चीनलाई नजिकबाट नियालेका विनोद मानन्धर
2022-02-14 10:55:40cri
Share with:

अजय अलौकिक


एपेक्स मार्केटिङ प्रालीका प्रबन्ध निर्देशक तथा केमिकल एण्ड मेडिकल सप्लाएर्स एसोसिएशन अफ नेपालका महासचिव विनोद मानन्धर लामो समयदेखि चिकित्सा तथा स्वास्थ्य सामग्री आपूर्ति व्यवसायमा संलग्न हुनुहुन्छ। साथै उहाँ विगत बीस वर्षदेखि चीनबाट नेपालमा चिकित्सा तथा स्वास्थ्य सामग्री आपूर्ति व्यवसायमा संलग्न हुनुहुन्छ।

उहाँले सन् २००० देखि चीनबाट चिकित्सा तथा स्वास्थ्य सम्बन्धी सामग्री तथा यन्त्र र उपकरण नेपालमा भित्र्याउने काम गर्दैआउनुभएको छ। व्यापारको सिलसिलामा उहाँ सन् २००१ मा पहिलोपल्ट चीन आउनुभएको थियो। त्यसपछि निरन्तर रूपमा चीन आउँदै विभिन्न चिनियाँ सहरहरूको भ्रमणसँगै चीनको विकासलाई पनि आत्मसाथ गर्दैआउनुभएको छ। यसरी बीस वर्षदेखि चीन आवातजावतसँगै व्यापार गर्दैआएका मानन्धरले नजिकबाट चीनको विकास, चिनियाँ जीवनशैली र चिनियाँ उत्पादन वस्तुप्रति राम्रो जानकारी राख्नुभएको छ।

 

मेड इन चाइनाप्रति भरोसा

विश्वभरि मानिसलाई आवश्यक सबै सरसामान चिनियाँ रहेको भन्दै हाल चिनियाँ उत्पादन निकै उत्कृष्ट रहेको पनि उहाँले औँल्याउनुभयो। ‘अहिले चिनियाँ सरसामान विश्वमा नम्बर १ भन्दा फरक पर्दैन, तर आजभन्दा बीस वर्ष अगाडि हामीले काम थाल्दाखेरि यस्तो थिएन।’ उहाँले भन्नुभयो, ‘चिनियाँ उत्पादनलाई गुणस्तरयुक्त मानिँदैन थियो। तर हामीलाई विश्वास थियो, किनभने आफूले प्रयोग गरेका कतिपय चिनियाँ सामान अझै दुरूस्त थियो।’

उहाँले आफूले बाल्यकालमा प्रयोग गरेका स्टेशनरी सामान तथा साइकल सम्झिँदै भन्नुभयो, ‘हेर्नुस्, हामीले स्कुले जीवनमा ज्योमेट्री बक्स, पेनदेखि कतिपय चिनियाँ वस्तुहरू प्रयोग गरेका थियौँ। ती सामान कहिले बिग्रेको मलाई थाहा छैन। यसै गरी फिनिक्स साइकल निकै नै बलियो थियो। हामीले चीनमा राम्रो उत्पादक खोज्नसक्यो भने राम्रो, बलियो साथै सस्तोमा सामान पाउनसक्ने अपेक्षा सहित आजभन्दा बीस वर्षअघि चीन गएका थियौँ।’

उहाँ पहिलो पल्ट चिकित्सा तथा स्वास्थ्य सामग्रीको खोजीमा चीनको शनचन आउनुभएको थियो। त्यस बेला नेपाललगायत विश्वमा नै चिनियाँ उत्पादनप्रति विश्वास कम रहेको बताउनुहुन्छ। तर थाहा पाउने गरी सन् २००८/९ बाट चिनियाँ उत्पादनमा विश्वास बढ्नुका साथै बजार पनि बढेको उहाँको अनुभव छ। ‘जहाँसम्म लाग्छ, सन् २००८/९ बाट होला चिनियाँ सरसामान सहज रूपमा विक्री हुनथालियो, सबैले विश्वास गर्न थाल्यो। अहिले विश्व बजारमा मानिसलाई आवश्यक सबै किसिमको सामग्रीको उत्पादन मात्रै होइन गुणस्तरीय उत्पादनमा चीन अग्रणी छ। मलाई मेड इन चाइना भरपर्दो लाग्छ।’

चीन आवातजावतसँगै व्यापार गर्दैआएका मानन्धरले चिनियाँ उत्पादन वस्तु भरपर्दो रहेको बताउनुभयो।

 

कोभिड-१९ महामारीमा चीनको सहयोग

मानन्धरले कोभिड-१९ महामारीमा चीनबाट प्राप्त सहयोग तथा स्वास्थ्य सामग्रीको निरन्तर आपूर्तिले विश्वलाई नै गुण लगाएको बताउनुभयो। ‘कोभिड महामारीमा चीनको सफलता र यस्तो विषम अवस्थामा पनि नेपाललाई गरेको सहयोगको हामीले प्रशंसा गर्नैपर्छ। चीनले महामारी नियन्त्रण गर्दै स्वास्थ्य सामग्रीको निरन्तर उत्पादन र खोपको निर्माण, उत्पादन साथसाथै नेपाललगायत विश्वभर सहयोग र निर्यात गरेर ठूलो गुण लगाएको छ’, उहाँले भन्नुभयो।

चीनले ऊहानमा महामारी फैलिएदेखि नै यसको समाधान र नियन्त्रण के कसरी गर्नसकिन्छ भन्नेमा ध्यान केन्द्रीत गरेको थियो। यसैक्रममा लकडाउनको अवधारणा आएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘लकडाउनबाट कोभिड-१९ को प्रभावलाई कम गर्नसकिने भन्ने उपाय पनि चीनले नै सिकाएको हो, यसलाई पछ्याउनु बुद्धिमानी हुन्छ। यसरी अगाडि बढेको थियो र यसैको अन्त्यकालागि स्वस्थ्य सागम्रीको निरन्तर उत्पादन र खोपको निर्माण तथा उत्पादन गरी विश्वभर सहयोग गरिरहेको छ।’

नेपालमा विशेषत जनचेतनाको कमी तथा अस्थिर राजनीतिले गर्दा नेपालको समग्र विकास पछि परेको र महामारीको अवस्थामा चीनले सिकाएको लकडाउनबाट यसको प्रभावलाई कम गर्नसकिने उहाँको बुझाइ छ।

‘नेपालमा जनचेतनाको कमी छ र अस्थिर राजनीतिले गर्दा नेपालको समग्र विकास पछि परेको छ। चीनबाट धेरै कुरा सिक्नु आवश्यक छ। नेपाल चीनबीचको सम्बन्ध अझै बढ्ने आशा छ, जनताजनताबीचको सम्बन्ध अझै झाङ्गिने छ’, उहाँले भन्नुभयो।

केमिकल एण्ड मेडिकल सप्लाएर्स एसोसिएशन अफ नेपालका महासचिव मानन्धरले चीनसँग औसत रूपमा वार्षिक ७ देखि ८ अर्बको व्यापार हुने गरेको पनि बताउनुभयो। कोभिड-१९ महामारीको अवस्थामा यो व्यापार दोब्बर भएको छ।

 

चीनले पुन:एकपल्ट विश्वको ध्यान खिचेको

यही फेब्रअरी ४ देखि चीनले हिउँदे ओलम्पिकको आयोजना गरिरहेको छ। योसँगै चीन विश्वमा ग्रीष्मकालीन तथा शीतकालीन ओलम्पिक खेल आयोजना गर्ने विश्वको पहिलो सहर बनेको छ। एपेक्स मार्केटिङ प्रालीका प्रबन्ध निर्देशक विनोद मानन्धरले यो पैचिङ हिउँदे ओलम्पिकको आयोजनाबाट विश्वले चीनको क्षमता, चीनको प्रगति तथा विकास देख्ने बताउनुभएको छ।

‘हिउँदे ओलम्पिकको आयोजनासँगै चीनले पुन:एकपल्ट विश्वको ध्यान आकर्षण गर्नेछ।’ उहाँले भन्नुभयो, ‘फेरि पनि विश्वले चीनको विकास, क्षमता तथा शक्ति देख्न पाउने भएको छ। ग्रीष्मकालीन तथा शीतकालीन ओलम्पिक खेल आयोजना गर्ने विश्वको पहिलो सहर भएको यो अवसरमा म चीनलाई ओलम्पिक आयोजनाको सफलताको कामना गर्दछु’।

साथै उहाँले टुगेडर फर सेयर्ड फ्यूचरको नारा सहित आयोजना भइरहेको यो ओलम्पिकले सारा विश्वलाई एक जुट गरोस् भन्ने पनि कामना गर्नुभयो।

विगत बीस/बाइस वर्षदेखि चिकित्सा तथा स्वास्थ्य सामग्री आपूर्ति व्यवसायमा संलग्न मानन्धर चीनबाट चिकित्सा तथा स्वास्थ्य सम्बन्धी सामग्री तथा यन्त्र र उपकरण नेपालमा भित्र्याउने क्रममा र व्यापारको सिलसिलामा चीन आउने क्रममा नजिकबाट चीनको विकास आत्मसाथ पनि गर्नुभएको छ। उहाँसँग हरेक पटक चीन आउँदा यातायात तथा भौतिक पूर्वाधारको विकासले जनजीवन सहज बनाएको अनुभव छ।

‘हरेक पटक चीन आउँदा नयाँ नयाँ पाउँछु। दिन दुई गुणाले प्रगति गरेको देख्छु, सबैभन्दा राम्रो पक्ष भनेको जनतालाई सुविधा सम्पन्न बनाएको पाउँछु।’ उहाँले भन्नुभयो, ‘हाल एक सहरबाट अर्को सहर एक क्षणमा पुग्नसकिन्छ। जसले गर्दा जनताका साथै हामी व्यापारी तथा यात्रुलाई धेरै सुविधा मिलेको छ। यस क्रममा चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका महत्त्वपूर्ण देख्छु।’

जनतालाई प्राथमिकता दिने नीति अवलम्बन गरेको भन्दै मानन्धरले राष्ट्राध्यक्ष सी चिनफिङको प्रशंसासँगै राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणको समेत सम्झना गर्नुभयो। उहाँले भन्नुभयो, ‘चिनियाँ कम्युनिस्ट पार्टी तथा विश्वकै शक्तिशाली नेता तथा जनतालाई हेर्ने नेता राष्ट्रपति सी चिनफिङको विचार, नीति तथा काम गराइ र योजनालाई नेपालले सिक्नुपर्छ।’ यसै गरी, उहाँले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा शुभकामना पनि व्यक्त गर्नुभयो। सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको शतवार्षिकी मनाएको छ।