नेपालका अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने
2022-04-23 16:23:41cri
Share with:

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन्। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ।

उहाँका अनुसार कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई यात्रुको चाप बढ्दै जाँदा विमानस्थलहरुलाई समेत पूर्ण क्षमतामा चलाउने निर्णय भएको हो। पछिल्लो केही महिनायता प्रतिकूल मौसमले विमानस्थल प्रभावित हुँदा उडान/अवतरण प्रभावित भएको छ। जसले उडानहरु रातको समयमा बढी धकेलिने गरेका छन्।

कतिपय अवस्थामा वायुसेवा कम्पनीहरुले राती अबेर उडानहरु रद्द गर्दा काठमाडौं तथा अन्य विमानस्थलहरुमा यात्रु अलपत्र समेत पर्ने गरेका छन्। नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट अनौपचारिक सञ्चालनमा आइसकेको छ। यहाँ आन्तरिक उडान शुरु भएका छन्।

त्रिभुवन विमानस्थलमा कुनै कारणले उडान/अवतरण प्रभावित बनेको अवस्थामा विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल तयार भएसँगै दुवै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा चल्ने भएका हुन्।

प्राधिकरणका अनुसार रात्रिकालीन उडान हुने विमानस्थल भने अब १८ घण्टा चल्नेछन्। बिहान ६ बजे खुल्ने विमानस्थलहरु राति १२ बजे बन्द हुनेछन्। यसले रातको अन्तिम समयमा हुने उडान रद्दको समस्या समाधान हुने अपेक्षा गरिएको छ। अहिले तराई भेगका राजविराज बाहेक सबै विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ।