रासायनिक मल कारखाना स्थापना गर्ने गृहकार्य
2022-04-02 16:22:21cri
Share with:

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५० औं बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि अनुमति दिने निर्णय गरेको छ।  बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी पनि स्वीकृति गरेको छ।

बैठकले तल्लो अरुण जलविद्युत परियोजना (६६९मेवा) को प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन पनि स्वीकृत गरेको कारोबार अनलाइनले जनाएको छ। माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निमित्त बोर्ड बैठकमा पेश गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत परियोजनाबाट प्राप्त हुने निःशुल्क ऊर्जा बिक्री तथा सो बाहेकको अतिरिक्त उर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गरी बोर्डसमक्ष प्रतिवेदन पेश गर्न आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई छुट्टा छुट्टै अध्ययन समिति गठन गरेको छ। लगानी बोर्ड कोष स्थापना सम्बन्धी तथा सार्वजनिक निजी साझेदारी अवधारणाको अवधारणापत्र स्वीकृत गरी सो सम्बन्धी आवश्यक कानूनी तथा संस्थागत व्यवस्थाका लागि लगानी बोर्डको कार्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको पनि जनाएको छ।