गेट वेल सुन साङहाई
2022-04-21 10:11:10cri
Share with:

----------अजय अलौकिक



झन्डै दुई करोड पचास लाख जनसंख्या भएको साङहाई (सांघाई) सहर यति बेला लकडाउनमा छ। दुई वर्षअघि कोरोना महामारी फैलिएपछि सर्वप्रथम चीनको उहान सहरमा लकडाउन गरिएको थियो। यसपछि जोखिमपूर्ण क्षेत्र तथा अवस्था हेरेर सहरका केही भाग, केही सडक र केही कम्युनिटी (समुदाय) मा महामारी निमिट्यान्न पार्नका लागि लकडाउन भए। चीनमा लकडाउनको तरिका अवस्थाअनुसार अपनाइँदै आएको छ।

पछिल्लो अवस्थामा विश्वकै आर्थिक केन्द्रबिन्दु मानिने साङहाई सहरमा कोभिड-१९ संक्रमित बढ्दै गएपछि लकडाउन गरिएको हो। लकडाउन सहरका कतिपय भागमा एक महिनादेखि जारी छ भने समग्र साङहाई सहर अप्रिलदेखि लकडाउनमा छ। यो जीवन्त सहर लकडाउनमा रहेको अवस्थामा मेरो मन अहिले त्यहाँ पुगेको छ। सर्वप्रथम सम्पूर्ण साङहाईवासी तथा स्वयंसेवकलाई ‘च्या यौ’ भन्न चाहन्छु, तपाईंहरूको धीरता, प्रयास र मेहनतले छिटै रंगीन, देदीप्यमान साङहाई जुर्मुराउनेछ। 

मेरो एक दशकभन्दा लामो चीन बसाइका क्रममा साङहाई मात्र यस्तो सहर हो जुन म धेरै पटक गएको छु। मैले यसो लेखिरहँदा बेइजिङसँग जोडिएको थ्येनचिन सहर पो अनगिन्ती पटक गएको सम्झन पुगेँ। तर जे होस्, चीनको पच्चीस, तीसवटा सहर घुम्दा पनि मैले साङहाईको जस्तो आकर्षण कतै पाएको छैन। त्यहाँबाट फर्किने बेला मनले अब फेरि कहिले आउन सकिएला भनेर मनमनै मनलाई सोधिसकेको हुन्थ्यो।

खोइ! त्यस्तो के जादु छ, आकर्षण छ, त्यो न म भन्न सक्छु न त मनैले फ्याट्ट भन्न सक्ला। तर मैले बुझेको जनघनत्व, भौतिक पूर्वाधारको विकास, सेवासुविधामा पहुँच, सामाजिक, आर्थिक गतिविधि, व्यापार, व्यवसाय, विज्ञान प्रविधि जुन सहरको परिभाषामा पाइन्छ, त्यो सबै साङहाईमा प्रशस्त देखेको छु। कंक्रिट जंगलको सहर, व्यस्त अनि तडकभडक, सेवासुविधा, सामाजिक, सांस्कृतिक अनि आधुनिक तथा नयाँ सहर यी सबैमा अब्बल छ साङहाई।

विश्वको दोस्रो अग्लो टावरसहित अरू थुप्रै गगनचुम्बी भवनको सहर नवप्रविधिमा अग्रणी अनि सारा संसार अटाएको यो साङहाई सहरले मेरो ध्यान मार्चको दोस्रो सातातिर तानेको थियो। चीनका विभिन्न सहर र प्रान्तमा कोभिड-१९ संक्रमितहरू फाटफुट रूपमा देखिरहेको अवस्थामा साङहाईमा मार्च लागेसँगै देखिएको हो। मार्चको दोस्रो सातामा यो संख्या बढेर हजार पुगेको थियो, जसमा स्थानीय संक्रमणको संख्या चार सय हाराहारी थियो। बाँकी बाहिरी सहर तथा विदेशबाट फर्केकाहरू क्वारेन्टाइनका क्रममा भेटिएका थिए।

तर स्थानीय संक्रमितको ट्रेसिङबाट एकदम नजिकको कन्ट्याक्ट १२०० तथा सेकेन्डरी कन्ट्याक्ट २२०० बढी पाइएको थियो। यसै सन्दर्भमा संग्रहालयलगायतका विभिन्न सार्वजनिक स्थलहरूले महामारीलाई ध्यानमा राखी बन्द गर्ने तथा कार्यक्रम  स्थगित गरेको पनि थियो। तापनि पछि गएर अर्थात् पन्ध्र दिनमा स्थिति भयावह बन्नपुगेको थियो र एक महिनामा सहरलाई लकडाउन गर्नुपर्ने स्थिति बन्यो।

साङहाई पूरै ठप्प हुनेछ भन्ने कल्पनासमेत कसैले गरेको थिएन, सायद। दोस्रो सातासम्म पनि स्थिति नियन्त्रणभित्र रहेको साङहाई नगरपालिका वाणिज्य आयोगका उपनिर्देशक लिऊ मिनको भनाइले यो कुरा बुझ्न सकिन्छ। ‘अहिले सहरका बासिन्दाले धेरै सामान खरिद गर्न आवश्यक छैन। बजारमा आपूर्ति पर्याप्त छ,’ उनले भने।

मार्च दोस्रो सातासम्म करिब १२ वटा मध्यम जोखिम क्षेत्रहरू निर्धारण गरिसकेको थियो, यहाँ जोखिम क्षेत्र भन्नाले संक्रमितको आवास, कार्यालय या उनीहरूका पदचाप पुगेका ठाउँ पर्छन्। यस्तो क्षेत्रको घोषणाबाट त्यसबाहेकका अरू क्षेत्रका मानिसलाई सतर्क र सुरक्षित गराइन्छ। यसबाहेक रेल, सडक सबै किसिमको यातायातबाट साङहाई प्रवेश गर्न र बाहिर जान ४८ घण्टाभित्रको न्युक्लिक एसिड परीक्षण प्रमाण पेस गर्नुपर्ने नियम पनि लागू गरिएको थियो।

यसै गरी ‘२ जोड १२’ तरिकालाई पनि खारेज गरिएको थियो। दुई दिनको होम क्वारेन्टाइन र १२ दिनको स्वयं स्वास्थ्य अनुगमन गर्ने यो तरिकालाई शंकास्पद केस देखिएको अवस्थामा लागू गरिएको थियो। साङहाई नगरपालिका स्वास्थ्य आयोगका उपनिर्देशक चाओ तानतानले २ जोड १२ तरिका  हटाइएको बताए।

यही बेला चीनको उत्तरपूर्वी चिलिन प्रान्तमा कोभिड संक्रमितको संख्या चुलिरहेको थियो भने सनचन सहर सामान्य बन्दै थियो। साङहाईमा भने आशंका बढ्दै गएकाले शंकास्पद क्षेत्रमा मार्च १८ बाट निःशुल्क परीक्षण थालिएको थियो। पाँच दिनमा तीन करोड पटक परीक्षण गरेको थियो। साङहाईका २ करोड २० लाख मानिसले पूर्ण खोप लगाइसकेका छन् भने १ करोड १० लाखले बुस्टर डोजसमेत लगाइसकेका छन्।

यसरी संक्रमित बढ्दै जाँदा स्थिति भयावह बन्दै गयो। केही साङहाईबासीले अनलाइनमा किराना सामान किन्न कठिनाइ अनुभव गरे। नगरपालिका वाणिज्य आयोगका निर्देशक कु च्युनले प्रमुख सुपरमार्केट, गोदाम र वितरण केन्द्रहरू खुला रहेको भन्दै दैनिक उपभोग्य वस्तुको ढुवानी सहज भएको बताएका थिए। ‘केही नागरिकले अनलाइनमा किराना सामान किन्न कठिनाइ अनुभव गरेका छन्। मागवृद्धि भएको छ तर आपूर्ति गर्ने जनशक्ति अभाव छ’, उनले भने, ‘इकमर्स प्लेटफर्महरूसँग छलफल भइरहेको छ र आपूर्ति कर्मचारीको व्यवस्था गर्न र आपूर्ति समय विस्तार गर्न निर्देशन दिएका छौँ।’

त्यसै बखत साङहाईमा लकडाउन गर्ने हल्ला पनि चलेको थियो र साङहाई कोभिड-१९ रोकथाम र नियन्त्रण टोलीका एक सदस्य तथा स्वास्थ्य आयोगका पदाधिकारीले समेत लकडाउन नगरिने बताएका थिए। मार्च १६ बाट थालिएको ग्रिड परीक्षणलाई निरन्तरता दिने र जोखिम क्षेत्रलाई बिस्तारै हटाउने भन्दै गर्दा स्वास्थ्य आयोगले जारी गरेको तथ्यांकअनुसार पछिल्लो संक्रमित रोगीको दर्ता गरेको मार्च १ देखि २५ दिनमा ६ हजार संक्रमित र ५ हजार ७ सय एसिम्प्टोम्याटिक थिए।

यहाँ एसिम्प्टोम्याटिक (लक्षण नदेखिएका) को संख्या सुरुदैखि नै लक्षणसहितका संक्रमितभन्दा धेरै देखिएको थियो। चाइनिज एकेडेमी अफ इन्जिनियरिङका शीर्ष विज्ञ चाङ पोलीले एक अन्तर्वार्तामा चीनमा हाल देखिएको कोभिड-१९ का एसिम्प्टोम्याटिक केस ओमिक्रोन भेरियन्टको रोगले समात्ने लक्षण कम हुनु र समयमै जाँच तथा प्रारम्भिक पहिचान र व्यापक रूपमा खोप लगाइएकाले भएको बताएका छन्।

तर साङहाईमा सिम्प्टोम्याटिकका साथै एसिम्प्टोम्याटिक केस धेरै रहेको आशंकाले नै हुनुपर्छ पूरै सहरमा न्युक्लिक परीक्षण गर्ने निर्णय लिएको थियो। मार्च २८ बिहान ५ बजेदेखि न्युक्लिक परीक्षण सुरु गर्ने स्थानीय अधिकारीले आइतबार राति जानकारी गराएका थिए। 

मार्च २८ देखि अप्रिल १ सम्म पुतोङ र ह्वाङपु नदीको पूर्व र दक्षिणी क्षेत्रहरूमा अस्थायी रूपमा बन्द गर्ने र अप्रिल १ देखि ५ सम्म ह्वाङपु नदीको पश्चिमी सहरी क्षेत्रमा अस्थायी बन्द र परीक्षण गर्ने सूचना जारी गरिएको थियो। कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यालयले भाइरसको फैलावट रोक्न, जनजीवनको सुरक्षा र स्वास्थ्य रक्षा गर्न तथा ‘डाइनामिक जिरो’ कोभिड लक्ष्य प्राप्तिका लागि यो कदम चालेको जनाएको छ।

साङहाई सहरले कोरोना महामारी फैलिएको दुई वर्षपछि महामारीको भयानक रूप अनुभव गरिरहेको छ। मार्चको सुरुदेखि हालसम्म २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। यसमा एसिम्प्टोम्याटिक केस जोडिएको छैन। यस्ता लक्षणविहीन केसहरू परीक्षणबाट दिनमा १० हजार बढी भेट्टाइएका छन्। साथै कोरोना फैलिएदेखि दुई वर्षमा पाँच हजार संक्रमित नभएको यो सहरमा अहिले झन्डै २५ हजार पुगेको छ।

यो अवस्थाबाट यथाशीघ्र मुक्त पाउनका लागि साङहाईका विभिन्न बृहत् प्रदर्शन भवनहरूलाई क्वारेन्टाइन साइट तथा अस्पतालमा रातारात रूपान्तरण गरिएको छ। राष्ट्रिय प्रदर्शन तथा सम्मेलन केन्द्रलाई अस्पतालमा रूपान्तरण गरी ५० हजार शय्या उपलब्ध गराइएको छ। यसबाहेक महामारीविरूद्धको युद्धमा एकजुट हुँदै चीनभरिबाट २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी साङहाई पुगेका छन्।

यो डामाडोल अवस्थामा स्थानीय सरकारले साङहाईवासीको दैनिक उपभोग्य सामग्री समयमै आपूर्ति गर्ने बाचा गरेको छ। कोभिड-१९ को जोखिमअनुसार साङहाई सहरले समुदायलाई वर्गीकरण पनि गरेको छ। गत सोमबार नगरपालिकाले साङहाईका कुल ७ हजार ६ सय २४ समुदायलाई महामारी नियन्त्रणका लागि सिल गरेको जनाएको छ।

यसैगरी २ हजार ४ सय ६० समुदायलाई जोखिमपूर्ण क्षेत्र तथा ७ हजार ५ सय ६५ लाई नियन्त्रित क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ। नगरपालिकाका अधिकारीले तीन क्षेत्र प्रणालीको अवधारणा बासिन्दाको दैनिक जीवनमा महामारीको प्रभाव कम पार्ने प्रयास रहेको औँल्याए। नयाँ संक्रमण भेटिएको समुदायलाई सिल गरिने र आवतजावत प्रतिबन्ध लगाइन्छ। अघिल्लो हप्ता नयाँ संक्रमित नदेखिएको समुदायलाई जोखिमपूर्ण क्षेत्रमा वर्गीकरण गरिएको छ। यहाँका बासिन्दा कम्पाउन्डभित्र डुल्न सक्नेछन् भने नियन्त्रित क्षेत्रका मानिस घरबाहिर अर्थात् सडकमा जान सक्छन्।

महामारी प्रभावित क्षेत्रको वर्गीकरण गरी सहज वातावरण बनाउने प्रयास साङहाईले गरिरहेको छ। साथै जहाँ लकडाउन छ, त्यहाँ स्थानीय बासिन्दालाई दैनिक उपभोग्य वस्तुहरू आपूर्ति  गर्ने तथा सहर सञ्चालनको सुनिश्चितताको वातावरण तयार गर्दैछ। लक्षण भएका र नभएका ८ हजार संक्रमितको सफल उपचार पनि भइसकेको छ।

सय वर्षमा नदेखिएको यो कोभिड-१९ महामारीको कहर अझै सकिएको छैन। यो भाइरसले आफूलाई परिवर्तन गर्दै मानव समाज र मानवजातिमाथि धावा बोलेको छ। रातदिन एकनासले चल्ने विश्वकै विशाल र जीवन्त सहर अहिले थला परेको छ। साङहाई, तिमीलाई शीघ्र स्वास्थ्यलाभको कामना। बन्डमा उभिएर ह्वाङपु नदी र गगनचुम्बी भवन हेर्दै आनन्द लिने इच्छा छ। म छिटै आउन चाहन्छु। तिमी चाँडै ठिक हुनू, गेट वेल सुन साङहाई।

(हिमालप्रेसमा सोमबार ०५, बैशाख २०७९ मा प्रकाशित)