेवाकार्य नगरेका व्यक्तिलाई पार्टीबाट निष्कासन गरिनेछ।'

   सीपीसी स्थापनाको सात वर्ष नपुग्दै सन् १९२७ मा चिनियाँ मुक्ति क्रान्ति सुरु भएको थियो। त्यो समयमा पार्टीको सबैभन्दा कडा अनुशासनमा गोपनीयता पर्थ्यो। गोपनियता भङ्ग गर्ने पार्टी सदस्यलाई स्वतः निष्कासन गरिन्थ्यो। त्यतिबेला‘अयोग्य पार्टी सदस्यहरू स्वत: हट्नेछन् र केवल योग्य पार्टी संगठनहरू मात्र बाँकी रहनेछन्' भनाइ प्रचलित थियो। यो परम्परा सीपीसीमा अहिले पनि कायम छ।

   सीपीसीमा पार्टी सदस्यलाई कारवाही गर्ने पाँचवटा चरणहरु रहेका छन्। सचेत गराउने, नसियत दिने, पार्टीपदबाट निलम्बन गर्ने, पार्टीभित्रै निगरानीमा राख्ने र पार्टीबाट निष्कासन गर्ने।

   अनुशासनको पहिलो कारवाही सचेत गराउनु हो। सचेत गराइएको व्यक्ति एक बर्षसम्म पार्टी भित्र कुनै पदमा बढुवा हुन पाउने छैन। उसको पदभन्दा माथि रहने पार्टी बाहिर पनि कुनै पदमा सिफारिस पनि हुन सक्दैन।

   अनुशासनको दोस्रो चरण हो नसियत। यसको समय डेढबर्षको हुन्छ र नसियत दिइएको व्यक्ति डेढबर्षसम्म पार्टी भित्रको कुनै पदमा बढुवा हुन पाउँदैन। उसको पदभन्दा माथि रहेको पार्टी बाहिरको पनि कुनै पदमा सिफारिस हुन सक्दैन।

    पार्टी पदबाट निलम्बन हुनु भनेको वहाली रहेको पदभन्दा माथिका सबै पदमा निलम्बित हुनु हो। एउटा व्यक्तिलाई निलम्बन गर्ने बित्तिकै अर्को व्यक्तिलाई सो स्थानमा पदस्थापन गरिन्छ। निलम्बन गरिएपछि उसलाई पार्टी सदस्य र बहाल रहेको पदबाट मात्र होइन उसले लिएको सरकारी पदबाट पनि निलम्बन गरिन्छ। उदाहरणका लागि कुनै नगरपालिकाको मेयर अथवा गभर्नर छ भने स्वतः ती पदबाट पनि निलम्बनमा पर्ने गर्छ।

   एक पटक पदबाट हटाइएपछि उसले पार्टीभित्र दुई वर्ष सम्म आफ्नो उक्त पद बराबर वा त्योभन्दा ठूलो पद पाउन सक्दैन। अनि पार्टी बाहिर पनि कारवाही अगाडिको पद बराबर वा त्योभन्दा माथिको पदमा सिफारिस हुन सक्दैन। त्यो भनेको पार्टी भित्र वा बाहिरको कुनै पनि पदमा उसलाई दुई वर्षका लागि फर्किने अनुमति बन्द हुनु हो।

   अनुशासनको चौथो चरण‘पार्टी भित्रै निगरानीमा राख्ने' समय एक वर्ष अथवा दुई वर्षको हुनसक्छ। पार्टी निगरानीमा रहेको अवधिमा पार्टी सदस्यको अधिकार निलम्बन गरिएको हुन्छ।

   सीपीसीको अनुशासनको सबैभन्दा कडा कारवाही पार्टीबाट निष्कासन हुनु हो। एकपटक पार्टीबाट निष्कासन भएपछि, सैद्धान्तिक रूपमा उनीहरूलाई ५ बर्षभित्र पार्टीमा पुन: प्रवेश गर्न दिइँदैन।

   सन् २०१५ मा पार्टीले अनुशासन कारवाही गरेको एउटा उदाहरण यस्तो थियो। हेङ्गयाङ नगर कमिटीको पार्टी अधिवेशनले निर्वाचन सम्पन्न गरेपछि एउटा भ्रष्टाचारको मुद्दा अगाडि आएको थियो। नगर कमिटीका सचिव ठओङ्ग मिङ्गछेणले एउटा प्रतिवेदन पेश गर्दै भ्रष्टाचारबारे कुनै अनुसन्धान नगरी तथ्यहरु समेत लुकाएका थिए। त्यो कुरा थाहा भएपछि उनीमाथि पार्टीले कडा अनुशासनात्मक कारवाही गर्‍यो। उनलाई पार्टीबाट निष्कासित गरियो।

   पार्टी अनुशासनका बारेमा २०१७ मा सम्पन्न सीपीसीको १९ औं महाधिवेशनको प्रतिवेदनमा ‘चार क्षमता' र‘आठ दक्षता' उल्लेख गरिएको छ। राजनीतिक नेतृत्व, वैचारिक मार्गदर्शन, सामूहिक संगठन र सामाजिक अपिल चार क्षमताभित्र पर्छन्। यसैगरी सीप विकास, राजनीतिक नेतृत्व, सुधार र नवीनताको प्रवर्द्धन, वैज्ञानिक विकास, जनतासँगको सम्बन्ध, जनताबाट स्वीकार शासन, कानुन बमोजिम शासन, निर्णय कार्यान्वयन र जोखिम नियन्त्रण आठ दक्षता हुन्।

   यी सबै विषयको केन्द्रबिन्दु राजनीतिक क्षमता र राजनीतिक नेतृत्वको दक्षता हुन्।

   सीपीसीका सदस्यले कस्तो आचरण अपनाउनु पर्छ भन्ने बारेमा एउटा घटना यस्तो छ। कुनै एक क्याडर धन्याढ्य पारिवारिक पृष्ठभूमिका थिए। उनका आमाबुबा कम्पनी चलाउँथे र धेरै पैसा कमाउँथे। उनले पार्टीमा काम गर्दै सरकारी एकाइमा पार्टीको नेतृत्वदायी क्याडर बने।

   आफ्नो परिवार घनी भएकाले आफ्नो पैसा जथाभावी खर्च गर्दा कुनै समस्या भएको थिएन। तर उनले धेरै पैसा खर्च गर्दै सँधै महङ्गो क्लबहरू जाने, महङ्गा गाडी चलाउने, विशासी जीवनशैली अपनाउने गर्नाले सर्वसाधारणमाझ शंका र घृणा उठ्न थाल्यो। त्यत्रो पैसा घुस खाएर कमाएको होला भनेर सर्वसाधारणले रिपोर्ट गर्न थाले। पार्टीले जाँच गरेपछि पत्ता लाग्यो त्यो पैसा उनको परिवारको सम्पति हो। त्यसैले यो उनको व्यक्तिगत मामला भने पनि उनले अनुशासन उलङ्घन गरेको ठहरियो। किनभने उनको कार्यले सर्वसाधारणलाई नकारात्मक असर पारेकाले कार्यशैली परिवर्तन गर्न पार्टीले निर्देशन दियो।

   यस्तो अवस्थामा उनले कार्यशैली र जीवनशैली नसच्याएमा पार्टीले अनुशासनको कारवाही गरेर उनलाई हटाउन सक्छ।

   यो उदाहरणबाट के बुझिन्छ भने सीपीसीको अनुशासन निर्माणमा ६ वटा मुख्य विषय समेटिएका हुन्छन्। राजनीतिक, संगठनात्मक, सर्वसाधारण सम्बन्धी, सून्यभ्रष्टाचार, कार्यशैली र जीवनशैली।

   सन् २०१६ मा बेइजिङ नगरपालिकामा एकजना क्याडरलाई बढुवा गर्दाखेरी उनले व्यक्तिगत सम्पतिको फारम भर्दा आफ्नो घर देखाए तर आफ्नो ग्यारेज देखाएनन्। बेइजिङमा एउटा ग्यारेजको मूल्य लाखौँ पर्छ। फारममा ग्यारेज छैन भनेर लेखेका थिए। पछि पार्टीले जाँच गर्दा उनको नाममा ग्यारेज भएको प्रमाणित भयो।

   छानबिनमा ग्यारेज भ्रष्टाचार गरेर किनेको चाहिँ नभएको स्पष्ट भयो। तैपनि उनले पार्टीलाई छल गरेकाले उनको बढुवालाई ६ महिना पछाडि सारियो।

   सन् २०१२ मा सम्पन्न सीपीसीको १८ औँ महाधिवेशनबाट महासचिवमा सी चिनफिङ निर्वाचित भएपछि भ्रष्टाचारमा सून्य सहनसिलता अपनाउँदै आएका छन्। उनले सीपीसीका कुनै पनि सदस्यले उपहार ग्रहण गर्न प्रतिबन्ध लगाए।

   झट्ट सुन्दा सानो र सामान्य कुरा जस्तो लाग्छ। तर चीनमा उपहारका नाममा घुस खुवाउने चलन थियो। नेताका जन्म दिनमा उपहारका नाममा लाखौँ करोडौँका महङ्गा सामग्री दिने र आफ्नो काम गराउने विकृति बढेपछि यसमाथि प्रतिबन्ध लगाइएको हो।

अहिले सीपीसीका कुनै सदस्यले उपहार ग्रहण गरेमा अनुशासन उल्लङघन गरेको ठहरिन्छ। तुरुन्तै कारवाही भएता पनि अनुशासनको सबैभन्दा तल्लो रेखा नाघेको मानिन्छ। त्यसपछि कालो सूचि बढ्दै गएपछि कडा कारवाही हुन्छ। अनुशासनमा कडा कारवाही हुने भएपछि पार्टी सदस्य र क्याडरले कुनै उपहार लिने आँटै गर्दैनन्।

 

साभारः नेपाल भ्युज अनलाइन।