सगरमाथा चुचुरो पुग्ने मार्ग निर्माण आइतबारदेखि सुरु
2022-04-20 16:29:32cri
Share with:

सगरमाथाको चुचुरोसम्म पुग्न निर्माण गरिने मार्ग आइतबारबाट सुरु हुने भएको छ। सगरमाथा आरोहणकै अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलदेखि छ हजार चार सय मिटरको दोस्रो क्याम्पसम्म आइसफल डाक्टरहरुको टोलीले चैत २४ गतेनै मार्ग निर्माण सम्पन्न गरी सकेका गोरखापत्र अनलाइनले लेखेको छ।

मे २० देखि २५ भित्रसम्मा मार्ग निर्माण सम्पन्न गरी सगरमाथा आरोहण सुरु गर्ने गरी भोलबाट डोरी टाँग्ने काम सुरु गर्ने तयारी गरेको मार्ग निर्माण जिम्मा पाएको सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो। यस वर्ष कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा आरोहण मार्ग निर्माण हुने भएको छ। मार्ग निर्माणसँगै आरोहीहरु आधारशिविरबाट दोस्रो क्याम्पसम्म पुगेर हाई पचाउदै आरोहणको तयारीमा जुटेको शेर्पाले जानकारी दिनुभयो।

दोस्रो क्याम्प देखि चुचुरोसम्मको मार्ग निर्माण आरोहण सञ्चालक संघअन्तर्गत सेभेन समिट ट्रेक्स निर्माणको जिम्मा लिएको छ। कम्पनीले ११ हजार मिटर डोरी टाँगेर चुचुरो सम्मको बाटो निर्माण गर्ने गरी तयारीमा जुटेको जनाएको छ। 

चैत ६ गते देखि आधारशिविरबाट आरोहण मार्ग निर्माण शुरु गरेका निजी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुको आइसफल डाक्टर आङसार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्वा छिरिङ शेर्पा, सोनाम छिरिङ शेर्पा, छेवाङ नुरु शेर्पा र निमा ग्याल्जेन शेर्पाको टोलीले अघिल्लो वर्षहरुभन्दा यस वर्ष चाँडै मार्ग निर्माण सम्पन्न गरेको आरोहीहरुले जनाएका छन्। यी हिमालहरु आरोहणका लागि आउने आरोहीसँग सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही छ सय डलर र आरोहण सञ्चालक संघले प्रति आरोही दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन्।

हिउँको जंगलको नामले चिनिने खुम्बु आइसफलमा सात मिटर लामो दुई वटा भर्याङ जोडेर बाटो बनाएको समितिले जनाएको छ। खुम्बु आइसफलको मार्ग निर्माणमा ५० वटा बढी भर्याङ प्रयोग गरिएको जनाएको छ। खुम्बु आइसफल हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण हुने गर्दछ। 

यस वर्ष यस बसन्त मौसममा ६८ देसका ६८९ जना आरोहीले नेपालका १९ वटा अग्ला हिमालहरुको आरोहण गर्ने गरी पर्यटन विभागबाट अनुमती लिएको हो। विभागले १९ वटा हिमालबाट ३७ करोड ३८ लाख ५१ हजार ४२१ रुपैयाँ राजश्व समेत संकलन गरेको छ।