नेपाली रेल अब एक दिन बिराएर गुडाइने
2022-03-17 15:32:06CRI
Share with:

पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिनुभयो। उहाँका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।

 

होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उहाँले बताउनुभयो। रेल गुडिरहे पनि आम्दानी भएको छैन । महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताउनुभयो।

रेल गुडाउने अध्यादेश निष्कृय भएका कारण उद्घाटनको मिति निर्धारण हुन नसकेको पनि उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘कर्मचारी नियुक्त भइसकेका छन् । भाडादर पनि निर्धारण गरिसकेका छौं । तर, कानुनको अभावमा यात्रुलाई बोकेर गुडाउन सकिएको छैन ।

संघीय सरकारले पुनः रेल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै सम्भवतः सोमबारसम्म अध्यादेश आउने पनि उहाँले बताउनुभयो। अध्यादेश आएर कानुन बनिसकेपछि उद्घाटन भएर रेल सेवा नियमित हुने अनलाइनखबरले लेखेको छ झाले फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा रेलको उद्घाटन गराउने तयारी भएपनि कानुनकै अभावमा हुन नसकेको बताउनुभयो।

जनकपुर-जयनगर रुटमा रेल सन्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरिद गरी ल्याएको थियो । भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो।

नेपाल रेल्बे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन छ । प्रतिघण्टा १ सय १० किलोमिटरको गतीमा गुड्नसक्ने क्षमताको यो रेलले एकपटकमा करीब १३ सय यात्रुहरु बोक्न सक्छ।