चार वर्षपछि दिल्लीसँग नेपालको न्यानो संवाद
2022-04-03 15:39:51cri
Share with:

भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुभएको छ। हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्तामा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन र सहकार्यलाई फराकिलो बनाउन सहमत हुनुभएको छ।

 

नेपाल भारतबीच अल्झिएका विषयलाई आपसी विश्वास र हितका आधारमा समाधान खोज्दै दुई पक्षीय सम्बन्ध र सहयोगलाई थप बलियो बनाउने सहमति भएको छ ।दुई प्रधानमन्त्रीबीच मात्रको प्रत्यक्ष वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच पनि सामूहिक छलफल भएको थियो । हैदरावाद भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीहरूले संयुक्त रूपमा सम्बोधन गर्नुभएको गोरखापत्रले जनाएको छ

 

हैदरावाद वार्तामा प्रधानमन्त्री देउवाले सीमा समस्याका समाधानका लागि संयुक्त संयन्त्रको प्रस्ताव गर्नुभएको थियो र त्यसमा मोदीले सकारात्मक प्रतिक्रिया जनाउनुभएको थियो । दुई प्रधानमन्त्रीबीचको वार्ता सीमा समाधान, सुरक्षा चासो, ऊर्जा विकासको साझेदारी र सहकार्य एवं आर्थिक विकासका लागि सम्पर्क सञ्जाल बढाउने विषयमा केन्द्रित थियो। शीर्ष वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पारस्परिक हितलाई ध्यानमा राख्दै सहयोग र सहकार्यलाई विस्तार गर्ने सम्बन्धम भारतीय प्रधानमन्त्री मोदीसँग सकारात्मक छलफल भएको बताउनुभयो ।

भारतका प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच विशिष्ट प्रकारको मित्रता रहेको बताउँदै भन्नुभयो, “नेपालभारतबीच जुन दोस्ती छ, त्यो दुनियाँमा अन्यत्र छैन । मोदीले नेपालको विकास यात्रमा सहयोग गर्न भारत सधैँ तयार र सकारात्मक रहेको बताउँदै ऊर्जा, सूचना प्रविधि, यातयात, व्यापारको क्षेत्रमा सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिनुभयो । ऊर्जा विकासको सहकार्य र साझेदारीका लागि दुई देशले संयुक्त भिजन पेपर बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पनि राख्नुभएको थियो ।

 

उहाँले नेपालले विद्युत् उत्पादन गरेर भारतलाई बेच्न सक्ने बताउँदै भन्नुभयो, “नेपालको विद्युत् हामी किन्छौँ । विद्युत् वा ऊर्जा निर्यात गरेर नेपाल प्रगति गर्नसक्छ ।मोदीले पञ्चेश्वर परियोजनाको कार्यान्वयनलाई गति प्रदान गर्न भारत तयार रहेको बताउँदै भन्नुभयो, यसबारेमा प्रधानमन्त्री देउवासँग ठोस छलफल भएको छ । मोदीले केही अवाञ्छित तत्वहरूले खुला सीमाको दुरुपयोग नगरून् भन्नेबारे दुवै पक्ष सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच नेपालले जारी गरेको नक्सा प्रकरणपछिको झन्डै चार वर्षपछि दिल्लीमा दुवै देशका प्रधानमन्त्री तहमा यसरी वार्ता भएको । २०१८ मार्चमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । त्यसपछि दिल्लीले नेपालबाट उच्चस्तरको औपचारिक भ्रमणलाई आमन्त्रण गर्न खासै इच्छा देखाएको थिएन । खासगरी नयाँ नक्सा प्रकरणपछि नेपाल र भारतबीचको सम्बन्धमा अलि चिसोपना बढेको हो । २०१९ नोभेम्बरमा नेपालको भूभाग लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले एकपक्षीय रूपमा नयाँ नक्सा सार्वजनिक गरेको थियो ।