भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
2022-04-03 15:44:31cri
Share with:

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्नुभएको छ । तीनदिने भारत भ्रमणको क्रममा शनिबार भारतको कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि आफूले वातावरण बनाउने बताउनुभयो । उहाँले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

 

पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको बताउँदै उहाँले यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ, त्यसका लागि आफूहरू तयार रहेको बताउनुभयो । सहजीकरणका लागि महासङ्घमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको उहाँले जानकारी गराउनुभयो ।अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताउनुभयो ।कार्यक्रममा सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताउनुभयो।