ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’मा व्यस्त
2022-04-04 16:13:11cri
Share with:

ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ। हिमाली बस्तीका किसान हिमपात रोकिएसँगै आलु रोपाइँमा लागेका हुन्। समुद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएका फक्ताङलुङ गाउँपालिका–६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिनु भएको नेपाल भ्युज अनलाइनले लेखेको छ।

उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन। जिल्लाको हिमाली बस्ती ओलाङचुङगोला चार हजार २०० मिटर उच्चाइमा अवस्थित याङ्मा, फले, क्याप्लालगायत क्षेत्रमा बसोबास गर्ने किसानको आलु मुख्य खेती हो। एक घर परिवारले २० मुरी (२० पाथीको एक मुरी) अर्थात् एक हजार ६०० केजीसम्म आलुको बीउ रोप्ने गरेको शेर्पाले बताउनुभयो। दश मुरी आलु रोपाइँ गर्दा ९० मुरीसम्म आलु उत्पादन हुने स्थानीय बताउँछन्।

हिमाली क्षेत्रमा हिमपात हुन रोकिएपछि आलु रोपाइँको चटारो लाग्ने गर्दछ। चैत महीनामा रोपेको आलु असोज महीनामा खन्ने गरिन्छ। घुन्सा र याङ्मा क्षेत्रलाई आलु बीउको भण्डारणको रुपमा लिन गरिन्छ। यस क्षेत्रमा उत्पादन भएको आलु मंसीर र पुस महीनामा आलु व्यापारका लागि घुन्सा क्षेत्रमा उत्पादन भएको आलु याकमार्फ ढुवानी गरेर एक दिन लगाएर फले क्षेत्रमा भण्डारण गर्ने गर्दछ। उता याङमा क्षेत्रमा उत्पादन भएको आलु दुई दिन लगाएर चेने भन्ने ठाउँमा भण्डारण गर्ने गर्दछ। चेनेमा फक्ताङलुङ गाउँपालिकाले आलु भण्डारणका लागि संरचनासमेत निर्माण गरेको छ।

आलुको बीउ लिनका लागि फक्ताङलुङ गाउँपालिका तल्लो क्षेत्रका किसान, फुङ्लिङ नगरपालिकालगायतका क्षेत्रका किसान तीन÷चार दिन पैदलयात्रा गरेर आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दछन्।

तल्लो क्षेत्रका किसानले कोदो, मकैजस्ता अन्न लिएर आलु बीउ साट्न आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दछन्। तल्लो क्षेत्रका किसान आलु भण्डारण क्षेत्रमा पुगेर कोदो र आलु साटासाट गर्ने गर्दछन्।

आलु भण्डारणको रुपमा रहेको याङमा, घुन्सा, फले क्षेत्रमा गएको दुई वर्षदेखि आलु उत्पादनान ह्रास आएको घुन्साका किसान टासी तेन्जिङले बताए। विगतका वर्षहरुमा आलुको हब बनेको याङमा र घुन्सा क्षेत्र दुई वर्षयता आलु उत्पादनमा कमी आउन थालेको छ। आलु उत्पादनमा ह्रास आउन थालेसँगै आलुको बीउ जोगाउन नै मुस्किल हुँदै आएको स्थानीयको भनाइ छ।

विगतका वर्षमा याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु बीउ जिल्लाको धेरै क्षेत्र खेती हुने गर्दथ्यो तर आलु उत्पादनमा ह्रास आउन थलेसँगै याङ र घुन्सा क्षेत्रमा मात्र सीमित हुँदै गएको शेर्पाले बताउनुभयो। “आलु उत्पादनमा कमी आउन थालेको दुई वर्ष भयो। यहाँ उत्पादन भएको आलु बीउ जोगाउन मुस्किल भएको छ। तरकारी खानको लागि मधेशको आलु ल्याएर खाँदै आएका छौँ,” शेर्पाले भन्नुभयो, “आलु बीउको भण्डारण क्षेत्र याङमा र घुन्सा क्षेत्रमा आलु उत्पानमा ह्रास आएसँगै तल्लो क्षेत्रका किसानमा प्रत्यक्ष असर पुगेको छ।”

याङमा र घुन्सा क्षेत्रका समुदायको प्रमुख खेतीको लागि पुस्तौँदेखि आलु खेती गर्दै आएको हो तर आफूले कुन जातको आलुखेती गर्दै आएको हो भन्ने आफूलाइ थाहा नभएको घुन्साको किसान पेमा शेर्पाले बताउनुभयो।

“हामीले पहिलेदेखि खेती गरेको आलु रातो र सरकारी आलु (सेतो) आलु र पछि एक जनाले सोलुखुम्बु जिल्लाबाट एक पाथी आलुको बीउ ल्याएको थियो। आहिले त्यस आलुलाई सोलु आलु भन्ने गरेको छ,” उहाँले भन्नुभयो।

स्थानीय आफैँले राखेको नाम हो रातो आलु, सेतो आलु र सोलुखुम्बु जिल्लाबाट ल्याएको सोलु आलु भनेर। दुई वर्षदेखि निरन्तर आलु उत्पादन ह्रास आइरहेको छ तर के कारणले याङमा क्षेत्र र घुन्सा क्षेत्रमा उत्पादनमा ह्रास आएको हो पहिचान हुन नसकेको स्थानीय शेर्पाले बताउनुभयो।

स्थानीय तहमै कृषि प्रविधिक पर्याप्त भए पनि अहिलेसम्म के कारणले आलु उत्पादनमा ह्रास आएको हो चासो नदिएको स्थानीयको भनाइ रहेको छ। आलु बीउको भण्डारणको रुपमा रहेको याङमा र घुन्सा क्षेत्रमा स्थानीय सरकारले पनि कुनै योजना र चासो नदिएको स्थानीयको गुनासो छ।

फक्ताङलुङ गाउँपालिकाभित्र कुनकुन जातको आलु खेती हुँदै आएको छ, र कति परिमाणमा आलु उत्पादन हुन्छ भन्ने तथ्याङ्क नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख प्रशान्त शर्माले बताउनुभयो। शर्माका अनुसार आलु उत्पादनको तथ्याङ्क सङ्कलनका लागि बजेट विनियोजन भएको छ तर तथ्याङ्क सङ्कलन गर्ने काम बाँकी छ।