#अल्पसंख्यक जाति# तिब्बती जातिको नयाँ वर्ष
2022-03-01 09:15:54cri
Share with:

चिनियाँ परम्परागत पर्व वसन्त चाडपछि तिब्बती नयाँ वर्ष पनि आउँदै छ। यस वर्ष तिब्बती नयाँ वर्षको पहिलो दिन मार्च ३ तारिख हो। वसन्त चाडभन्दा ठीक एक महिनापछि तिब्बती नयाँ वर्ष आउँदै छ। किन केही साल तिब्बती नयाँ वर्ष र वसन्त चाडको पहिलो दिन एकै दिन र केही साल फरक-फरक हुन्छ?

 

      तिब्बती पात्रो अनुसार, नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। तिब्बती पात्रोको पहिलो महिनाको पहिलो दिनदेखि पन्ध्र दिनसम्म तिब्बती जातिको नव वर्षको अवधि हो। नव वर्षको पहिलो दिनको बिहान सबेरै नयाँ र राम्रा लुगा लगाएका तिब्बतीहरु एक आपसमा नव वर्षको शुभकामना आदान-प्रदान गर्छन्। यो रीतिरिवाज चिनियाँ वसत चाडसँग दुरूस्तै मिल्छ।

 

तर तिब्बती जातिको नव वर्षको ठोस मिति कहिले पर्छ? तिब्बत स्वायत्त प्रदेशीय तिब्बती अस्पतालअन्तर्गत खगोलीय पञ्चाङ्ग समितिबाट प्राप्त जानकारी अनुसार, सन् २०२२ मा तिब्बती जातिको नव वर्ष मार्च ३ तारिखदेखि सुरू हुँदैछ। तिब्बतमा हरेक तिब्बती परिवारसँग《तिब्बत खगोल विज्ञान र मौसम पञ्चाङ्ग》छ। यिनीहरूले उक्त पञ्चाङ्ग बमोजिम खेतीपाती गर्ने, महोत्सव मनाउने र विवाह तथा अन्त्येष्टिका कार्यक्रमहरू गर्ने गर्दछन्। तिब्बती खगोलीय क्यालेन्डर अनुसन्धान व्यूरोका विशेषज्ञका अनुसार, तिब्बती जातिको नव वर्ष चिनियाँ पात्रोअनुसारको नव वर्ष अर्थात् वसन्त चाडबीचको समय भिन्नता तीन प्रकार छन्- एकै दिन, एक दिनको भिन्नता वा एक महिनाको भिन्नता। सन् २०२०मा  तिब्बत जातिको नव वर्ष र वसन्त चाड बीचको समय भिन्नता ठीक एक महिना थियो। तर सन् २०१८, २०१९, र २०२१ मा तिब्बती जातिको नव वर्ष र वसन्त चाड एकै दिन थियो।  

 

तिब्बती जातिको नव वर्ष कसरी गणना गरिन्छ त? यो ज्यादै जटिल प्रक्रिया हो।

 

तिब्बती जातिको नव वर्ष तिब्बती पात्रोसँग घनिष्ट सम्बन्ध रहेको छ। उक्त गणना खगोल विज्ञानको सिद्धान्तको आधारमा गरिनुका साथै कृषि तथा पशुपालनको समय, जलवायु तथा मौसम, ऋतु, मानव शरीरमा मुख्य र समानान्तर नलीको परिवर्तन चक्र आदि विषयसित सम्बन्धित छ। गणनाको सटिक प्रत्याभूति गर्नका लागि हाल विशेषज्ञहरूले खगोलीय पात्रोसम्बन्धी तथ्याङ्क शुद्धिकरण सफ्टवेयरको सिर्जना पनि गरेका छन्।

 

पौराणिक कथा अनुसार, ईसापूर्व १०० वर्षअघि कढाइ गर्ने एक वृद्ध महिलाले काम गर्दैगर्दा सूर्य, चन्द्र र ताराको परिवर्तनको अवलोकनबाट परिवर्तनको नियमको समीक्षा गरेकी थिइन्। त्यस बेलादेखि तिब्बत पठारभूमिमा विशेष र परम्परागत पात्रोको स्थापना भएको भनिन्छ। त्यसपछि तिब्बती पात्रोले परम्परागत पात्रोको आधारमा अरू पात्रोको सार भित्र्याएर स्थापना गरेको छ।

 

स्थानीय तिब्बती सर्वसाधारणले तिब्बती पात्रोअनुसार कृषि कामको योजना बनाउने गर्दछन्। हरेक वर्ष नोभेम्बर २० तारिखदेखि तिब्बत पठारभूमिमा जाडो समयले प्रवेश गर्दछ। तर यो अवधि जाडो यामको सिँचाइ गर्ने समय पनि हो। जाडो यामको सिँचाइले माटोमा पानी थपेर वसन्त ऋतुमा सुख्खा हुनबाट बचाउँछ। त्यसका साथै बरफ पानीले माटोमा रहेका किटाणु मार्दछ। कृषि क्षेत्रका सर्वसाधारणका लागि यो ज्यादै महत्वपूर्ण कुरा हो।