इस्तानबुलका लागि चिनियाँ महावाणिज्य दूतावासका युवा कूटनीतिज्ञ याङ युनको कथा
2022-04-25 14:26:42cri
Share with:

एसिया र युरोप महाद्वीप पार गरेको टर्कीको इस्तानबुल शहरमा कोरोना महामारीको स्थिति यथावत रुपमा गम्भिर छ, तैपनि इस्तानबुलका लागि चिनियाँ महावाणिज्य दूतावासका कूटनीतिज्ञहरु काममा व्यस्त हुनुहुन्छ। उहाँहरुले कठिनाईको सक्रियताका साथ सामना गर्दै स्थानीय चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुको महामारीको प्रतिरोध कार्यमा सहयोग गर्नुका साथै राम्रोसँग “चिनियाँ कथा”पनि सुनाउँदै आउनुभएको छ।

 

३० वर्षीय याङ युनले विदेशमा काम गर्नुभएको यो दोस्रो पटक हो। गत वर्षको प्रारम्भमा कोरोना महामारी विश्वमा फैलिन थालेको थियो। इस्तानबुलका लागि चिनियाँ महावाणिज्य दूतावासले टर्कीमा देखा परेको महामारीको प्रतिरोध कार्यमा सक्रियताका साथ सहयोग गरी प्रशस्त काम गरेको थियो। त्यस बेलाको अनुभवबारे चर्चा गर्दै याङ युन भन्नुहुन्छ,

टर्कीमा कोरोना महामारी देखा परेपछि चिकित्साकर्मीहरु महमारीको प्रतिरोधमा व्यस्त भएका थिए। टर्कीका स्वास्थ्य मन्त्रीले इन्टरनेटमा चिकित्साकर्मीहरुको सम्मानमा ताली बजाउने कार्यक्रमको आयोजना गर्नुभएको थियो। हाम्रो महावाणिज्य दूतावासले पनि यस कार्यक्रममा सक्रियताका साथ भाग लिएर ताली बजाउने भिडियो बनाएको थियो। जसले स्थानीय नागरिकहरुको हार्दिक स्वागत पाएको थियो। केही स्थानीय माध्यमले हाम्रो भिडियोलाई ध्याना दिई सो भिडियो डाउनलोड गरी टेलिभिजनमा समेत प्रसारण गरेका थिए।

 

याङ युनको विचारमा समानता नै व्यक्तिहरु बीचको आदानप्रदान गर्ने आधार रहेको छ। इस्तानबुलका लागि चिनियाँ महावाणिज्य दूतावासको राजनीतिक प्रेस कार्यालयका प्रमुखको रुपमा याङ युनले स्थानीय सञ्चार माध्यम र बासिन्दाहरुसँग आदानप्रदान गर्दा दुई पक्षको समानतालाई ध्यान दिनुभएको थियो। तथापि कोरोना महामारी देखा परेयता यस्तो आदानप्रदान अनलाइनमा सरेको छ। हरेक वर्षको मे १९ तारिख टर्कीको युवा तथा खेलकुद दिवस हो, जुन चीनको “मे ४ युवा दिवस” सँग मिल्छ। अघिल्लो मे १९ तारिख महावाणिज्य दूतावासका जवान कूटनीतिज्ञका प्रतिनिधिको रुपमा याङ युनले इस्तानबुलका लागि चिनियाँ महावाणिज्य दूतावासको सामाजिक सञ्चार माध्यममा प्रत्यक्ष प्रसारण गर्नुभएको थियो। यसबारे चर्चा गर्दै याङ युन भन्नुहुन्छ,

प्रत्यक्ष प्रसारणमा मैले चीन र टर्कीको इतिहासबाट चर्चा थालेको थिएँ। त्यसपछि “बेल्ट एण्ड रोड” र महामारीको प्रतिरोधबारे दुई मुलुक बीचको सहयोगको ठोस उपलब्धिबारे पनि जानकारी दिएको थिएँ। जसबाट स्थानीय इन्टरनेट प्रयोगकर्ताहरुले द्वीपक्षीय सहयोगबाट ल्याइएको वास्तविक फाइदा बुझेका थिए। आम इन्टरनेट प्रयोगकर्ताहरुले सो प्रत्यक्ष प्रसारणमा चीन र टर्कीका राष्ट्रिय झण्डा उठाएर दुई मुलुक बीचको मित्रताको समर्थन गर्दै सक्रिय टिप्पणी गरेका थिए। प्रत्यक्ष प्रसारणबाट प्राप्त राम्रो परिणामबारे मैले पहिले सोचेको थिइन।

 

स्थानीय सञ्चार माध्यम र बासिन्दाहरुलाई अरु राम्रोसँग “चिनियाँ कथा” सुनाउनका लागि याङ युनले हरेक दिन चीनको पछिल्लो समाचारको संकलन गरी समयमै स्थानीय सञ्चार माध्यम र विद्वानहरुलाई प्रदान गर्नुहुन्छ।

 

कोरोना महामारी देखा परेपछि टर्कीलाई सहयोग पुर्‍याउनुका साथै चिनियाँ महावाणिज्य दूतावासले चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुको महामारी प्रतिरोध कार्यको समर्थन गरेको छ। महावाणिज्य दूत छुई वैले टर्कीमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु र उनीहरुका अभिभावकसँग अनलाइनमा वार्ता गर्दा भन्नुभएको एउटा वाक्य अहिले पनि याङ युनको सम्झनामा रहेको छ।

महावाणिज्य दूत छुईले भन्नुभएको एउटा वाक्य अहिले पनि मेरो सम्झनामा रहेको छ। उहाँले भन्नुभएको थियो, तपाईँ अभिभावकहरु ढुक्क हुनुहोस्। महावाणिज्य दूतावासमा एउटा मात्र मास्क बाँकी भएमा त्यो विद्यार्थीलाई नै दिइने छ। हामीले यस्तो भनेका छौं र यस्तै गरेका छौं।