चीनको चासो र सन्देश
2022-04-14 10:04:17cri
Share with:

--------अजय अलौकिक


चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी दक्षिण एसियाको साताव्यापी भ्रमण गरी स्वदेश फर्किसकेका छन्। उनी फर्केलगत्तै मार्च ३० मा एक सम्मेलनमा सहभागी हुनआएका रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभसँग भेटवार्ता गरे।छिमेकी मुलुक मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरे। जसमा पाकिस्तान, इरान, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान गरी छ देशका विदेशमन्त्री र प्रतिनिधिले भाग लिएका थिए।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलाई दुई मैत्रीपूर्ण देशको सच्चा मित्रता बीचको ऐतिहासिक भ्रमणको रूपमा उल्लेख गरिएको छ। वाङले नेपालको तीनदिने भ्रमणअघि पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरेका थिए। उनको दक्षिण एसियाली क्षेत्रको भ्रमण आन्तरिक वा बाह्य प्रभावमात्र नभएर वर्तमान परिप्रेक्ष्यमा दक्षिण एसिया बुझ्न आएको प्रतीत हुन्छ।

रुस-युक्रेन युद्धको संकटले विश्व शान्ति र विकासमा नयाँ चुनौती थपिरहेको बेला चिनियाँ पक्षबाट दक्षिण एसियाली मुलुकको भ्रमण भएको हो। साथै भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले चीनको चासो र सन्देशको सम्बोधन गरेका छन्।

विश्वमा उथलपुथल भएर दरार उत्पन्न भए पनि, नयाँ-नयाँ परिवर्तन सामुन्ने आए तापनि क्षेत्रीय शान्ति, स्थायित्व र विकासको संयुक्त रूपमा रक्षा गर्न उनले आह्वान गरेको देखिन्छ। वाङले चीनको विकासले थप शक्तिशाली शान्ति बल थप्ने, विकासोन्मुख देशहरू र विशेषगरी चीनका छिमेकीहरूका लागि विकासका नयाँ अवसर ल्याउने बताएका छन्।

उनले नेपाल आएर अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भए पनि र जतिसुकै चुनौती आए पनि चीन नेपालप्रतिको मैत्रीपूर्ण नीतिमा अडिग रहने बताएका थिए। ‘विश्व अराजकता र परिवर्तनले भरिएको हुँदा दुवै पक्षले यस क्षेत्रमा शीत युद्धको मानसिकताको पुनरुत्थानबाट जोगिनुपर्छ,’ उनले भने, ‘क्षेत्रीय शान्ति, स्थायित्व र विकासको संयुक्त रक्षा गर्नुपर्छ।’

साथै, विदेशमन्त्री वाङले चीन फर्केर दक्षिण एसियाको भ्रमणले चीन र दक्षिण एसियाली देशहरूबीचको परम्परागत मित्रतालाई सुदृढ बनाएको, आपसी समझदारीलाई प्रगाढ बनाएको, रणनीतिक पारस्परिक विश्वासलाई गहन बनाएको, सहयोगका प्रमुख दिशा र क्षेत्र स्पष्ट गरेको र नयाँ परिस्थितिमा एकता, समन्वय र साझा विकासका लागि व्यापक सहमति जुटाएको बताएका छन्।

दक्षिण एसियाली देशहरूले कडा मेहनत गरी ल्याएको शान्ति कायम राख्न,  महामारीपछिको आर्थिक पुनरुत्थानलाई तीव्रता दिन,  रणनीतिक सम्पर्कलाई सुदृढ पार्न र चीनसँग पारस्परिक रूपमा लाभकारी सहयोगलाई गहन बनाउन आशा राखेको कुरा आफूले महसुस गरेको उनले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन्।

 

साझेदारी र विकासका लागि पाकिस्तान भ्रमण

चिनियाँ विदेशमन्त्रीले आफ्नो दक्षिण एसियाको भ्रमण पाकिस्तान (मार्च २१- २४) बाट सुरु गरेका थिए। विदेश मन्त्रीस्तरीय इस्लामिक सहयोग संगठन (ओआईसी) परिषद्को ४८औँ बैठकमा भाग लिन आएका वाङले उक्त बैठकको नारा ‘एकता, न्याय र विकासका लागि साझेदारी’ भने जस्तै वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा यी चारवटै शब्दको विशेष महत्व रहेको उल्लेख गरेका थिए।

उनले आफ्नो भ्रमणको उद्देश्य ‘साझेदारी’, ‘एकता’, ‘न्याय’ र ‘विकास’ का लागि भएको उल्लेख गरे। अन्तर्राष्ट्रिय प्रणाली र सम्बन्धका आधारभूत मान्यताहरूले गम्भीर चुनौतीको सामना गर्नुपर्न वाङले बताएका थिए। ‘कोरोना महामारीको सामना गर्दा चीन र इस्लामिक विश्वले अझ एकताबद्ध हुँदै साझा हितको रक्षा गर्न आवश्यक छ,’ उनले भने, ‘सबै देशहरूको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय मर्यादाको रक्षा गर्न, संयुक्त राष्ट्र संघको बडापत्र र उद्देश्यहरूलाई समर्थन गर्न, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा निष्पक्षता तथा न्यायलाई पछ्याउँदै उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यको प्रवद्र्धन गर्न जरुरी छ।’

सम्बन्धित विकास र पुनरुत्थानलाई गति दिन र विश्व अर्थतन्त्रको पुनरुत्थान गर्न उचित योगदान दिन चीन तयार रहेको उनले बताएका थिए। उक्त बैठकमा चीनको पहिलो सहभागिता थियो। ओआईसीको संस्थापक सदस्य रहेको पाकिस्तानसँग मिलेर चीनले इस्लामिक देशहरूलाई विशेष महत्व दिएको प्रष्ट झल्किन्छ। इस्लामिक देशसँगको सम्बन्धलाई सुदृढ बनाउन, ऐक्यबद्धता, मित्रता र सहयोगलाई नयाँ उचाइमा पुर्‍याउन चीन तयार रहेको सन्देश हो।

यसबाहेक मन्त्री वाङले दुईपक्षीय वार्तामा पाकिस्तानको आर्थिक प्रगतिको लागि महत्वपूर्ण इन्जिनको रूपमा लिइएको चीन-पाकिस्तान इकोनोमिक करिडोर सीपेकको चर्चा गरे। यसले पाकिस्तानको आर्थिक वृद्धिमा मद्दत गर्ने उनले बताए।

 

अफगानिस्तानले बुझेको छ चीनको चासो

त्यसपछि वाङ यी अफगानिस्तान पुगेका थिए। उनी तालिबान सत्तामा आएपछि अफगानिस्तानको भ्रमण गर्ने उच्चस्तरीय चिनियाँ अधिकारी बनेका छन्। चिनियाँ विदेशमन्त्रीले अफगानिस्तानको मुद्दामा चीनको नीति ‘तीन सम्मान’र ‘तीन कहिल्यै नगर्ने’ सम्बन्धमा व्याख्या गरेका थिए।

‘चीनले अफगानिस्तानको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्छ,’ उनले भनेका थिए, ‘अफगानिस्तानका जनताले रोजेको स्वतन्त्र छनोटको सम्मान गर्छ। अफगानिस्तानको धार्मिक आस्था र रीतिरिवाजको सम्मान गर्छ।’ चीनले अफगानिस्तानको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने उनले बताएका थिए। ‘चीनले अफगानिस्तानमा कुनै पनि स्वार्थ खोज्दैन र कहिल्यै पनि तथाकथित प्रभाव क्षेत्र खोज्दैन,’ उनले भने।

अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले वाङ यीसँगको भेटमा अफगानिस्तानले चीनको चासोलाई पूर्ण रूपमा बुझेको बताएका थिए। ‘चिनियाँ मित्रहरूलाई हानि पुर्‍याउन कुनै पनि शक्तिलाई अफगान भूमि प्रयोग गर्न दिनेछैनौँ,’ मुक्ताकीले भनेका थिए। अफगानिस्तानलाई अराजकता र अशान्तिको केन्द्रको सट्टा क्षेत्रीय सम्पर्कको पुल र समृद्धि भूमि बनाउन चाहेको उनले बताएका थिए।

 

भंग भयो भारतसँगको मौनता

वाङको यो ‘लो प्रोफाइल’ भ्रमण पाकिस्तानबाट सुरु भई नेपालमा सकिएको थियो। तर भ्रमण अन्त्य हुनुअघि पाकिस्तानपछि अफगानिस्तान र त्यहाँबाट उनको गन्तव्य भारत बनेको थियो। पश्चिमा देश युक्रेन संकटमा केन्द्रित भइरहँदा उनको यो दक्षिण एसियाली मुलुकको भ्रमण धेरैलाई अपत्यारिलो पनि लागेको थियो।

यसैबीच आआफ्ना जवान गुमाउने गरी भारत र चीनबीच भएको सीमा टकरावपछि दुई देशको उच्च तहमा छाएको मौनतालाई तोड्दै चिनियाँ विदेशमन्त्रीले भारतको (मार्च २५-२६) भ्रमण गरे। वाङले सीमा विवाद र आपसी मतभेदलाई उचित रूपमा समाधान र व्यवस्थापन गरी द्विपक्षीय सम्बन्धलाई बढाउनुपर्ने औँल्याएका थिए।

उनले विश्व परिवर्तनको घडीमा प्रवेश गरिरहँदा दुवै देशले शान्ति र स्थायित्वका लागि आआफ्नो योगदान पुयार्‍उनुपर्ने बताए। ‘वैधानिक हित र विकासोन्मुख राष्ट्रको साझा हितको रक्षा गर्न आपसी सम्पर्कलाई सुदृढ र समन्वय गर्नुपर्नेमा जोड दिए,’ उनले भने।

अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा दुई देशको समान अडान रहेको वाङले बताए। ‘विश्वमा सकारात्मक योगदान पुर्‍याउन आपसी समझदारी र सहयोगका लागि मिलेर काम गर्नेछौँ,’ उनले भने, ‘आर्थिक र व्यापारिक सहयोगलाई प्रगाढ बनाउन सहमत भएका छौँ।’ साथै सीमापार नदी जलविज्ञानमा आदानप्रदान प्रवद्र्धनलगायत विषयमा संवाद र सम्पर्क गर्न पनि यी दुई देश सहमत भएका छन्।

यसबाहेक भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसँगको भेटमा वाङले तीन बुँदे दृष्टिकोण प्रस्ताव गरेका थिए। उनले पहिलो बुँदामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्ने बताए। चीन र भारतको एक हजार वर्षअघिदेखि सभ्यताको आदानप्रदानको इतिहास छ।

एकअर्काका लागि खतरा नभई एकअर्काको विकासको अवसर बन्ने गरी दुवै पक्षले आफ्ना दुई नेताको रणनीतिक निर्णयलाई पालना गर्नुपर्ने बताए। यी दुई प्रमुख विकासोन्मुख देश र उदीयमान अर्थतन्त्रले एसिया र समग्र विश्वमा दूरगामी प्रभाव पार्ने उनको भनाइ छ।

दोस्रो बुँदामा, चीन र भारतले एकअर्काको विकासलाई साझा जितको मानसिकताका साथ हेर्नुपर्ने र अन्तर्राष्ट्रिय मामिलामा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्न भारतलाई समर्थन गर्दै यस क्षेत्रमा भारतको परम्परागत भूमिकालाई सम्मान गर्ने जनाए। चीनले दक्षिण एसियामा स्वस्थ अन्तरक्रियाका साथ सहकार्यको मोडेल निर्माण गर्न 'चीन-भारत प्लस’सहयोग एक्सप्लोर गर्न तयार रहेको बताए।

यसबाट उच्चस्तर र फराकिलो दायरामा पारस्परिक रूपमा र साझा जित सहकार्य प्राप्त गर्न सकिने उनको बुझाइ छ। यसैगरी तेस्रोमा, विश्वव्यापी शासनमा ‘एसिया मोमेन्ट’ को साक्षी हुने उल्लेख गर्दै चीन र भारत एउटै आवाजमा बोल्दा सारा विश्वले सुन्ने र दुई देशले हात मिलाउँदा सारा विश्वको ध्यान जाने उल्लेख गरे।

 नेपाललाई तीनवटा पक्षमा चीनको समर्थन

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमण क्रममा पनि दुई देशका नेताबीच भएको महत्वपूर्ण सहमतिबाट निर्देशित भई साझा भविष्य सहितको चीन-नेपाल समुदायको निर्माणलाई प्रवद्र्धन गर्न लागिपरेको बताए। उनले नेपाललाई तीनवटा पक्षमा चीनको समर्थन रहेको औँल्याएका थिए।

पहिलो, चीनले नेपाललाई आफ्नो राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्ग खोज्न सहयोग गर्नेछ। चीनको मैत्रीपूर्ण नीति सबै दल, पार्टी गुट र नेपाली जनताका लागि खुला रहनेछ। नेपालका सबै दल, पार्टी गुटलाई जनताको आधारभूत र दीर्घकालीन हितका लागि समावेशी परामर्शमा संलग्न हुन,  एकअर्कासँग सहकार्य गर्न, राजनीतिक स्थायित्व, आर्थिक वृद्धि र जनताको जीविकोपार्जन प्रवर्ध्दनका लागि उपयुक्त सुशासन मोडलको संयुक्त रूपमा खोजी गर्न प्रोत्साहित गर्छ।

दोस्रो, चीनले नेपाललाई स्वतन्त्र रूपमा आन्तरिक र वैदेशिक नीति अवलम्बन गर्न सहयोग गर्छ। चीनले जहिले पनि सबै देश समान र सबै देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्छ भनी विश्वास गर्छ।

नेपालको मामिलामा जनताले निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास रहेको उल्लेख वाङले गरे। नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा आँच पुर्‍याउने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालको भूराजनीतिक खेलमा संलग्न हुने कुनै पनि प्रयासको चीनले विरोध गर्ने उनले जनाए।

चीन र दक्षिण एसियाबीचको सहकार्यका लागि नेपाल ‘प्रमिसिङ ल्यान्ड’ बन्नुपर्छ। अन्य मुलुकसँग नेपालको सहअस्तित्व मैत्री व्यवहार देख्दा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा ठूलो भूमिका खेलेको देख्दा चीन खुसी भएको पनि उनले बताए।

तेस्रो, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपालको सहभागितालाई अगाडि बढाउन चीनले समर्थन गर्छ। चीन र नेपालले संयुक्त रूपमा बेल्ट एन्ड रोड निर्माणमा उत्साहजनक प्रगति गरेका छन्।

‘जसले नेपालको राष्ट्रिय निर्माणमा उल्लेख्य वृद्धि गरेको छ,’ वाङले भने, ‘दुई पक्षबीचको सहयोगका प्रमुख परियोजनालाई अगाडि बढाउन, भूबन्दरगाहको सहज सञ्चालन सुनिश्चित गर्न, विद्युत् क्षेत्रमा सीमापार सहयोगको खोजी गर्न, हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माण गरी हिमालयलाई दुई देशबीचको सहकार्यको मैत्रीपूर्ण बन्धन बनाउन इच्छुक रहेको छ।’

चीन आफ्नो विकासले ल्याएका अवसरहरूको सदुपयोग गरी नेपालको विकासमा सहयोग गर्न तयार छ। यहाँनेर प्रष्ट पारौँ कि चिनियाँ सहयोग र सहकार्य बेल्ट एन्ड रोड इनिसिएटिभ मातहतकै हुन्। साथै चीन-नेपाल सम्बन्ध ठूला र साना देशबीच समान व्यवहार र साझा जित सहयोगको उदाहरण बनेको छ। आपसी समझदारी र सहयोग चीन-नेपाल मित्रताको परम्परामात्र नभई दुई देशको रणनीतिक साझेदारीको आधार पनि भएकोमा दुवै पक्ष सहमत छन्।

यसैगरी चीन र नेपालले सधैँ एकअर्कालाई सहयोग र विश्वास गरेको चिनियाँ मन्त्री वाङको भनाइ छ। यसअघि चीनलाई नेपालसहित दक्षिण एसियाका मुलुकबाट चीनविरुद्ध कुनै किसिमको गतिविधि हुने हो कि भन्ने शंका र चिन्ता थियो। यो भ्रमणबाट चीनको शंका र चिन्ता हट्नुका साथै परस्पर सम्बन्धले नयाँ आयाम लिएको देखिन्छ। यसकारण पनि अहिलेको बदलिँदो परिस्थितिमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञको यो भ्रमण ऐतिहासिक बनेको छ।

(हिमालप्रेसमा २०७८ चैत २० मा प्रकाशित)