हिमाली क्षेत्र मुस्ताङमा पर्यटकको चाप बढ्दो
2022-03-31 16:20:40cri
Share with:

हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ। स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ ।

 

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनीजोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ।

 

विगत दुई वर्षयता कोभिड१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन्। विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका कारण पर्यटक जान नपाएको भए पनि यस वर्ष घुम्ने मौसम सुरु भएको छ भने कोभिडको जोखिम कम हुँदै गएको छ।

चैतेदसैँ नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको  मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ । मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम सुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भीड बढ्न थालेको जोमसोमका तीर्थबहादुर शेरचनको भनाइ छ।