एमसिसीको सहयोगमा गुणस्तर मापन प्रयोगशाला तयार
2022-04-27 15:38:32cri
Share with:

मिलेनियम च्यालेञ्ज कर्पो   रेशन (एमसिसी) को अनुदान सहयोगमा सडकको गुणस्तर मापन गर्न ४ वटा अत्याधुनिक उपकरण सहितको प्रयोगशाला निर्माण गरिएको छ। एमसिसीले १६ करोड ५९ लाख रूपैयाँ लागतमा सुपरपेभ आस्फाल्ट मिक्स डिजाइन सम्बन्धी उपकरण तथा फलिङ वेट डिफ्लेक्टोमिटर लगायतका उपकरण प्रयोगशालामा जडान गरेको हो। एमसिसीले प्रयोगशाला भवनका लागि मात्रै थप ७३ लाख २० हजार रूपैयाँ खर्चेर भवन निर्माण गरिदिएको हो। एमसिसीले निर्माण गरिदिएको प्रयोगशालाको उद्घाटन एक कार्यक्रमबीच मंगलबार गरिएको छ।

 

सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रयोगशालाहरूको उद्घाटन गरेका थिए। सडकको गुणस्तर दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्नका लागि प्रयोगशाला निर्माण गरिएको हो। एमसिए– नेपालद्वारा गरिएको ती प्रयोगशालाको निर्माण तथा उपकरणहरूको जडान एमसिसी–नेपाल कम्प्याक्टको अनुदानमा गरिएको नागरिकन्यूज डटकमले जनाएको छ।

 

सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले एमसिसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न सकिएकोमा खुसी व्यक्त गर्नुभयो। ‘यो एमसिसी र नेपालबीचको साझेदारीका क्रममा एक महत्वपूर्ण कदम हो र यसले थप समृद्ध भविष्यतर्फको बाटो खोल्नेछ’– उहाँले भन्नुभयो। एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सडक मर्मतका लागि पहिलो पटक प्रयोग गर्न लागिएको नयाँ प्रविधिले नेपालको सडक मर्मतसम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।

सो प्रयोगशालाको निर्माण तथा प्रयोगशाला सम्बन्धी उपकरणको हस्तान्तरण कार्य नेपाल सरकार तथा एमसिसी बीच २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको एमसिसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गत सडक मर्मत आयोजनाले उपलब्ध गराउने प्राविधिक सहयोगको एक महत्वपूर्ण अंश हो। 

 

एमसिए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजना अन्तर्गत करिब रु. ४४.५३ करोड बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ। उक्त सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमता मापनका लागि सो विभागको सूचना प्रविधि एकाइको सबलीकरण र सडक मर्मत सम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापन सम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ। प्रयोगशालामा जडान गरिएका उपकरणहरू सडक विभागद्वारा सञ्चालन गरिने सडक मर्मत आयोजनासम्बन्धी क्रियाकलाप तथा सडक विभागका प्राविधिज्ञहरूका लागि नियमित रूपमा सञ्चालन हुने प्रशिक्षणका लागि प्रयोग गरिनेछ। उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा सकटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसिसीको ६.३८ अरब अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।