नेपालका जलाशय आयोजनामा लगानी गर्न एडीबीलाई ऊर्जामन्त्रीको आग्रह
2022-04-20 16:23:46cri
Share with:

नेपालकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचीन छिनबीच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटका क्रममा एडीबीको लगानी रहेका विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे छलफल भएको कान्तिपुर अनलाइनले लेखेको छ। ऊर्जा तथा सिँचाइका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्री भुसालले बताउनुभयो।

पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर क्षेत्रीय स्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो खुलेको बताउनुभयो। उहाँले भन्नुभयो ‘बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ। केही वर्षभित्र नै हामीले ती देशमा विद्युत् निर्यात गर्ने अवस्था आउँछ।’ आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत् उपलब्ध गराउनेगरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको मन्त्री भुसालले बताउनुभयो। साथै जलाशयुक्त जलविद्युत् आयोजनामा लगानी गर्न एडीबीलाई आग्रह गर्नुभयो। उहाँले पूर्व–पश्चिम प्रसारण निर्माणमा पनि एडीबीको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो।

एडीबी उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत् व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो ‘भारतसँग ३६५ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्किला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु।’ जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडीबीको लगानी रहेका १० वटा महत्वपूर्ण आयोजनाहरूको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालिरहेको बताउनुभयो। उहाँले विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालन भएका उद्योगलाई विद्युतले प्रतिस्थापन गर्न सुझाव दिनुभयो।

भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडीबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आर्नौड काउसिस लगायत उपस्थित हुनुहुन्थ्यो।