काठमाडौंमा दुई दिने नेपाल लगानी सम्मेलन–२०२२’सुरु
2022-04-11 16:23:46cri
Share with:

काठमाडौंमा दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु भएको छ। जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनले नेपालमा लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। सफल नेपाली लगानीकर्ताका अनुभव र विचारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक जानकी ग्लोबल फाउण्डेशनकी फाउण्डर जानकी गुरुङले बताउनुभयो।

 

नेपालको राष्ट्रिय शक्ति आर्थिक विकासमा उच्च आर्थिक वृद्धिका लागि स्वदेशी पुँजीले मात्रै नपुग्ने जनाउँदै उहाँले विदेशको सार्वजनिक र निजी लगानी नेपाल भित्र्याउँदा लगानीको प्रत्याभूति हुन आवश्यक रहेकोमा समेत जोड दिनुभयो।

 

नेपाल ग्रिनइनर्जी पावरहाउस बन्न सक्ने बताउँदै उहाँले स्वास्थ्य, शिक्षा तथा खेलकुदका पूर्वाधारमा समेत लगानीको सम्भावना रहेको बताउनुभयो। यस्ता सम्मेलन नेपालमा लगानी भित्र्याउन कोसेढुंगा साबित हुने बताउँदै उहाँले नेपालको ऊर्जा, पर्यटन, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा लगानीको अधिक सम्भावना रहेको जनाउनुभयो।

 

त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिका निर्देशक शोभा ज्ञवालीले व्यापार घाटाका कारण अर्थतन्त्रमा गम्भीर संकट परेको समयमा निर्यातको तुलनामा आयात १२ गुणा रहेको जनाउनुभयो।

अहिले स्वदेशी तथा विदेशी लगानीका लागि अनुकुल वातावरण बनेको जनाउँदै ज्ञवालीले औद्योगिकीकरण, निर्यात वृद्धि र आयात प्रतिस्थापनका लागि विदेशी लगानी र प्रविधिको खाँचो रहेको बताउनुभयो।  यस्ता सम्मेलनले सरकार, नेपालको निजी क्षेत्र तथा विदेशको सार्वजनिक र निजी क्षेत्रबीच बहुपक्षीय सञ्जाल बनाउन महत्वपूर्ण अवसर दिने उहाँको भनाइ छ। नेपाल लगानीको प्रतिफलका लागि विश्वकै उत्कृष्ट गन्तव्य रहेको जनाउँदै उहाँले विकासका लागि सार्वजनिक क्षेत्रको लगानी मात्रै पर्याप्त नरहेकाले निजी लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो। कृषिप्रधान मुलुकमै सबैभन्दा धेरै कृषि उपज आयात गर्नुपरेको छ। यसले एकातिर हाम्रा जमिन बाँझै बस्ने र अर्कातर्फ दैनिक उपभोगका निम्ति आयात गर्नुपर्ने अवस्था छ। यसले हाम्रो उत्पादकत्व र उद्यमशीलतामै चुनौती उत्पन्न भएको छ।’ उहाँले भन्नुभयो।

 

सम्मेलनमा बोल्दै हाइड्रो सोलुशनका अध्यक्ष तथा ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले नेपालमा साक्षरता बढ्दै गएको र गरिबी घट्दै गएको अवस्थामा कृषिमा आधारित अर्थतन्त्रलाई अघि बढाउँदै दिगो र भरपर्दो लगानीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

 

त्यस्तै कार्यक्रममा बोल्दै इजराइलका लागि पूर्व राजदूत अन्जान शाक्यले बाह्य देशसँगको परम्परागत सम्बन्धमा सुधार ल्याउँदै आर्थिक र आधुनिक सम्बन्धमा जोड दिनुपर्ने बताउनुभयो।

त्यस्तै, सानिमा बैंकका पूर्व सिईओ भुवन दाहालले वाणिज्य बैंकहरूमा सुधारको खाँचो रहेको औंल्याउनुभयो।