१३ हिमाल आरोहणका लागि १६ समूहलाई अनुमति
2022-03-29 15:55:04cri
Share with:


यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि आरोहीले अनुमति लिन थालेका छन् । अहिलेसम्म १३ वटा हिमाल आरोहणका लागि १६ वटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार सोमबारसम्म १६ समूहका १ सय २८ जनाले आरोहण अनुमति लिएका छन्, जसमा ३२ महिला र ९६ पुरुष रहेका छन् ।

आरोहण टोलीबाट सरकारले २ करोड ६५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार रुपैयाँ तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ ।

यसैबीच विभागले सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहण सम्बन्धी विभिन्न गतिविधिलाई थप मर्यादित र व्यवस्थित बनाउन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा ७ सदस्यीय समन्वय तथा सहजीकरण समिति गठन गरेको छ । सो समितिले यो सिजनमा हुने हिमाल आरोहणको सहजीकरण गरी आरोहणलाई व्यवस्थित गर्न सहयोग गर्ने विभागका निर्देशक तथा प्रवक्ता मोहनबहादुर जिसीले बताउनुभयो। समितिले आरोहणको समयमा हुने फोहोरमैला व्यवस्थापन तथा आरोहीको स्वास्थ्यमा हुने समस्याको निराकरण गर्न सहयोग गर्नेछ । साथै सगरमाथा आरोहणमा हुने अव्यवस्थित भीड नियन्त्रण तथा स्वास्थ्य सुरक्षाको सहजीकरण गर्ने प्रवक्ता जिसीले बताउनुभयो कारोबार अनलाइनका अनुसार पछिल्लो समय कोभिड१९का कारण सुस्ताएको आरोहणले यस वर्ष गति लिने देखिएको छ।