सभामुख सापकोटाद्वारा चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक बैठकको सफलताको शुभकामना
2022-03-05 16:33:47CRI
Share with:

नेपालको प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जनकंग्रेसकोे वार्षिक वैठकको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

चीनको राजधानी पैचिंगमा आजदेखि सुरु भएको १३ औं राष्ट्रिय जनकंग्रेसको ५ औं वार्षिक बैठकलाई शुभकामना सन्देश दिनुहुँदै सभामुख सापकोटाले नेपाली जनता, प्रतिनिधिसभा र व्यक्तिगत रुपमा सो वैठकको भव्य सफलताको कामना गर्नुभएको हो ।

सन्देशमा सभामुख सापकोटाले भन्नु भएको छ, “जनकंग्रेसको वार्षिक सम्मेलनमा चिनियाँ जनताको समुन्नत हित र उन्नतीका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका प्रतिनिधिहरुले विभिन्न विषयहरुमा गहन छलफल गरी महत्वपूर्ण निर्णयहरु गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु ।”

चीन र नेपाल ऐतिहासिक कालदेखिका असल छिमेकी भएको बताउनु हुँदै सन्देशमा सभामुख सापकोटाले भन्नुभएको छ, “हाम्रा दुई देशका जनताबीच प्राचीनकालदेखि नै धार्मिक, साँस्कृतिक तथा आर्थिक सम्बन्ध कायम रहँदै आएको छ । सन् १९५५ मा कुटनीतिक सम्बन्ध कायम भएपछि नेपाल र चीनले आपसी सम्मान, सहयोग र सहकार्यलाई तीब्र गतिमा अघि बढाईरहेका छन् । नेपालले एक चीन नीतिलाई दृढतापूर्वक समर्थन गर्नुका साथै नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन कटिवद्ध रहँदै आएको छ ।”

नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनको सहयोग निकै महत्वपूर्ण भएको प्रसंग सन्देशमा उल्लेख गर्नुहुँदै सभामुख सापकोटाले नेपाल र चीनका बीचमा पछिल्ला बर्षहरुमा अझ सधन सहकार्य हुँदै गइरहेको बताउनु भएको छ । चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (विआरआई) परियोजनाको नेपाल महत्वपूूर्ण साझेदार देशको रुपमा रहेको भन्दै सभामुख सापकोटाले विआरआई परियोजनामार्फत् हुने पूर्वाधार निर्माणले नेपालको आर्थिक क्षेत्रको विकासमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

“चीन सरकारले उपलब्ध गराएको विभिन्न स्वास्थ्य सामग्री र खोप सहयोगले नेपालमा कोभिड– १९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा महत्वपूर्ण भुमिका खेलेको छ । म नेपाल र नेपाली जनताको तर्फबाट यस सहयोगका लागि चीन सरकार र चिनियाँ जनतालाई विशेष धन्यवाद व्यक्त गर्दछु ।” सन्देशमा सभामुख सापकोटाले भन्नुभएको छ ।

समामुख सापकोटाले सन्देशमा भन्नु भएको छ, “म हाम्रो दुई देश, संघीय संसद र चिनियाँ जनकंग्रेस एवं दुई देशका जनता–जनता बीचको सम्बन्धलाई अझ प्रगाढ र फराकिलो बनाउन नजिकबाट सहकार्य गर्न तयार छु ।”