चच्याङ प्रान्तमा बसोबास गर्ने चिनियाँले नेपालीसँगै मनाए नेपाली नयाँ वर्ष
2022-04-18 15:47:10cri
Share with:

चीनको शाङहाई क्षेत्र यतिबेला सुनसान छ। गत महिनादेखि चीनमा पुनः बढेको कोरोना महामारीका कारण शाङहाई शहरका अधिकांश भागहरू लकडाउनमा परेका छन्। त्यही शाङहाईसँग जोडिएको चच्याङ प्रान्तको यिऊमा रहेका नेपालीले भने नाचगान र वनभोज गर्दै नेपाली नयाँ वर्ष २०७९ मनाएका छन्।

चच्याङ प्रान्तको यिऊमा विश्वकै सबैभन्दा ठूलो उत्पादन बजार रहेको छ। पछिल्लो समय नेपाल भित्रिने अधिकांश चिनियाँ सामान त्यहीँ उत्पादन हुने गर्दछ। केही नेपाली दुई दसकदेखि यिऊमा बसेर व्यापार गरिरहेका छन्। त्यहाँ बसोबास गर्ने एक दर्जनजति नेपालीले चिनियाँ युवतीसँग बिहे गरेका छन्।

बैशाख १ गते बिहीबार ३८ जना नेपाली र ४० जना चिनियाँहरू भेला भएर नाचगान र विभिन्न मनोरञ्जनात्मक खेलहरू खेल्दै नयाँ वर्ष मनाएका नेपाल भ्युज अनलाइनले लेखेको छ। नेपाली गीत घन्काएर चिनियाँ र नेपालीले दिनभर नृत्य गरे।

सबैभन्दा रोचक दृश्य त चिनियाँ महिलाले लङ्गुरबुर्जा खेलाउँदाको थियो। नेपालीसँग बिहे गरेका आधा दर्जन चिनियाँ बुहारीहरू आफ्नो दाउमा पैसा राख्नलाई कराउँदै डाइस हल्लाइरहेका थिए।

नेपाली नयाँ वर्ष मनाउने सहभागी भएका चिनियाँहरू चिनियाँसँग बिहे गरेका बुहारी, नेपालीका ससुरालीका आफन्त तथा नेपालतिर व्यापार गर्ने (सिपिङ कम्पनी तथा ट्रान्सपोर्ट कम्पनी)चिनियाँहरू थिए। कार्यक्रमको संयोजन गैर आवासीय नेपाली संघ यिऊ शाखा र नेपाल चम्बर अफ कमर्सको शाखाले गरेको हो। दुवै संस्थाका संयोजक भक्तपुरका विष्णुप्रसाद दुमरु हुनुहुन्छ। उहाँ विगत दुई दशकदेखि यिऊमा बसेर व्यवसाय गरिरहनु भएको छ।

नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रम मनोरञ्जनात्मक मात्र नभएर व्यापार क्षेत्रमा भएका गम्भीर विषयमा समेत छलफल भएको दुमरुले नेपाल सुनाउनुभयो। नेपालले आयात मात्र गर्दा संचिती डलर घटेको सुनाउँदै निर्यात बढाउनुपर्ने र त्यसका लागि आफूहरू प्रयासरत रहेको पनि उहाँको भनाइ छ।

चीनले ८ हजारभन्दा बढी नेपाली उत्पादनलाई शून्य भन्सारदरमा चिनियाँ बजारमा आयात गर्न दिने सुविधा दिएको छ तर त्यसका लागि विभिन्न प्रोटोकल पूरा नभएकाले लागू हुन नसकेको सुनाउँदै दुमरुले भन्नुभयो ‘सरकारले प्रोटोकल पूरा गरिदिएमा हामी नेपाली सामानलाई चिनियाँ बजारमा विस्तार गर्ने थियौँ। अहिले चीनसँगको एक पक्षीय व्यापारलाई सन्तुलित बनाउनका लागि पनि नेपाली उत्पादनलाई चीनमा भित्र्याउनु अनिवार्य बनेको छ।’

नेपाल सरकारले विदेशी आयात गर्नका लागि एलसी प्रकिया रोकेकाले केही समयदेखि चिनियाँ सामान नेपाल जानलाई रोकिएको छ। सरकारको आयात प्रतिवन्धले चीनबाट नेपाल सामान पठाउने नेपाली व्यवसायीहरूमा मर्का परेको दुमरुले बताउनुभयो।

सरकारले यस्तो निर्णय गर्दा केही समय अग्रिम जानकारी दिएको भए व्यवसायीलाई सजिलो हुने उहाँले ‌औँल्याउनुभयो। ‘कारखानामा सामान अर्डर गरिसकेको हुन्छ, व्यापारीहरूले सिपिङ बुक गराइसकेका हुन्छन् तर सरकारले हठात् आयात बन्द गर्दा थुप्रै पैसा फस्ने गर्दछ’ दुमरुले गुनासो गर्नुभयो ‘पन्ध्र अथवा एक महिनाको समय राखेर सरकारले सूचना जारी गरेको भए व्यापारीले त्यही अनुसार आफ्नो व्यवस्था गर्ने थिए।’

नयाँ वर्षको वनभोज भेला सुरुमा चैत्र २७ गते आइतबारलाई तय भएको थियो। कोरोना महामारी बढिरहेको बेला कार्यक्रम गर्ने कि नगर्ने दुविधा भएकाले स्थगित गरिएको थियो। पछि स्थानीय प्रशासनले दुई दिन अगाडि पीसीआर परीक्षण गरेर कार्यक्रममा सहभागी हुन सकिने बताए पनि बैशाख १ गतेलाई कार्यक्रम तय भएको दुमरुले बताउनुभयो।

रिसोर्टको क्षेत्रभित्र कार्यक्रम आयोजना भएकाले कडा सुरक्षा व्यवस्था थियो। सहभागी सबैको स्वास्थ्य कोड स्क्यान गरेपछि मात्र प्रवेश गराइएको थियो। बिहान साढे नौदेखि सुरु भएको कार्यक्रम राति साढे नौसम्म चलेको दुमरुले बताउनुभयो।