साझा भविष्य जोडिएको समुदाय : नेपाल, चीन र विश्व
2022-04-14 09:58:01cri
Share with:

--------------अजय अलौकिक

चीनको राज्य परिषद्का सदस्य तथा परराष्ट्रमन्त्री वाङ यी चौथो पटक नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौँ ओर्लँदै छन्। नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा वाङले नेपालको तीनदिने (चैत ११ देखि १३ गते) भ्रमण गर्न लागेका हुन्। चिनियाँ परराष्ट्रमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट साथै विपक्षी दल एमालेका नेता केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट तथा परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन्। 

भ्रमणका बारेमा अरू जानकारी उपलब्ध छैन। नेपाल सरकार भने वार्ता टेबुलमा बस्ने तयारीमा लागेको बुझिन्छ। चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा हुने उच्चस्तरीय बैठकको कार्यसूचीलाई अन्तिम रुप दिइएको बताइएको छ।

कुनै पनि विदेशी अतिथिको भ्रमणले विशेष महत्त्व राखेको हुन्छ यस्तो भ्रमणले दुई देशबीचको सम्बन्ध नवीकरण गर्ने, सुधार गर्ने र सम्बन्धमा उच्च आयाम दिने गरेको पाइन्छ। त्यसमाथि ‘अल वेदर फ्रेन्ड’ र हिमाल तथा नदीनालाले जोडिएको देशका परराष्ट्रमन्त्रीको आगमन अझै विशेष र सुखद हुने नै भयो।

परराष्ट्रमन्त्री वाङले यसअघि तीन पटक नेपाल भ्रमण गरिसकेका छन्। उनले सन् २०१४ को डिसेम्बर, सन् २०१५ जुन र सन् २०१९ सेप्टेम्बरमा नेपाल भ्रमण गरेका थिए। यी भ्रमण सबै दुई देशबीचको मित्रताका सम्बन्धमा कोसेढुंगा मानिन्छन्।

साढे दुई वर्षपछि हुन लागेको अहिलेको भ्रमणले ठूलो अर्थ बोकेको छ। एक, महामारी अवस्थामा चीन र नेपालबीचका विभिन्न क्षेत्रको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई उकास्न मद्दत पुग्ने विश्वास छ। अर्को, दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याुउन आवश्यक कदम चालिनेछ। तथापि नेपाली मिडिया र बुद्धिजीवीले भने आआफ्नै तवरमा अडकलबाजी गरिरहेका छन्।

हालै मात्र नेपाल सरकारले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेको छ। सम्झौता अनुमोदनपछि नेपाल-चीन सम्बन्धमा आँच पुगेको टिप्प्णी भएका छन्। चीनले अमेरिकाको यो अनुदानलाई देखाउने दाँत र खाने दाँत अर्कै हुन सक्ने शंका गरेको छ। यस्तै एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग ‘जबरजस्ती कूटनीति’सुरु गरेको वा सर्तसहितको अनुदान भनेर प्रश्न गर्दै चीनले यसलाई ‘पान्डोरा बक्स’सँग तुलना गरेको थियो।

यद्यपि चीनले अन्तर्राष्ट्रिय समुदायले नेपालको आर्थिक वृद्धि र जीविकोपार्जन सुधारमा योगदान पुर्याीउन नेपालसँग गरेको विकास सहयोगको स्वागत गर्ने स्पष्ट पारेको छ। यस्तो सहयोग नेपाली जनताको इच्छाको पूर्ण सम्मानमा आधारित हुनुपर्ने र कुनै पनि राजनीतिक सर्त जोडिन नहुने चिनियाँ धारणा छ।

वर्तमान विश्व व्यवस्थाका दुई महाशक्ति अमेरिका र चीनबीच व्यापार घर्षण भएदेखि निरन्तर तनाव बढ्दै गएको छ। दुई देशबीच विश्वका विभिन्न मुद्दामा आरोपप्रत्यारोप पनि चलिरहेको छ। अमेरिका चीनलाई निस्तेज बनाउन इन्डो प्यासिफिक स्ट्राटजी, क्वाड आदि सक्रिय रहेको चिनियाँ बुझाइ छ। यस्तो अवस्थामा नेपालमा एमसीसी अनुमोदन हुनु चीनका लागि पक्कै पनि सुखद नहुन सक्छ।

छिमेकीबाट पैदा हुने कठिनाइ या छिमेकी देश सुरक्षाको थ्रेट बन्ने सम्भावना छ भने कुनै पनि देशका लागि त्यो भयानक हुनेछ। यही कारण चीन नेपालप्रति सशंकित पनि हुन सक्छ। यसर्थ यसपटकको भ्रमण चीनको विश्वास जित्ने महत्त्वपूर्ण अवसर हुने देखिन्छ।

यो भ्रमण चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा प्रस्तुत बेल्ट एन्ड रोडअन्तर्गतका सहयोग परियोजना कार्यान्वयनमा केन्द्रित रहने भनिएको छ। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सम्झौता छिटोभन्दा छिटो कार्यान्वयन गरी व्यापार तथा लगानी, औद्योगिक पार्क, विद्युत् र ऊर्जा, पूर्वाधार, जलवायु परिवर्तनलगायतका विभिन्न क्षेत्रको सहयोग बढाएर नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्न तयार रहेको सन्देश दिन चाहेको छ।

हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्त्वपूर्ण संरचना विस्तार गर्दै नेपाललाई ‘भूपरिवेष्टित देश’ बाट ‘भूजडित देश’ बनाउने आशा चीनले लिएको छ। साथै अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको दीर्घकालीन विकासलाई चीन नयाँ इन्जिन प्रदान गर्न चाहन्छ।

नेपालको विकासका सम्बन्धमा चिनियाँ मन्त्री वाङ यीले गत वर्ष (८ डिसेम्बर, २०२१) नेपालको पुनःनिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई भिडियोमार्फत गरेको सम्बोधन पनि अर्थपूर्ण थियो। उनको सम्बोधनको निष्कर्ष ‘एकअर्कालाई समर्थन गर्ने र सुन्दर भविष्यको सिर्जना गर्न सुखदुःखलाई साझा गर्ने’ थियो। सम्बोधनमा उनले बेल्ट एन्ड रोड सहकार्यलाई गहन बनाउन चाहेको बताएका थिए।

उनले भनेका थिए, 'नेपालको आर्थिक पुनरुत्थान र मध्यकालीन तथा दीर्घकालीन विकासका लागि नयाँ इन्जिनहरू सिर्जना गर्न चीन नेपालसँग चाँडै कार्यान्वयन भएका योजनाहरू सम्पन्न गर्न र व्यापार तथा लगानी, औद्योगिक पार्क, विद्युत र ऊर्जा, पूर्वाधार र जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई गहन पार्न तयार छ। चीनले सीमापार रेलवे परियोजनाको सम्भाव्यता अध्ययनमा ठोस प्रगति गर्नेछ, हिमालय पार बहुआयामिक सम्पर्क सञ्जालमा सुधार गर्नेछ र नेपाललाई ‘भूपरिवेष्टित देश’ बाट ‘भूजडित देश’ बन्ने सपना साकार पार्न मद्दत गर्नेछ।'

सम्बोधनमा उनले नेपाललाई महामारीविरूद्धको लडाइँमा सहयोग जारी रहने पनि बताएका थिए। चीनले खोप सहयोग, सामग्री खरिद, बन्दरगाहसम्म पहुँच र विशेषज्ञ आदानप्रदानमार्फत नेपाललाई महामारीसँग लड्न र जनताको जीविकोपार्जनको सुरक्षा गर्न सहयोग गर्न जारी राख्ने उनको भनाइ थियो। ‘नेपाललाई चीनले एकएक गरी सहयोग जारी राख्नेछ, विपद्पछिको पुनर्निर्माण परियोजना अगाडि बढाउन, नेपालमा चीन-सहयोग भूकम्प अनुगमन नेटवर्कको भूमिकालाई पूर्णता दिन, प्रकोप रोकथाम र न्यूनीकरणका लागि अनुभव बाँड्ने र कर्मचारी तालिम बढाउने आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्नेछ’, उनले भनेका थिए।

साथै उनले चीनले अन्तर्राष्ट्रिय सहकार्यको पुनःनिर्माणमा नेपालको अग्रणी भूमिकालाई समर्थन गर्ने तर सबै पक्षले नेपालको सार्वभौमसत्ता, सुरक्षा र विकास आवश्यकतालाई सम्मान गर्नुपर्ने र नेपाललाई सहयोग गर्दा कुनै राजनीतिक बन्धन जोड्न नहुने पनि औँल्याएका थिए।

मन्त्री वाङले सो सम्मेलनमा महामारीसँग लड्न, आर्थिक पुनरुत्थानको प्रवर्धन गर्न र साझा भविष्यका साथ घनिष्ट रूपमा चीन-नेपाल समुदाय निर्माण गर्न पारस्परिक लाभकारी सहयोग गर्न चीन नेपालसँग हात मिलाउन तयार रहेको पनि उल्लेख गरेका थिए। तसर्थ यो भ्रमण दुई पक्षबीच भएका सम्झौता कार्यान्वयन अघि बढाउँदै महामारीविरुद्धको लडाइँ र व्यावहारिक सहयोग प्रवर्धन गरी 'साझा भविष्य जोडिएको समुदाय' का आधारमा उज्ज्वल भविष्य सिर्जना गर्ने अवसर हो।

'साझा भविष्य जोडिएको समुदाय' भन्ने शब्दावली चीनका राष्ट्रपति सी चिनफिङले पहिलोपल्ट सन् २०१३ मा रूस भ्रमण क्रममा प्रस्तुत गरेका हुन्। मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनमा 'समयको प्रवृत्तिलाई निरन्तरता दिँदै विश्व शान्ति र विकासको प्रवर्धन' शीर्षकमा सम्बोधन गर्दै उनले यसबारे चर्चा गरेका थिए। विश्वका विभिन्न देशले सहयोग र साझा जित केन्द्रित नयाँ शैलीको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्न संयुक्त प्रयास गर्नुपर्ने उनको प्रस्ताव थियो।

'साझा भविष्य जोडिएको समुदाय' चीनको अन्तर्राष्ट्रिय सम्बन्धको मार्गदर्शक सिद्धान्त पनि हो। यसले अन्य देशसँगको द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासमा चीनको रणनीतिक विचारलाई स्थापित गर्छ। यो चीनको विदेश नीतिको शान्ति, समानता, विकास र साझा सहकार्यको लक्ष्यको धारणा हो।

राष्ट्रपति सीले भनेका थिए, ‘विकासको फल विश्वका सबै देशले बाँड्नुपर्छ। केही देशले अरू देशलाई हानि पुर्‌याएर गरिब र पिछडिएको अवस्थामा छोडिदिने हो भने दीर्घकालीन विश्व विकास हुन सक्दैन।’

चिनियाँ परराष्ट्रमन्त्री वाङले 'साझा भविष्य जोडिएको समुदाय' बारे व्याख्या गर्दै भनेका छन्, 'विरोधको ठाउँमा सहयोग गर्ने, प्रभूत्व जमाउने ठाउँमा साझा जितको भावना लिने उक्त विचारधाराको मूल मर्म हो। नेपालको सच्चा मित्रको हैसियतमा चीन सधैँ नेपालको मैत्रीपूर्ण छिमेकी र एकअर्कालाई सहयोग गर्ने र सुख दुःख साझा गर्ने विकास साझेदार हो। चीन नेपालसँग मिलेर आफ्नो राष्ट्रिय परिस्थिति अनुकूल विकासको बाटोमा अगाडि बढ्न, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न एकअर्कालाई सहयोग गर्न, आपसी राजनीतिक विश्वास सुदृढ गर्न र एकअर्काको विकास रणनीतिलाई समन्वय गर्न तयार छ।'

वाङ यीको नेपालको औपचारिक भ्रमण क्रममा नेपाल र चीनबीच पारस्परिक हित र चासोका विषयमा वार्ता फलदायी रहोस्। यो भ्रमणले भरपर्दो तथा सच्चा मित्रताको दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गर्न सकिन्छ। सगरमाथा जत्ति कै अग्लो र हिउँजस्तै निर्मल नेपाल चीन मित्रता अझै झाँगिँदै जाओस्।

(हिमालप्रेसमा शुक्रबार ११, चैत २०७८ मा प्रकाशित)