इटालीका पारा ओलम्पिक समितिका अध्यक्षद्वारा पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदको उच्च मूल्याङ्कन
2022-04-18 14:44:06cri
Share with:

२०२२ पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुद हाल आयोजना भइरहेको छ। इटालीका पारा ओलम्पिक समितिका अध्यक्ष रुका पन्कालीले हालै हाम्रा पत्रकारलाई अन्तर्वार्ता दिँदै पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उत्कृष्ट व्यवस्थापन, रोचक प्रतिस्पर्धात्मक स्तर र राम्रो ओलम्पिक वातावरणको प्रदर्शन गरेको बताउनुभएको छ। पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदमा भाग लिनपाएकोमा सारा इटाली खुसी भएको पनि उहाँले प्रकट गर्नुभएको छ।

 

यस पटकको पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदका लागि इटालीले ३२ जना खेलाडीबाट गठित प्रतिनिधि मण्डल पठाएको छ। यी खेलाडीहरुले विभिन्न किसिमको स्की प्रतियोगितामा भाग लिने छन्। इटालीका पारा ओलम्पिक समितिका अध्यक्ष रुका पन्कालीले पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदमा भाग लिनपाएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो,

इटालीको हिउँदे ओलम्पिक प्रतिनिधि मण्डलका सदस्यहरुले पैचिङ पारा ओलम्पिकको उत्कृष्ट क्षमता र वातावरणको अनुभव गर्नपाएकोमा निकै खुसी भएका छन्। प्रतियोगिताको व्यवस्थापनमा देखाइएको कुशल क्षमताप्रति अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रले तपाईँहरुलाई आभार व्यक्त गर्नुपर्छ।

 

रुका पन्कालीले यस पटक इटालीको पारा ओलम्पिक प्रतिनिधि मण्डलका युवा खेलाडीहरु निकै धेरै भएको र तिनीहरुमध्ये करिब आधा जसो खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा भाग लिएको पनि जानकारी दिनुभयो। साथै इटालीका खेलाडीहरुले उत्कृष्ट उपलब्धि हासिल गर्नसक्ने उहाँको आशा छ। उहाँ भन्नुहुन्छ,

 म आशावादी छु। चार वर्ष अगाडि पिङ छाङमा आयोजित हिउँदे पारा ओलम्पिक खेलकुदमा पाएको उपलब्धि बराबर हुनसक्ने आशा हामीले राखेका छौँ। तर यो सजिलो जिम्मेवारी छैन। तथापि हाम्रा खेलाडीहरु तयार छन्। हामीले पूर्ण उत्साहका साथ चुनौतीको सामना गर्ने छौँ।

 

चीनको अलपाइन स्की टोलीका मुख्य प्रशिक्षक दालिओ कापेरी पनि इटालियन हुनुहुन्छ। उहाँले चीनको अलपाइन स्की टोलीलाई धेरै सहयोग पुर्‍याउनुभएको छ। रुका पन्कालीले इटाली र चीनले पारा ओलम्पिक खेलमा अझ बढी सहयोग हुनसक्ने बताउँदै यस्तो सहयोगमार्फत सामाजिक जीवनमा दुई मुलुकका अपाङ्गता भएकाहरुको संलग्नताका लागि अरु राम्रो वातावरण सिर्जना गर्नसकिने र अपांगता भएकाहरुप्रति समाजको बुझाईलाई बढाउनुपर्ने पनि बताउनुभयो, उहाँ भन्नुहुन्छ,

इटाली र चीनका अपाङ्गता भएकाहरुले समावेशी सभ्य समाज विद्यमान रहेको कुरा बुझ्नुपर्छ। खेलकुद यो सिद्धान्त देखाउने एउटा महत्वपूर्ण तरिका हो। खेलकुदमा उच्च स्तरीय प्रतिस्पर्धा बाहेक अरु बढी समावेशी सभ्य समाजलाई समावेश गरिनुपर्छ। चीनमा होस् अथवा इटालीमा होस्, हिउँदे ओलम्पिक खेलकुद यस विषयलाई अभिव्यक्त गर्ने मञ्च बन्नुपर्छ। अपांगता भएका व्यक्तिहरुले खेलकुदबाट सुखी र प्रतिष्ठित जीवन बिताउनपाउनु हाम्रो सामाजिक प्रणालीको सुधार भएको अर्थको रूपमा लिन सकिन्छ।

 

रुका पन्कालीले पौडी खेलाडीको रुपमा पारा ओलम्पिक खेलकुदमा भाग लिनुभएको थियो। उहाँको विचारमा पारा ओलम्पिक खेलकुद र हिउँदे ओलम्पिक खेलकुदको आयोजनाले “शारिरिक रुपमा अपाङ्गता भए तापनि दृढ अठोट भएको” भावना प्रतिबिम्बित गरेको छ। उहाँ भन्नुहुन्छ,

खेलकुद एउटा पूल भएकोले पारा ओलम्पिक खेलकुदको महत्वपूर्ण अर्थ रहेको विचार मैले गरेको छु। हामीले इटालीका प्रशिक्षण संस्थाहरुका लागि केही परियोजना सञ्चालन गर्दैछौँ। जसबाट भविष्यको प्रतिनिधित्व गर्ने युवायुवतीहरुले यस परियोजनामा भाग लिएर पारा ओलम्पिक खेलकुद सम्बन्धी संस्कृतिलाई अघि बढाउँदै छन्। हिउँदे पारा ओलम्पिक खेलकुद एउटा भव्य खेलकुद समारोह मात्र होइन, एउटा मुलुकको सामाजिक र सांस्कृतिक प्रणालीमा सुधार गर्ने एउटा सुअवसर पनि हो।