चीनको ‘ल्याङ हुई’ के हो? यसमा के के हुन्छ?
2022-03-24 09:47:01cri
Share with:

------------अजय अलौकिक

विश्व अर्थव्यवस्थाको इञ्जिन चीनले वर्तमान विश्वमा आफूलाई एक महत्त्वपूर्ण तथा शक्तिशाली राष्ट्रको रूपमा उभ्याइसकेको छ। हजारौँ वर्षदेखिको संस्कृति र परम्परामार्फत विश्वलाई आकर्षित गर्दैआएको चीनले तीव्र गतिमा समग्र देशको विकास तथा समृद्धिमा मारेको फड्कोले अचम्भित् तुल्याएको छ। साथै सारा संसारसँग एउटै साझा भविष्य बोकेको मान्यतामा समग्र संसारकै विकास र शान्तिमा एकजुट हुने सन्देश प्रवाह गर्दै ‘बेल्ट एण्ड रोड’ जस्तो आर्थिक विकास मार्गको थालनीबाट विश्व जगत्मा आफ्नो छविलाई अझै शक्तिशाली बनाउँदैआएको छ।

यसै गरी, चीन र अमेरिकाबीचको व्यापार तनाव यथावत रहेकै अवस्था र विश्व परिदृश्यमा देखिरहेको परिवर्तन; शीत युद्धउन्मुख विश्व, रूस र यूक्रेनबीच जारी युद्ध सँगसँगै अर्को विश्व युद्धको जोखिम, र विश्व ध्रुवीकरणले चीनप्रति निरन्तर रूपमा विश्वको चासो बढ्दैआएको छ। यसै सन्दर्भमा, दोस्रो आर्थिक शक्ति तथा पछिल्लो समय विश्वमा प्रभावकारी भूमिका खेल्दै आएको चीनको वार्षिक अधिवेशनप्रति विश्‍वको ध्यान आकृष्ट हुनु नौलो रहेन।

अहिले चीनमा यही वार्षिक अधिवेशन हुन गइरहेको छ। हरेक वर्ष मार्च महिनामा चीनमा दुई महत्त्वपूर्ण अधिवेशन क्रमशः चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको अधिवेशन र चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको अधिवेशन हुने गर्दछ। मूलतः एकै समयमा आयोजना हुने यी दुई अधिवेशनलाई समग्रमा ‘ल्याङ हुई’ भन्ने गरिन्छ।

यो ‘ल्याङ हुई’ चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन (सीपिपिसिसी) र राष्ट्रिय जन काङ्ग्रेस (एनपिसी) को अधिवेशनमा करिब ५ हजार प्रतिनिधिले भाग लिने गर्छन्। सीपिपिसिसी अधिवेशनमा राजनैतिक, आर्थिक तथा सामाजिक विषयमा परामर्श, अनुगमन तथा नीति-नियम निर्माण र प्रस्तावहरू प्रस्तुत गर्ने गरिन्छ। अधिवेशनको क्रममा सीपिपिसिसीका सदस्यहरूले प्रस्तुत गरेको प्रस्ताव पारित गर्न बाध्यकारी छैन र फेरबदल वा परिवर्तन गर्नसकिन्छ भने यता एनपिसीले अघि सारेको प्रस्तावलार्इ अंगीकरण गरेपछि त्यो कानूनी रूपमा नै अकाट्य तथा अपरिवर्तनीय हुन जान्छ। तसर्थ एनपिसीबाट पारित भएपछि मात्र कानूनी आधार प्राप्त गर्दछ।

यो ‘ल्याङ हुई’ मार्फत चीनको आर्थिक, सामाजिक, वैदेशिक, कूटनैतिक तथा सामरिक र रणनीतिक कदमलगायतका विविध विषय र क्षेत्रकालागि बनाइने योजना र लक्ष्य, नीतिगत समीक्षा, नीति परिमार्जन तथा नयाँ नीति अनुमोदनसँगै लागू गरिने विषयले विश्‍वभरि स्वभाविक रूपमा प्रत्यक्ष, परोक्ष प्रभाव पार्ने गर्दछ। यसै ‘ल्याङ हुई’ का कारण फेरि एक पटक सारा विश्वको आँखा चीनतर्फ केन्द्रीत हुँदैछ। यहाँले ‘ल्याङ हुई’ त बुझ्नुभयो, अब यो ‘ल्याङ हुई’ भित्रका दुई निकायबारे पनि जानकारी राख्नुस्।

 

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको परिचय

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन अर्थात् चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपिपिसिसी) राजनीतिक परामर्श गर्ने महत्वपूर्ण संस्था हो। साथै यो चीनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो। यो सीपिपिसिसीमा चीनभरिकै विभिन्न वर्ग, क्षेत्र, समुदायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको हुन्छ। विविध क्षेत्रका विज्ञ, कलाकार, खेलाडी र विभिन्न पेशामा आबद्ध किसान, सर्वसाधारणदेखि विभिन्न निकाय तथा विविध पार्टीको सहभागिता हुने गर्दछ। दुई हजार बढीको संख्यामा रहेका सदस्यहरूले यावत विषयमा छलफल तथा परामर्श गर्छन्।

यो सीपिपिसिसी नयाँ चीन स्थापना हुनुअघि चिनियाँ कम्युनिस्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु तथा स्वतन्त्र व्यक्तिहरु र विभिन्न जन सङ्गठनहरु मिलेर संयुक्त रुपमा स्थापना गरिएको हो। नयाँ चीन स्थापनापछि सन् १९४९ को सेप्टम्बरमा यसको पहिलो पूर्ण बैठक बेइजिङमा आयोजना भएको थियो। सोही बैठकले जन गणतन्त्र चीन स्थापनाको घोषणा गरेको थियो। साथै माओ च तोङ अध्यक्ष रहेको केन्द्रीय जन सरकार र राजनीतिक परामर्शदातृ सम्मेलनको पहिलो राष्ट्रिय समितिको निर्वाचन पनि गरेको थियो।

चीनको राजधानी, राष्ट्रिय झण्डा, रेनमिनबीको स्वरूपमा राष्ट्रिय मुद्रा र सरकारी कामकाजमा इस्वी संवत्को प्रयोग सम्बन्धी निर्णय समेत सोही बैठकले गरेको थियो। सन् १९५४ मा चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था अर्थात राष्ट्रिय जन काङ्ग्रेस (एनपिसी) को स्थापना अघिसम्म सीपिपिसिसी चीनको सर्वोच्च निकायको रूपमा रहेको थियो। यद्यपि यसले वर्तमानमा पनि राजनीतिक परामर्श गर्ने महत्वपूर्ण संस्थाको परिचय बोकेको छ।

 

चीनको सर्वोच्च संस्था राष्ट्रिय जन काङ्ग्रेसको परिचय

चीनको राष्ट्रिय जन काङ्ग्रेस राज्य-सत्ताको सर्वोच्च निकाय हो। यो चीनको मूलभूत राजनीतिक व्यवस्था हो। चीनको संविधानमा राष्ट्रिय जन काङ्ग्रेसलाई देशको सर्वोच्च आधिकारिक संस्थाको रुपमा स्थापना गरिएको छ। चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसमा चीनका विभिन्न प्रान्त, स्वायत्त प्रदेश र केन्द्रशाषित सहर र जनमुक्ति सेनाका प्रतिनिधिहरु रहने व्यवस्था छ र झण्डै ३ हजारको हारारहारीमा प्रतिनिधिहरू रहेका छन्।

जनताले राज्य-सत्ता संचालन गर्ने अङ्ग राष्ट्रिय जन काङ्ग्रेस हो तथा विभिन्न तहका स्थानीय जन काङ्ग्रेसहरु हुन्। राष्ट्रिय जन काङ्ग्रेस तथा विभिन्न तहका स्थानीय जन काङ्ग्रेसको मनोनयन प्रजातान्त्रिक निर्वाचनका माध्यमबाट गरिन्छ। तिनीहरु जनताप्रति उत्तरदायी हुन्छन् र तिनको जनताद्वारा अनुगमन समेत गरिन्छ।

राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक सम्मेलनमा प्रतिनिधिहरुले सरकारी कार्य-प्रतिवेदन र अन्य महत्त्वपूर्ण प्रतिवेदनको सुनुवाइ गर्दछन्। यी प्रतिवेदनको लेखाजोखा गर्नुका साथै सम्बन्धित निर्णय-प्रस्ताव पनि प्रस्तुत गर्दछन्। त्यस अवधिमा जन काङ्ग्रेसको स्थायी समितिले काङ्ग्रेसद्वारा दिइएको अधिकारको कार्यान्वयन गर्दै राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको हक-अधिकारका बारेमा संविधानको व्याख्या गर्ने, संविधानको कार्यान्वयनको अनुगमन गर्ने, पूर्ण बैठकद्वारा तर्जुमा गरिएका कानून बाहेक अरु कानूनहरुको तर्जुमा र संशोधन गर्ने र राष्ट्रिय जन काङ्ग्रेसप्रति जिम्मेवार हुने र त्यससमक्ष कार्य-प्रतिवेदन पेश गर्ने आदि गर्छन्।

चीनको राष्ट्रिय जन काङ्ग्रेसको आधारभूत अधिकारमा कानून निर्माणको अधिकार, अनुगमनको अधिकार, महत्त्वपूर्ण घटना सम्बन्धमा निर्णयको अधिकार र महत्त्वपूर्ण पदहरुमा नियुक्ति र पदच्युतको अधिकार आदि समावेश छन्।

चीनमा अठार वर्ष उमेर पुगेका नागरिकहरुमा आफ्ना प्रतिनिधि छान्ने अधिकारका साथै आफै उम्मेद्वार बन्ने अधिकार पनि छ। चीनका विभिन्न तहका जन काङ्ग्रेसहरुमध्ये गाउँ र जिल्लास्तरीय प्रतिनिधिहरुको निर्वाचन प्रत्यक्ष निर्वाचनका आधारमा गरिने व्यवस्था छ। यसभन्दा माथिल्ला तहका प्रतिनिधिहरुको निर्वाचन भने अप्रत्यक्ष रुपमा गर्ने परिपाटी छ। विभिन्न तहका जन काङ्ग्रेसको कार्यावधि पाँच वर्षको हुन्छ। ती जन-प्रतिनिधिहरुको पूर्ण राष्ट्रिय सम्मेलनको आयोजना हरेक वर्ष एक पटक गरिन्छ। सातौँ राष्ट्रिय जन काङ्ग्रेस सम्मेलनदेखि हरेक वर्ष सम्मेलनको आयोजना मार्च महिनाको ५ तारिखदेखि हुँदैआएको छ।

यसरी, हरेक वर्ष मार्चको पहिलो साताबाट आयोजना हुँदैआइरहेका यी दुई अधिवेशन ‘ल्याङ हुई’ सन् २०२० मा २० वर्षयता पहिलो पटक दुई महिनापछि मै २१ र मै २२ मा आयोजना भएको थियो। सन् १९९८ यता यी दुई अधिवेशनको आयोजनाको मिति मात्रै परिवर्तन भएको थिएन अधिवेशनको अवधि पनि छोट्याइएको थियो। कोभिड-१९ महामारीको प्रतिरोध र नियन्त्रणको पृष्ठभूमिमा दुई अधिवेशन मै २१ बाट शुरू भइ मै २८ मा ८ दिनभित्र सम्पन्‍न भएका थिए। कतिपय बैठक, कार्यक्रम तथा पत्रकार सम्मेलनहरू इन्टरनेट तथा भिडियोमार्फत आयोजना गरिएको थियो। जुन अधिवेशनको इतिहासमै पहिलो पटक थियो र यही परिपाटीलाई यस वर्ष पनि पछ्याउने भएको छ।

 

यस पटकको ‘ल्याङ हुई’ मा के के हुन्छ?

यस वर्ष, यही मार्च ४ र ५ तरिखबाट क्रमशः चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन र तेह्रौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौँ अधिवेशन हुन गइरहेका छन्। जुन हप्ता, दश दिनसम्म चल्ने छ। यस क्रममा, यहाँ तेह्रौँले पाँच वर्षे कार्याअवधिको एक चक्र भन्ने बुझाउँछ भने पाँचौँ अधिवेशनले कार्यावधिको अन्तिम वर्ष भन्ने बुझाउँछ।

यस पटकको अधिवेशनमा सामाजिक सुरक्षा, सामाजिक सुशासन, विधिको शासन, कडाइका साथ पार्टी सञ्चालन, जन गणतन्त्रको समग्र प्रक्रिया, ग्रामीण जीवनको उच्च विकास, स्वस्थ चीन, र राष्ट्रिय सुरक्षाका विषयहरूलाई विशेष महत्त्व दिने देखिन्छ। ‘पिपल्स डेली’ ले गरेको इन्टरनेट तथा विविध सर्भेक्षणको नतिजा अनुसार चिनियाँ जनताले यी विषयको उत्थान गरेका छन्।

यस बाहेक, आर्थिक क्षेत्रको सुदृढिकरण, वृद्ध जनसङ्ख्या, रोजगार, शैक्षिक सुधार, खाद्यान्न तथा औषधिको सुरक्षा, कोरोनाभाइरस (कोभिड-१९) को पूर्ण नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, डिजिटल क्षेत्रको विकास तथा डिजिटल करेन्सीको प्रयोग, नवप्रविधिको अनुसन्धान तथा विकास, सडक र यातायातको विकास, अन्तरिक्ष अन्वेषण, गुणस्तरीय उत्पादन र शक्तिशाली आधुनिक समाजवादी देशको निर्माणका लक्ष्य लगायतका विषयमा विचार विमर्श तथा नीति नियम निर्माण हुने छन्।

यस पटकको अधिवेशनले चीनको चौधौँ (२०२१-२०२५) पञ्च वर्षीय योजनालाई पछ्याउँदै सम्पन्‍न समाजको निर्माणपछि पूर्ण रुपमा शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माण गर्ने चीनको दोस्रो शताब्दी लक्ष्यतिर अघि बढ्ने खाकालाई अझै मजबूत बनाउने छ। यसै गरी, चिनियाँ रक्षा बजेट विश्वको दोस्रो ठूलो रक्षा बजेट हो, चीनको सामरिक नीति तथा सैन्य बजेटतर्फ चीनको योजना र लक्ष्य बुझ्न अबका केही दिन विश्वले चीनप्रति विशेष चासो दिने छ।

त्यसै गरी, छिमेक तथा परराष्ट्र नीति, जलवायु परिवर्तन, वातावरण संरक्षण, प्रदूषण, खुलापन तथा सुधार, वैदेशिक लगानी, विज्ञान तथा नवप्रविधि, अन्तरिक्ष अन्वेषण, बेल्ट एण्ड रोड सम्बन्धमा यी अधिवेशनले चाल्ने कदम तथा पारित गरिने नीति तथा कार्यक्रममा विश्वको ध्यान चीनतर्फ सोझिने छ।

यसरी, यो ‘ल्याङ हुई’ को क्रममा गत वर्षको सरकारी कार्य प्रगति प्रस्तुतसँगै आगामी वर्षका लागि विषयगत मन्थन, समीक्षा, बहस, योजना र नीति तथा वार्षिक कार्ययोजना र बजेट तर्जुमाकासाथै लक्ष्य निर्धारण र कार्यान्वयनकालागि मार्ग प्रशस्त गर्दै नीति नियमहरू पारित हुने भएकाले अबको सात, दश दिन विश्वको ध्यान बेइजिङमा केन्द्रीत हुने छ।

व्यापार तथा लगानी, भौतिक संरचना र पूर्वाधार निर्माण, जलस्रोत, ऊर्जा र पर्यटन लगायतका क्षेत्रमा चीनसँग सहकार्य र सहयोग लिइरहेको नेपालले चीनमा लागू हुने नीति-नियम तथा छिमेकी मुलुकप्रतिको कूटनीति तथा वैदेशिक आर्थिक नीतिसम्बन्धमा चीनको यो ‘ल्याङ हुई’ बारे चासो राख्नु हितकर हुने छ।

(हिमालप्रेसमा २०, फागुन २०७८ मा प्रकाशित)