फै शुई लडाईं सम्बन्धी कथा-1
2022-03-02 15:52:33cri
Share with:


ईस्वी सम्वत चौथो शताब्दीको प्रारम्भमा चीनको अधिकार केन्द्रित सरकारमा उथल-पुथल भएर चीनको दक्षिण र उत्तरमा दुइवटा शासन-व्यवस्थाको स्थापना भयो । दक्षिणी क्षेत्रको तुङ चिन् अर्थात पूर्वी चिन् शासनले याङ सी नदी क्षेत्रमाथि नियन्त्रण गरेर चिआन् खाङ अर्थात अहिलेको नान् चिङ शहरलाई आफ्नो राजधानी बनाएको थियो । उत्तरी क्षेत्रको व्हाङ ह नदी क्षेत्रमाथि गणजाति शासन अर्थात पूर्व छिनले नियन्त्रण गरेको थियो । त्यसको राजधानी छाङ आन् हो अर्थात अहिलेको सि आन् शहर थियो।

         पूर्व छिन राज्यका सम्राट फु चिआन् एकजना दक्ष व्यक्ति थिए । उनले हान् जातिका बुद्धिमान व्यक्तिलाई सल्लाहकार बनाउनुका साथै मुलुकमा सुशासन कायम गरी अवैध गतिविधि गर्ने कुलीन शक्तिमाथि प्रहार गरे। उनले केन्द्रीकृत आधारमा जल-संभार कार्य सञ्चालन गर्दै कृषिको विकास गर्ने नीति अपनाएका थिए। यसका अतिरिक्त, उनले सैनिक शक्तिको सबल रुपमा विकास गरी तुंग चिन् अर्थात पूर्वी चिनमाथि विजय हासिल गरी चीनको एकिकरण गर्ने योजना बनाएका थिए।

 



          सन् 383मा फु चिआनले विभिन्न जातिका मानिसहरुलाई सेनामा भर्ना गराई 8 लाख 70 हजार मानिस सम्मिलित सेनाको निर्देशन गरी पूर्वी चिनमाथि हमला गर्न गएका थिए । पूर्वी चिनको सेनामा एक लाख जति सैनिकहरु मात्र भएको खबर पाएकाले फु चिआनले निकै अभिमानी भएर भने:“मेरो शक्तिशाली सेनाले घोडाका कोर्राहरु खोलामा फालेमा खोलाको प्रवाहलाई रोकिदिन सक्नेछन। यस्तो सेनाले चिन शासनलाई सखाप पार्न सक्दैन र ? ”

         पूर्वी चिनले पूर्व छिनका सेना दक्षिणतीर आइलागेको थाहा पाएर तुरुन्तै शे श र शे स्युआनका नियन्त्रणमा असी हजार सैनिक पठाएर शत्रुको सामना गर्न आदेश दिएका थिए । यसै बेला पूर्व छिनको अग्रिम सैनिक टुकडीले पूर्वी चिनको राजधानीदेखि नजिकै पर्ने लो चिआन् अर्थात अहिलेको आन् व्है प्रान्तको लो हमा पुगेर व्हे ह नदीको यातायातलाई अबरुद्ध पारिदिएका थिए। त्यस बेला संकटको अवस्था देखा परेको थियो। शे श र शे स्युआनले लो चिआनमा रहेका शत्रुलाई लुकिचोरी प्रहार गर्न पाँच हजार सैनिक पठाएका थिए। चिन शासनका सेना विजय हासिल गरेर झन आँटिला भएका थिए। त्यसैले चिन शासनका सेनाले स्थल र जल दुबै मार्गबाट फै शुए भन्ने खोलाको पूर्वी किनारामा गएर युद्ध गर्न थाले।

यो लेखलाई दुई भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।