रुस र युक्रेन बीचको शान्ति वार्तामा “सक्रिय परिणाम र शान्ति” प्राप्त गर्न सकियोस् - चीन
2022-03-09 19:31:14cri
Share with:

चीनले युरोपेली महाद्वीपमा फेरि युद्ध भएकोमा अफसोस जनाएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च ८ तारिख फ्रान्सका राष्ट्रपति माक्रोन र जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भिडियो वार्ता गर्दै रुस र युक्रेन बीचको शान्ति वार्तामा “सक्रिय परिणाम र शान्ति” प्राप्त गर्नसकियोस् भन्ने कुरामा चीनको समर्थन रहेको व्यक्त गर्नुभएको छ। फ्रान्स र जर्मनी दुई देशले युरोपको हितमा सोच विचार गरी युरोपको सुरक्षाका लागि सन्तुलित, प्रभावकारी र दीर्घकालीन प्रारुपको स्थापना गर्न र युरोप, रुस, अमेरिका र नेटो बीच समान वार्ताको आयोजना गर्न चीनले समर्थन गरेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

 

युरोपेली संघको वर्तमान अध्यक्ष मुलुक फ्रान्स बनेपछि र जर्मनीका नयाँ निर्वाचित चान्सलर सोल्जले सत्ता सम्हालेपछि चीन, फ्रान्स र जर्मनीका नेतागण बीच भएको यो पहिलो भिडियो वार्ता हो। वार्तामा युक्रेनको परिस्थिति महत्वपूर्ण विषय बनेको छ।

 

अहिले युक्रेनको उथलपूथल परिस्थितिको निकै जटिल ऐतिहासिक कारकतत्वहरु छन्। तीमध्ये अमेरिकाको नेतृत्वमा रहेको नेटोको ठूलो जिम्मेवारी छ। अमेरिका र पूर्व सोभियत संघ बीचको शीत युद्ध सम्पन्न भएपछि अमेरिकाले नेटोलाई पाँच पटक पूर्वतर्फ विस्तार गरी रुसको वरिपरिको सुरक्षा वातावरणमा खलल पुर्याएकोले यस पटकको रुस युक्रेन युद्ध भएको हो। त्यसैले वर्तमान युक्रेन संकटको समाधानका लागि अमेरिकाले अरु देशमाथि हिलो छ्याप्नुहुँदैन, बरु आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ।

 

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुक र उत्तरदायित्वयुक्त मुलुकको रुपमा चीनले युक्रेन समस्यामा धेरै पटक आफ्नो अडान स्पष्ट पार्दै शान्ति वार्ताका लागि रचनात्मक भूमिका निर्वाह गर्ने इच्छा व्यक्त गरेको छ। यस पटकको भिडियो वार्तामा राष्ट्राध्यक्ष सीले युक्रेनको मानवतावादी परिस्थितिबारे चीनका ६ सूत्रीय प्रस्ताव प्रस्तुत गरी युक्रेनलाई मानवतावादी राहत प्रदान गर्ने पनि बताउनुभयो।