पैचिङ हिउँदे ओलम्पिक खेलकुद रोचक रहने मोन्टेनेग्रोको ओलम्पिक समितिका अध्यक्षको भनाई
2022-02-07 15:24:07cri
Share with:

१३ वर्षअघि आयोजित पैचिङ ओलम्पिक खेलकुदमा स्वतन्त्र मुलुकको रुपमा मोन्टेनेग्रोले पहिलो पटक ओलम्पिक खेलकुदमा भाग लिएको थियो। त्यस बेलामा अनुभवको अभावको कारण मोन्टेनेग्रोको प्रतिनिधि मण्डलले आफ्नो स्मृति राँको लिन गएको थिएन। दश वर्षपछि सन् २०१८ मा चीनले मोन्टेनेग्रोलाई विशेष रूपमा त्यो स्मृति राँको पुर्‍याएको थियो, जसबाट मोन्टेनेग्रोका जनता धेरै प्रभावित भएका थिए। मोन्टेनेग्रोको ओलम्पिक समितिका अध्यक्ष दुसान सिमोनोभिकले चीनलाई फेरि पनि कृतज्ञता ज्ञापन गर्दै भन्नुभयो,

“त्यस बेलामा हामीले हतार गर्यौँ र हामीसँग अनुभव पनि थिएन। भाग्यको कुरा भनेको चीनले हामीलाई सहयोग पुर्‍याएको छ। चिनियाँ साथीहरुको सहयोग नभएको भए हामीलाई विश्वमा आफ्नो छवि देखाउन गाह्रो हुने थियो। स्वतन्त्र मुलुकको रुपमा पहिलो पटक ओलम्पिक खेलकुदमा भाग लिएपछि स्मृति राँको हाम्रा लागि धेरै मूल्यवान छ। त्यो हाम्रो देशको खेलकुदको इतिहासमा लेखिने छ, किनभने यसले अब हामी ओलम्पिक परिवारको एउटा सदस्य बनेको अर्थ राख्छ। भविष्यमा यो राँकोलाई सङ्ग्रहालयमा राख्ने छौँ।”

सन् २००८ पैचिङ ओलम्पिक खेलकुदमा मोन्टेनेग्रोले १९ खेलाडीलाई पठाएको थियो र पुरुष वाटर पोलो टोलीले चौथो स्थान प्राप्त गरेको थियो। ६ लाख २० हजार जनसंख्या रहेको यस सानो मुलुकले सामूहिक खेलमा यस्तो उत्कृष्ट उपलब्धि हासिल गर्नु आश्चर्यजनक कुरा हो। सिमोनोभिकले पैचिङ ओलम्पिक खेलकुदको व्यवस्थापन क्षमताको सम्झना गर्दै भन्नुभयो, “पैचिङ ओलम्पिक खेलकुदको संगठित कार्य प्रशंसनीय थियो, पैचिङ ओलम्पिक खेलकुदको सम्पूर्ण क्षेत्रको व्यवस्थापन राम्रो थियो।”

 

सिमोनोभिकले भर्खरै सम्पन्न टोकियो ओलम्पिक खेलकुद जस्तै पैचिङ हिउँदे ओलम्पिक खेलकुदको सामू विश्वव्यापी महामारीको गम्भिर स्थिति देखा परेको ठहर गर्नुभएको छ। तथापि पैचिङले सफल ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजना गरेको सबैले देखेको भन्दै छिटै आयोजना हुने हिउँदे ओलम्पिक खेलकुद पनि समान स्तरमा पुग्ने उहाँको विश्वास छ। महामारीको प्रतिरोध सम्बन्धी कदमले हिउँदे ओलम्पिक खेलकुदको आयोजनालाई निश्चित पार्नुका साथै खेलाडीहरु पैचिङबासीहरु जस्तै सुरक्षित हुने उहाँको भनाई छ।

 

मोन्टेनेग्रोमा बरफ र हिउँ खेलको परम्परा छैन। यसो भए तापनि मोन्टेनेग्रोले धेरै प्रकारको प्रतियोगितामा प्रगति हासिल गर्न कोसिस गरिरहेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा मोन्टेनेग्रोले तीन प्रकारको प्रतियोगितामा भाग लिने छन्। यसबारे चर्चा गर्दै सिमोनोभिकले भन्नुभयो, “हिउँदे ओलम्पिक खेलकुदमा भाग लिनु एक किसिमको सफलता हो। जुन ओलम्पिक भावनाको आधारभूत अवधारणा हो, त्यो भनेको आदान-प्रदान गर्नु र आफ्नो देशका लागि सबैभन्दा राम्रो स्तरको प्रदर्शन गर्नु हो। हाम्रा खेलाडीहरुले पैचिङबाट मूल्यवान अनुभव ल्याउने छन् र भविष्यमा हामी अरु उच्च स्तरमा पुग्ने मेरो विश्वास छ।”

 

विगत केही वर्षयता चीन र मोन्टेनेग्रो बीचको खेलकुद आदान-प्रदान बढ्दै आएको छ। टोकियो ओलम्पिक खेलकुदको वाटर पोलो प्रतियोगितामा मोन्टेनेग्रोका प्रशिक्षक पाटार पोरोपिकको नेतृत्वमा रहेको चिनियाँ महिला वाटर पोलो टोलीले आठौँ स्थान प्राप्त गरेको थियो। सन् २०१९ मा मोन्टेनेग्रोको पुरुष बास्केटबल टोलीले चीनमा अन्तर्राष्ट्रिय पुरुष बास्केटबल च्याम्पिएनशीपमा भाग लिएको थियो। चीनमा बास्केटबल, फुटबल र टेनिस लगायत खेलमा मोन्टेनेग्रोका खेलाडी र प्रशिक्षकहरु छन्। सिमोनोभिकले भविष्यमा दुई देश बीचको खेलकुद सहयोगको विकास हुनसक्ने आशा गर्नुभयो। चीनले खेलकुद क्षेत्रको विकासलाई अघि बढाउँदै छ। सानो मुलुक भए तापनि केही खेलमा मोन्टेनेग्रो बलियो छ। भविष्यमा दुई देश बीचको खेलकुद सहयोग दिन प्रतिदिन गहन हुने उहाँको आशा छ।