इन्धन आयात सम्झौता गर्न भारतीय आयल कर्पोरेसनको टोली नेपालमा
2022-03-23 16:13:41CRI
Share with:

भारतबाट इन्धन आयात सम्झौताको खाका तयार गर्न इन्डियन आयल कर्पोरेसन्स (आईओसी)का उच्च अधिकारीहरु नेपाल आएका छन्। आईओसीका बिजनेस डेभलपमेन्ट प्रमुख सन्जिव जेनको नेतृत्वमा बित्त विभाग प्रमुख, आपूर्ति विभाग प्रमुखसहित ६ सदस्य टोली नेपाल आएको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आईओसीको टोली सोमबार आइपुगेको हो। ‘इन्धन ढुवानीको सम्झौताबारे मंगलबारदेखि छलफलमा जुटेका छौं। अन्तिम खाका तयार भए पश्चात सरकारलाई बुझाउँछौं,’ उहाँले भन्नुभयो, 'सरकारबाट स्वीकृत भएपछि हस्ताक्षर हुन्छ।’

भारतबाट इन्धन आयात गर्नका लागि नेपाल आयल निगम र आईओसीबीच ५/५ वर्षमा सम्झौता हुन्छ। २०१७ मार्चमा गरिएको सम्झौता २०२२ मार्चमा सकिँदैछ। सम्झौता हुने विषय टुङ्गो लगाउन आईओसीका उच्च अधिकारीहरु नेपाल आएका हुन्।

निगमका अनुसार २०१७ मा सम्झौता गर्दा पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको थिएन। अहिले पाइपलाइनबाट डिजेल आयात हुन्छ। ती विषयहरु पनि समेटिने छ। यी बाहेक कर्मचारीलाई प्राविधिक तालिम लगायतका विषयमा पनि छलफल भइरहेको जनाइएको छ। हाल आईओसीको सिलगुडी, बरौनी, बेतालपुर, गोन्डा, बन्थरालगायत रिफाइनरीबाट नेपालका लागि इन्धन ढुवानी हुन्छ।