ओलम्पिकको रङ्गमा रङ्गिएको बेइजिङ र खेल कूटनीति
2022-03-24 09:26:38cri
Share with:

----------अजय अलौकिक



यति बेला चीनमा वसन्त चाडको रौनक छ। त्यो भन्दा बढी ओलम्पिक्सको तामझाम छ। विशेषतः विश्वमै एक मात्र ग्रीष्म तथा हिउँदे ओलम्पिक खेल आयोजक सहर बनेको बेइजिङको रौनक अझै बेग्लै छ। अघिल्ला वर्षहरूभन्दा यस पटकको चिनियाँ वसन्त चाडमा ओलम्पिक्स नयाँ आकर्षण बनेको छ। जताततै राता रङ्गका लालटिन तथा सम्बन्धित वर्ष जनाउने पशुपंक्षीको प्रतीक र यस्तै सजावटले सिँगारिने चीन र बेइजिङ यस पटक ओलम्पिकमय बन्नपुगेको छ। जनवरी ३१ तारिख नव वर्षको पूर्वसँध्या मनाएको चीनले फेब्रुअरी ४ तारिख सन् २०२२ बेइजिङ हिउँदकालीन ओलम्पिक खेलको स्वागत गरेको छ।

स्मरण रहोस्, चीनको राजधानी सहर बेइजिङ र छिमेकी सहर चाङच्याखौले यही फेब्रुअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक खेल र मार्च ४ देखि १३ सम्म पारा ओलम्पिक खेलको आयोजना गर्दैछ। फेब्रुअरी ४ तारिख राती, बेइजिङको राष्ट्रिय रङ्गशाला ‘बर्ड नेस्ट’ मा चिनियाँ तत्वको साथमा उच्च प्रविधि मिश्रित एक भव्य समारोहको आयोजना गर्दै २४औँ हिउँदकालीन ओलम्पिक खेलको उद्घाटन गरिएको थियो, जहाँ चीनका राष्ट्रपति सी चिनफिङले हिउँदकालीन ओलम्पिक खेल सुरू भएको घोषणा गरेका थिए। यो ऐतिहासिक घोषणासँगै बेइजिङ सन् २००८ मा बेइजिङ ग्रीष्मकालीन ओलम्पिक खेल र अहिले बेइजिङ हिउँदकालीन ओलम्पिक खेलको आयोजना गर्ने विश्वको पहिलो र एक्लो ‘दुई ओलम्पिक्स’ आयोजक सहर बनेको छ।

उक्त भव्य उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाख, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलगायत अन्तर्राष्ट्रिय संघ, संगठनका जिम्मेवार व्यक्तिका साथै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत ३० भन्दा बढी मुलुकका नेताको उपस्थिति थियो। यो चीनको कोभिड-१९ महामारीमाथिको जीत मात्र नभइ बेइजिङ हिउँदे ओलम्पिक खेलको सुरक्षित संयोजनप्रति पूर्ण विश्वासको प्रतिबिम्ब पनि हो।

यद्यपि, कोभिड-१९ महामारी बीच आयोजना भइरहेको यो ओलम्पिक्सलाई चीन र चिनियाँ जनता अहिलेसम्मकै उत्कृष्ट बनाउन तथा विश्वलाई चिनियाँ सत्कार र क्षमता प्रदर्शनीलाई यादगार बनाउन व्याकुल छन्। बेइजिङले खेलको अवधिमा कोभिड-१९ को फैलावटलाई नियन्त्रणमा राख्न प्रभावकारी प्रणालीको स्थापना गरेको छ। लुप यातायात तथा सुरक्षित बबलको अवधारणा अपनाइएको छ, जहाँ सबै खेलस्थल, अभ्यासस्थल, भोजनगृह, खानपानस्थल तथा आवास छन्। ९० मुलुक तथा क्षेत्रका करिब तीन हजार खेलाडी, प्रशिक्षक, पदाधिकारी, स्वयम्सेवक तथा सञ्चारकर्मीसहित करिब ६० हजार मानिस यस ओलम्पिक्समा सहभागी छन्। तर, कोरोनाका कारण विदेशी समर्थक र दर्शकलाई अनुमति दिइएको छैन। यद्यपि स्थानीय दर्शकका लागि सीमित टिकटको व्यवस्था गरिएको छ।

यसबाहेक, यो हिउँदे ओलम्पिक्स अहिलेसम्म कै धेरै खेल प्रतिस्पर्धा भएको ओलम्पिक्स पनि बनेको छ। बेइजिङ र चाङच्याखौका विभिन्न इण्डोर र आउटडोर खेलस्थलमा २,८९२ खेलाडीहरू ७ मुख्य खेलअन्तर्गत १५ वटा खेलहरूमा १०९ वटा स्वर्ण पदककालागि प्रतिस्पर्धा गर्दै छन्। यो ओलम्पिक्सको आधिकारिक नारा साझा भविष्यकालागि सँगसँगै रहेको छ र यसले एउटा समुदायको रूपमा रहेर खेलकुदको शक्तिद्वारा विश्वका चुनौतीहरूलाई परास्त गर्नसकिने सन्देश बोकेको छ। साथै ओलम्पिक भावनामा ‘अझ एकताबद्ध’ भन्ने शब्द थपिएपछि आयोजना भएको यो पहिलो हिउँदे ओलम्पिक्स पनि हो। ‘एकजुट भएमा अझ बलियो भएर अझ उच्च लक्ष्यतर्फ उन्मुख हुन सकिने छ’ यो अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदका अध्यक्ष बाखले खेलाडीहरुलाई गरेको आह्वान हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बाखले बेइजिङ हिउँदे ओलम्पिक्सले विश्वलाई एकताबद्ध हुन शक्ति दिने आशा गरे।

यसै बीच, चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रथम महिला श्रीमती फङ ली युआनले फेब्रुअरी ५ तारिख जन बृहत् सभाभवनमा सन् २०२२ बेइजिङ हिउँदे ओलम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुन आएका विदेशी अतिथिहरुका लागि रात्री भोजको आयोजना गरेका छन्। रात्री भोजमा राष्ट्रपति सीले सम्बोधन गर्दै चीन सरकार र चिनियाँहरुको तर्फबाट सबै विदेशी अतिथिको हार्दिक स्वागत व्यक्त गर्नुकासाथै बेइजिङ हिउँदे ओलम्पिक्सलाई समर्थन गर्ने विभिन्न देश तथा अन्तर्राष्ट्रिय समुदाय र संगठनलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले चौध वर्षपछि फेरि पनि ओलम्पिक ज्योति बेइजिङमा प्रज्ज्वलन भएको सुखद अवसरमा चीनले हरित, संयुक्त उपभोग, खुला तथा स्वच्छ ओलम्पिक संयोजन विचारधाराले महामारीको प्रभावको सामना गर्दै यस ओलम्पिक्सलाई निर्धारित समयमा नै आयोजन गर्न सफल रहेको पनि व्यक्त गरे।

ओलम्पिक खेलले मानवजातिको शान्ति, एकताबद्ध, र प्रगतिप्रतिको सुन्दर पथको खोजी गर्दछ। यसै ओलम्पिक खेलको भावनाको प्रचारप्रसार गर्दै एकताबद्ध भएर मेलमिलापयुक्त सहयोगात्मक अन्तर्राष्ट्रिय परिवारको निर्माण गर्न जोड पनि दिए। उनले भने, ‘सबैले ओलम्पिक खेल भावनाको प्रचारप्रसार गर्दै एकताबद्ध भएर मेलमिलापयुक्त सहयोगात्मक अन्तर्राष्ट्रिय परिवारको निर्माण गर्नुपर्छ। सबैको प्रयासमा बेइजिङ हिउँदे ओलम्पिक खेलकुद इतिहासमा लेखिने छ।’

सोही क्रममा, ओलम्पिक खेल आयोजनाको क्रममा अर्थपूर्ण राजनैतिक भेटहरू पनि भएका छन्। चिनियाँ राष्ट्रपति सीले बेइजिङ हिउँदकालीन ओलम्पिक्स सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए। मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्रपतिहरूले चीन-रूस सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विषयहरूमा गहन विचार आदानप्रदान गरेको जनाइएको छ।

हाल, रुस र अमेरिकाबीच तनावपूर्ण स्थिति देखिएको अवस्थामा यो भेटवार्ता अर्थपूर्ण देखिएको छ। साथै सीले उक्त भेटलाई ‘वसन्त पर्व बैठक’ को रूपमा वर्णन गर्दै चीन-रूस सम्बन्धमा नयाँ जीवन्तता थप्ने विश्वाससमेत व्यक्त गरेका छन्। ‘हाम्रो यस भेटघाटले चीन र रुसबीचको सम्बन्धमा थप नयाँ शक्ति सिर्जना गर्ने मेरो विश्वास छ।’ दुवै पक्षले चीन र रुसबीच नयाँ युगको अन्तर्राष्ट्रिय सम्बन्ध र वैश्विक दिगो विकास सम्बन्धी संयुक्त वक्तव्य सार्वजनिक समेत गरेको छ।

यसै गरी, पाकिस्तानका प्रधानमन्त्री पनि बेइजिङ हिउँदकालीन ओलम्पिक्स उद्घाटन समारोहमा सहभागी हुनआएका थिए। उनी दुईबीच पनि द्विपक्षीय सम्बन्ध तथा बीआरआईलगायतका अरू व्यावहारिक सहयोगलाई चौतर्फी रूपमा अझै फलदायी बनाउने विषयमा छलफल भएको छ। यस्तै, अर्जेन्टिनाका राष्ट्रपतिको चीन भ्रमण क्रममा अर्जेन्टिना र चीनबीच ‘बेल्ट एण्ड रोड’ को साझा निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। जसबाट अर्जेन्टिना ‘बेल्ट एण्ड रोड’ परिवारको सदस्य बनेको छ।

हालसम्म अर्जेन्टिनासहित २० ल्याटिन अमेरिकी देशहरूले ‘बेल्ट एण्ड रोड’ को समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। विगत आठ वर्षमा चीनले करिब १५० देश र ३२ अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग ‘बेल्ट एण्ड रोड’ संयुक्त निर्माणकालागि २०० भन्दा बढी सहयोग दस्तावेजमा हस्ताक्षर गर्नुकासाथै ९० भन्दा बढी द्विपक्षीय सहयोग व्यवस्थाको स्थापना गरेको छ।

यसरी विश्वका ३२ जना सरकारप्रमुख, राष्ट्रप्रमुख तथा अन्तर्राष्ट्रिय संघसंस्थाका नेताहरूले बेइजिङ हिउँदकालीन ओलम्पिक्सको उद्घाटन समारोहमा उपस्थिति जनाउनुकासाथै महत्त्वपूर्ण राजनैतिक भेटवार्ता गरेका छन्। यस्तै समापन समारोहमा पनि विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरूले बेइजिङको यात्रा गर्ने छन्। यद्यपि, अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, भारतलगायतका केही देशहरूले बेइजिङ ओलम्पिक्सको कूटनीतिक बहिष्कार गरेका छन्।

यी देशहरूले राष्ट्रप्रमुख, सरकारप्रमुख तथा मन्त्रीलाई समेत उद्घाटन र समापन समारोहमा औपचारिक रुपमा सहभागी नगराउने घोषणा गरेका छन् तर ओलम्पिक खेलमा खेलाडी भने पठाएका छन्। तर चीनको उत्तर छिमेकी देश नेपालको सहभागिता छैन। यो दुःखद कुरा हो। नेपालले अन्तर्राष्ट्रिय मञ्चको अवसर मात्रै गुमाएन चिनियाँ राष्ट्रपतिलगायत विश्वका अरू नेतासँग पनि आदानप्रदानको अवसर गुमाएको छ।

यो भन्दा पनि दुःखद कुरा भनेको हिमाली देश नेपालमा पर्याप्त हिउँद तथा बरफ खेल खेल्ने खेलाडी नहुनु हो। हिउँदकालीन ओलम्पिक्समा सहभागी जनाउन पहिला प्रतिस्पर्धामार्फत् खेलाडी छनौट गरिने नियम छ। नेपाल ओलम्पिक कमिटीका अनुसार, नेपाली खेलाडी छनौट भएनन्, जसकारण सहभागिता छैन। विडम्बना! सर्वोच्च शिखर र आठ हजार मिटरमाथिका अधिकाँश हिमाली चुचुरा रहेको नेपाल।

चीनसँग हिमाल र नदीनालाले जोडिएको नेपालमा पनि हिउँदे खेलको विकासको सम्भावना धेरै छ। यसै गरी, हिउँदे ओलम्पिक्ससम्बन्धित खेलको विकास र खेलाडी उत्पादन सँगसँगै हिउँदे पर्यटनको विकासको सम्भावना नेपालमा प्रबल छ। यहाँनेर, चीन र नेपालबीच खेलकुद तथा हिउँदे खेलमा पनि सहकार्यको सम्भावना नकार्न सकिन्न।

राष्ट्रपति सीले फेब्रुअरी ३ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको १३९औँ पूर्ण सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन्, ‘‘संसारभरिको हिउँदे खेलको विकासकालागि अवसर सिर्जना गरेका छौँ। सन् २००८ मा आयोजित बेइजिङ ग्रीष्मकालीन ओलम्पिक्सको मुख्य नारा ‘एउटा विश्व एउटा सपना’ देखि सन् २०२२ को ‘साझा भविष्यकालागि सँगसँगै’ सम्म चीनले ओलम्पिक गतिविधिमा सक्रिय भूमिका खेल्दै निरन्तर रूपमा ओलम्पिक भावनालाई समर्थन गर्दैआएको छ।’’ उनले जोड दिँदै भने, ‘चीन ठोस कार्यबाट ओलम्पिक भावनालाई अघि बढाउन प्रतिबद्ध छ।’

साथै उनले चीन हिउँदे खेलमा पनि चुनौती दिन तयार भएको बताए। उनले भने, ‘हामी हिउँदे खेलको तयारी तथा आयोजना गर्ने क्रममा सो हिउँ र बरफ खेलकालागि सफलतापूर्वक तीस करोड चिनियाँलाई आकर्षित गर्न सफल भएका छौँ। हामीले पनि क्षेत्रीय विकास, पर्यावरणीय संरक्षण, हरित तथा नविन प्रविधि तथा उपायहरू र चिनियाँ जनताको जीवन स्तरको सुधारमा प्रगति गरेका छौँ।’

सन् २०२१ अक्टोबरसम्म चीनमा बरफ तथा हिउँ खेलमा भाग लिने मानिसको सङ्ख्या ३४ करोड ६० लाख पुगेको छ। त्यस बेला, सन् २०१४ मा रुसमा आयोजित सोची हिउँदे ओलम्पिक्समा सहभागी चिनियाँ प्रतिनिधि मण्डलसँग भेट गर्दै राष्ट्रपति सीले ‘चीनका तीस करोड जनतालाई बरफ र हिउँ खेलमा सहभागी गराउने’ इच्छा व्यक्त गरेका थिए। अहिले, बरफ तथा हिउँसम्बन्धी खेल, पर्यटन र व्यवसायको लगानी आदि क्षेत्रको चौतर्फी विकास भएको छ।

एक तथ्याङ्क अनुसार, चीनभरि ८०० बढी स्की खेलस्थलहरू छन् र २५ लाख स्की खेलाडीको सहभागिताले विश्वकै सबैभन्दा ठूलो स्की खेल्ने राष्ट्र बन्ने तरखरमा छ। साथै सन् २०२५ सम्ममा यो क्षेत्रको आर्थिक मुल्य १ त्रिलियन चिनियाँ यूआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ। चिनियाँ पर्यटन अनुसन्धान केन्द्रबाट प्रकाशित प्रतिवेदन अनुसार, सन् २०२१ देखि २०२२ सम्म चिनियाँ बरफ तथा हिउँ यात्रासम्बन्धित आम्दानी ३ खर्ब २३ अर्ब ३० करोड युआन पुग्ने सम्भावना छ।

वसन्त चाड र हिउँदे ओलम्पिक्सको अवधिमा चीनका विभिन्न क्षेत्रका हिउँदे पर्यटन क्षेत्रहरू ज्यादै लोकप्रिय भएका छन्। वसन्त चाडको सात दिने विदामा मात्र आन्तरिक पर्यटनबाट दुई खर्ब नब्बे अर्ब चिनियाँ युआन आमदानी भएको छ।

यसै गरी, थ्येनआनमन चोकमा पनि चिनियाँ परम्परागत कला ‘चिनियाँ नट’सँगै हिमकण र ओलम्पिक्सको रिङसँगै एउटा अस्थायी स्तम्भको स्थापना गरिएको छ। त्यसैगरी चोक, दोबाटो, चौबाटोमा बेइजिङ हिउँदकालीन ओलम्पिक्स र प्यारालिम्पिक्सको मस्कट देख्न पाइन्छ। सँगसँगै वसन्त चाड र हिउँदे ओलम्पिक खेलमा रमाइरहेका चिनियाँहरूमा चिनियाँ बाघ वर्षको बाघभन्दा बेइजिङ हिउँदकालीन ओलम्पिक्स मस्कट पिङ तुनतुनको लोकप्रियता चुलेको छ। हाल बजारमा पिङ तुनतुनको माग धान्न गाह्रो देखिएको छ।

जसरी बेइजिङ २०२२ ओलम्पिक्सको उद्घाटन समारोहमा चीनका ५६ जातीय समूहहरूको राष्ट्रिय ध्वजालाई हस्तान्तरण गर्दैगर्दाको उत्साहजनक दृश्य थियो। त्यस्तै, चिनियाँ खेलाडीहरूले स्वर्ण पदक जितेपछि चिनियाँहरूमा थप उल्लास छाएको छ, र अहिले बेइजिङसहित चीन ओलम्पिक रङ्गमा रङ्गिएको छ।

(हिमालप्रेसमा प्रकाशित, तस्वीर लेखक स्वयम)