वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने कथा-2
2022-02-09 10:42:53cri
Share with:


 

गत साता पहिलो भाग राखिएको लेखको बाकी भाग। पहिलो भागको लिङ्क:अर्को घोडदौडको खेल आयो। सुन पिनले थेन चिलाई भने--"राजाका क, ख, ग दर्जाका तीनवटा घोडासित खेल्न हजूरले क्रमशः आफ्ना ग, क, ख दर्जाका घोडा पठाउनुहोस्।" फलतः तीन फेरको खेल सकिएपछि थेन चिले एकका विरुद्ध दुइले विजय हासिल गरे। यसबाट सुन पिनको नाउँ पनि एकै चोटि चारैतिर फैलियो। 


      एकपल्ट राजा छि वै वाङले सैनिक मामिलाका सम्बन्धमा चर्चा गर्दा सुन पिनलाई सोधे--"दुइ पक्षका सेना मुखामुख हुने स्थितिमा ती दुबै पक्षको मोर्चा बलियो भएको र कसैले पनि कसैमाथि आक्रमण गर्न नचाहेको अवस्थामा के गर्नु बेस हुन्छ?"

      सुन पिनले जवाफ दिए--"एकजना साहसिला र अनुभवी सैन्य-नायक छान्नुहोस्। उनलाई छिटो-छिटो दौड्नसक्ने केही सैनिकहरु लिएर अर्काको वास्तविक शक्ति बुझ्नका लागि अगाडीबाटै शत्रुसित जुध्न पठाउनुहोस्। त्यसमा शत्रुलाई भ्रमजालमा फसाउनका लागि उनले जित्नुहुँदैन, हार खानैपर्छ। यसका साथै केही अति बलिया योद्धाहरुलाई शत्रुको एकापट्टि लुकेर बस्न पठाउनुहोस्। उनीहरुले शत्रुको सामुन्ने पक्षमा गन्जागोल हुनासाथ एकापट्टिबाट हमला गरिहाल्नुपर्छ। यसो गरेमा जित्न नसक्ने कुरै छैन।"

      अब थेन चि तथा सुन पिनले फौज लिएर चाओ राज्यलाई बचाउने गरेको प्रसंगतिर लागौं। सुन पिनले स्थितिको विश्लेषण गरेपछि के ठहर गरे भने वै राज्यको सेना शक्तिशाली रहेछ। यदि त्यससित अगाडीबाट लडेमा छि राज्यका लागि ठूलो क्षति हुनसक्दछ। त्यसैले शत्रुको मुख्य शक्तिलाई छलेर त्यसको कमजोर ठाउँबाट हमला गर्नु उचित हुन्छ। वै राज्यको मुख्य बलियो टुकडी बाहिर गई त्यसको राजधानी ता ल्याङमा रक्षक शक्ति कमजोर देखिएको अवसर पारी त्यसमाथि नै हमला गरेको खण्डमा वै राज्यको सेना बाध्य भई ता ल्याङलाई बचाउन फर्केर जानेछन र चाओ राज्यले स्वतः खतराबाट जोगिएर बस्नपाउने छ। 



     सुन पिनले रणनीतिक दृष्टिबाट अनुकूल स्थिति प्राप्त हुनसकोस भन्ने उद्देश्यले शत्रु सेनालाई छि राज्यको फौज दुर्बल रहेको भ्रमपूर्ण संकेत देखाउने निर्णय गरे। उनले जानी-जानी असक्षम सैनिक अधिकारीहरुलाई एउटा टुकडी लिएर सामरिक दृष्टिकोणबाट महत्वपूर्ण मानिने वै राज्यको फिङ लिन बस्तीमाथि जाइलाग्न पठाए। सो टुकडीले अति नराम्रोसँग हार खायो। वै राज्यका महारथी फाङ च्युआनले छि राज्यको फौज एकदम लुरो रहेछ भन्ठानेर चाओ राज्यमाथि आक्रमण गर्न अझ जोड गरे। छि राज्यको फौजले वै राज्यको राजधानी ता ल्याङमाथि हमला गर्लान् भन्ने उनको सोच पटक्कै थिएन।

     यसै सिलसिलामा सुन पिन आफैले मुख्य र बलियो शक्ति लिएर सरासर गई वै राज्यको राजधानी ता ल्याङमाथि हमला गर्नथाले। फाङ च्युआनले यसको खबर पाउनासाथ पर रहेको राजधानीलाई जोगाउन भनी हत्तपत्त चाओ राज्यमाथि आक्रमण गरिरहेको अघिल्लो मोर्चाबाट सेना फिर्ता गरे। सैनिक तथा घोडा अति थकित भई सुन पिनको घेराबन्दीमा समेत पर्न गएपछि वै राज्यको सेनाको नराम्रो अन्त हुनु स्वाभाविकै थियो।

     छि राज्यको फौजले शत्रु सेनाको खास शक्तिलाई छलेर त्यसको कमजोर ठाउँमाथि हमला गरेको र आरामसँग बसेर अति थाकेको शत्रु सेनासित लडाइँ गरेको हुनाले यसबाट चाओ राज्यलाई बचाउनुका साथै वै राज्यको वास्तविक शक्तिलाई पनि शिथिल पारिदियो। चीनको सैनिक मामिला सम्बन्धी इतिहासमा "वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने" यो प्रसिद्ध जंगी जुक्ति सिर्जना गरी पछिका पुस्ताका लागि दूरगामी प्रभाव छाडिएको छ।