बेइजिङको नयाँ सेलिब्रेटी पिङ तुनतुन
2022-03-24 09:32:27cri
Share with:

---------------अजय अलौकिक


हाल चीनमा पिङ तुनतुन र स्यए रोङरोङ निकै लोकप्रिय छन्। तत्काल् पिङ तुनतुन सर्वाधिक चर्चामा छ। निकट भविष्यमा स्यए रोङरोङको चर्चा पनि यसरी नै चुलिने सम्भावना छ। आखिर के/को हुन् त ? यी लोकप्रिय पिङ तुनतुन र स्यए रोङरोङ।

अहिले चीनको राजधानी बेइजिङ र छिमेकी सहर चाङच्याखौ विश्वको ध्यानाकर्षण गर्न सफल भएको छ, जहाँ हिउँदकालीन ओलम्पिक खेलको आयोजना भइरहेको छ। योसँगै बेइजिङ ग्रीष्मकालीन तथा हिउँदकालीन गरी दुई थरिकै ओलम्पिक खेल आयोजना गर्ने पहिलो सहर पनि बनेको छ। साथसाथै चिनियाँ खेलाडीले इतिहास पनि रचिरहेका छन्। यो सँगसँगै बेइजिङ हिउँदकालीन ओलम्पिक्स तथा पारा ओलम्पिक्सका दुई मस्कट पनि निकै लोकप्रिय भएका छन्। 

कुनै पनि खेल समारोह वा टोली, संगठन, संस्थाको प्रतीक चिन्हको रूपमा प्रयोगमा ल्याइने वस्तुलाई मस्कट भनिन्छ। साथै यसलाई सौभाग्यको वस्तु पनि मानिन्छ। यस पटकको सन् २०२२ बेइजिङ हिउँदकालीन ओलम्पिक्स तथा सन् २०२२ पारा ओलम्पिक्सका सौभाग्यशाली प्रतीक नै यी दुई मस्कट क्रमशः पिङ तुनतुन र स्यए रोङरोङ हुन्। हाल पिङ तुनतुन र स्यए रोङरोङको लोकप्रियता चुलिएको छ।

सन् २०२२ चिनियाँ बाघ वर्षको वसन्त चाडमा बाघभन्दा पिङ तुनतुनको लोकप्रियता निकै बढेको छ। हाल पिङ तुनतुनको खेलौना लगायतका सामग्रीको बजारमा हारालुछ नै भइरहेको छ। यी सन् २०२२ बेइजिङ हिउँदकालीन ओलम्पिक्स तथा पारा ओलम्पिक्सका दुई मस्कट पिङ तुनतुन र स्यए रोङ रोङको छनौट भने सन् २०१९ मा भएको हो।

यो पिङ तुनतुन बरफको सुट लगाएको पाण्डा हो। यसले आफ्नो शरीरलाई बरफबाट बनाइएको शेलले ढाकेको छ र एक अन्तरिक्ष यात्रीजस्तै देखिन्छ। डिजाइनरको व्याख्या अनुसार, यो असीमित सम्भावनाहरूको साथमा भविष्यकालागि नयाँ प्रविधिहरू अँगाल्नकालागि व्यक्त गरिएको सम्मान हो।

पिङ तुनतुनको अर्थ के हो ? पिङ भनेको बरफ हो र यसले शुद्धता र शक्तिको प्रतिनिधित्व गर्दछ र तुनतुनको अर्थ स्वास्थ्य र जीवन शक्ति हो। यो हिउँदे ओलम्पिक खेलाडीहरूको बलिष्ठ शरीर, दृढ इच्छा र प्रेरणादायी भावनाको प्रतीक हो।

सन् २०२२ बेइजिङ आयोजक समितिले विश्वव्यापी प्रतिस्पर्धाको आयोजना गरी ३८ देश र क्षेत्रका ५,८१६ कृतिहरूबाट यो डिजाइनलाई छनौट गरेको थियो। पिङ तुनतुनका मुख्य डिजाइनर छाओ स्वेका अनुसार, परम्परागत चिनियाँ खानेकुरा पिङथाङ्गुलुबाट यस्तो आइडिया प्रस्फुटन भएको हो। थाङ्गुलु फलफूल वा बेरीलाई चिनीको चास्नीमा चोपिएपछि तयार हुन्छ। प्रथमतःथाङ्गुलुलाई चास्नीको ठाउँमा बरफले ढाक्ने योजना बनाएका उनले एउटा सामान्य खानेकुराले देशको प्रतिनिधित्व गर्न सक्दैन कि भन्ने भएपछि वनस्पति तथा पशुपंक्षीको खोजको क्रममा अन्ततःपाण्डाको छनौट गरेका हुन्।

पिङ तुनतुनलाई क्वानचौ ललित कला प्रतिष्ठानका १४ सदस्यीय टोलीले सिर्जना गरेको हो। उक्त टोलीको नेतृत्व छाओले गरेका हुन्। ‘हामीले डिजाइनको प्रारम्भिक चरणमा चिनियाँबीच लोकप्रिय चास्नीमा चोपिएको फललाई रोजेका थियौँ,’ उनले सुनाए, ‘चिनीको कोटिङ बरफ जस्तै देखिन्छ नि। तर पछि देशको पहिचान सही रूपमा व्यक्त गर्न सक्दैन भन्ने लागेपछि वन्यजन्तुलगायत धेरे कुराको खोजी गर्यौँ। अन्ततः चीनको राष्ट्रिय खजाना पाण्डालाई हामीले रोज्यौँ।’

‘पाण्डाले शुद्धता, शक्ति र जीवन्तताको अर्थ व्यक्त गर्दछ। यो बरफ सेलले प्रविधिको विकास झल्काउँछ,’ उनले भने। ‘यसलाई पहिलो पटक हेर्दा चिसो अनुभूत हुनसक्ला तर यसले प्यारो, न्यानो अनुभूति दिन्छ।’

पाण्डाको हाउभाउ हेर्न छाओ र उनको टोलीले पाण्डाको गृह नगर सछ्वान प्रान्तको वुलोङ राष्ट्रिय प्रकृति संरक्षण कोषको समेत भ्रमण गरेका थिए। उनले भने, ‘यो सानो पाण्डा मस्कटले राष्ट्रिय सीमा र भाषाहरू पार गर्दछ र यसले ओलम्पिक मार्फत चिनियाँ कथाहरू बताउने छ र विश्वसमक्ष चीनलाई राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ।’

छाओ र उनको टोलीले सिर्जना गरेको यो पिङ तुनतुनलाई सन् २०२२ बेइजिङ आयोजक समितिले विश्वव्यापी प्रतिस्पर्धाको आयोजना गरी ३८ देश र क्षेत्रका ५,८१६ कृतिहरूबाट छनौट गरेको थियो।

यो पिङ तुनतुनको शीरको वरिपरिका रङ्गीन रेखाहरू आइसरिङ्कका ट्र्याकजस्तै देखिन्छन्। यसले बेइजिङको राष्ट्रिय स्केटिङ स्टेडियमको प्रतिनिधित्व गर्दछ। साथै यी रङ्गीन रेखाहरूले फाइभ जीको द्रुत सिग्नल्सलाई पनि जनाउँछ। थ्रीडीमा डिजाइन गरिएको पाण्डाले मानव र प्रकृतिबीचको सामञ्जस्यपूर्ण सहअस्तित्वको अवधारणालाई मूर्त रूप दिएको छ। सुनको मुटु भएको पाण्डाले हिउँदकालीन खेलप्रति माया दर्शाएको छ।

यसै गरी, अन्तरिक्ष यात्रीजस्तै देखिने पिङ तुनतुनको आवरणले हिउँदे ओलम्पिक्स र नवप्रविधिको सही मिश्रण देखाएको छ। यसको अनुहारको उज्यालोले नवीनतम उन्नत प्रविधिहरूको प्रतिनिधित्व गरेको छ। यसबाहेक, पिङ तुनतुनको हल्लाएको हातले हेलो भन्दै हत्केलामा चित्रित दुई राता मुटुले दया र माया दर्शाएको छ। साथै बायाँ हत्केलाको मुटु हिउँदकालीन ओलम्पिक्सका खेलाडी तथा दर्शकहरूकालागि चीनको आतिथ्यताको प्रतीक रहेको डिजाइनरले यसरी वर्णन गरेका छन्।

अहिले पिङ तुनतुनको सुन्दर तथा आकर्षक आकृति तथा अर्थपूर्ण र प्रेरणादायी भावार्थले चीन सँगसँगै विश्वभर लोकप्रियता कमाएको छ।

ईकमर्श जाइन्ट अलिबाबाको एक रिपोर्ट अनुसार हिउँदे ओलम्पिकको उद्घाटनसँगै पिङ तुनतुन तथा अन्य सम्बन्धित् सामानहरू किन्न आधिकारिक ओलम्पिक अनलाइन-स्टोर टिमल वेबसाइटमा १० लाख भन्दा बढी ग्राहक प्रवेश गरेका थिए। यसै गरी, हरेक दिन बेइजिङलगायतका सहरहरूमा स्थापित आधिकारिक पसलहरूमा पनि पिङ तुनतुनका विविध सामग्री किन्न चाहने ग्राहकको एकदमै लामो लाइन देख्ने गरिन्छ। यो पिङ तुनतुनको लोकप्रियता अत्याधिक रूपमा बढेको छ। साथै, बजारमा अभाव भएकोले युद्धस्तरमा यी सामग्रीको उत्पादन पनि थालिएको छ।

यसबाहेक, चिनियाँ सर्वसाधारणको दैनिकीमा चिया, कफि, बिस्किट, आइसक्रिमदेखि बजार र विभिन्न प्याकेजिङमा पिङ तुनतुन देख्नसकिन्छ। ओलम्पिक्ससम्बन्धित अरू सामग्रीको माग र प्रयोग पनि ह्वात्तै बढेको छ। साथसाथै, पारा ओलम्पिक्स नजिकिएसँगै अर्को मस्कट स्यए रोङरोङको पनि लोकप्रियता चुलिने सम्भावना नकार्न सकिन्न।

स्यए रोङरोङ, एउटा चिनियाँ लालटिन आकारको बच्चा हो। यसको परम्परागत चिनियाँ कागज कटनी र रूइ गहनाबाट डिजाइन गरिएको छ। यहाँ स्यएको अर्थ हिउँ हो, यसै गरी पहिलो रोङले समावेशी तथा सहनशक्तिको अर्थ बुझाउँछ भने पछिल्लो रोङको अर्थ पग्लनु र न्यानो पार्नु हो। यसले समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई अझ बढी समावेश गर्ने इच्छा र विश्वका संस्कृतिहरूबीच थप संवाद र समझदारीको प्रवर्द्धन गर्दछ। यसका साथै स्यए रोङरोङको ह्रदयबाट निस्किएको चमक पारा ओलम्पिक्स खेलाडीहरूको मित्रता, न्यानोपन, साहस र लगनशीलताको प्रतीक भएको डिजाइनरले अर्थ्याएका छन्।

(हिमालप्रेसमा २०७८ फागुन ०७ मा प्रकाशित)