नेपालको चालू आर्थिक वर्षको बाँकी तीन महिना सामान्य रहे मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने अनुमान
2022-04-29 16:41:03cri
Share with:

चालू आर्थिक वर्षको बाँकी तीन महिना सामान्य रहे मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ। बिहीबार चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रारम्भिक अनुमान सार्वजनिक गर्दै विभागले उक्त आर्थिक वृद्धिदर हासिल हुन सक्ने जानकारी दिएको हो । आव २०७८/७९ का छ देखि नौ महिनासम्मका आर्थिक सूचकको विश्लेषण गर्दै उपभोक्ता मूल्यमा ५.८४ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरिएको विभागले स्पष्ट पारेको छ । चालू आर्थिक वर्षका बाँकी तीन महिना (वैशाख, जेठ र असार) पनि सामान्य रूपमै रहने र कोभिड१९ को नकारात्मक असर नरहने अनुमानका आधारमा यस्तो प्रक्षेपण गरिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो।

 

यो वृद्धिदरपछि नेपालको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब आठ करोड रुपियाँ पुग्ने अनुमान छ । आधार मूल्यमा भने अर्थतन्त्रको आकार ४१ खर्ब पाँच अर्ब ५४ करोड रुपियाँ पुग्नेछ ।विभागले गरेको प्रक्षेपण नेपालमा रहेका दातृ निकायहरूले गरेको अनुमानभन्दा धेरै हो । दातृ निकायहरूले अधिकतम ४ प्रतिशतसम्म आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरिसकेका छन् । चालू आर्थिक वर्षमा खासगरी विद्युत् क्षेत्रमा भएको सुधारले आर्थिक वृद्धिदरलाई सहयोग पुर्याएको भण्डारीले बताउनुभयो। माथिल्लो तामाकोसीलगायत जलविद्युत्का महत्वपूर्ण परियोजना सञ्चालनमा आउँदा त्यसको सकारात्मक प्रभाव आर्थिक वृद्धिदरमा पर्ने देखिन्छ,” उहाँले भन्नुभयो।


आधारभूत मूल्यमा भने आर्थिक वृद्धिदर केही कम अर्थात् ५.४९ प्रतिशत मात्र पुग्ने विभागको प्रक्षेपण छ। विभागले यससँगै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ३.८३ प्रतिशत वृद्धिदर हुने संशोधित अनुमान पनि गरेको छ । त्यस्तै आव २०७६/७७ मा वृद्धिदर २.४२ प्रतिशतले ऋणात्मक भएको अन्तिम अनुमान विभागको छ । विभागले पछिल्लो दुई वर्षयता आव २०६७/६८ लाई आधार वर्ष मानेर आर्थिक वृद्धिदर प्रक्षेपण गर्दै आएको छ।

 

गोरखापत्र अनलाइनका अनुसार नेपालको अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको प्राथमिक क्षेत्रकै वृद्धिदर चालू आर्थिक वर्षमा घट्ने विभागको अनुमान छ । कृषि, वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर चालू आर्थिक वर्ष २.४४ प्रतिशत हुने विभागको प्रक्षेपण छ । अघिल्लो आर्थिक वर्ष यस क्षेत्रको वृद्धिदर ३.४ प्रतिशत थियो ।

 

धानबालीको उत्पादनमा भएको ह्रासले यस क्षेत्रको वृद्धिदर घटेको विभागले जनाएको छ । समग्रमा अर्थतन्त्रमा प्रारम्भिक क्षेत्रको योगदान २४.५ प्रतिशत हुने अनुमान गरिएको छ, जुन करिब अघिल्लो आर्थिक वर्षकै समान हो । चालू आर्थिक वर्ष द्वितीय क्षेत्रको वृद्धिदर र योगदान बढ्ने देखिएको छ । उद्योग, विद्युत्, ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र समेटिने यस क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षको ४.४ प्रतिशतबाट बढेर १०.३ प्रतिशत पुग्ने प्रक्षेपण छ । त्यस्तै यस क्षेत्रको अर्थतन्त्रमा योगदान १३.७ प्रतिशतबाट बढेर १४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्रलाई मूल रूपमा सेवा क्षेत्रले नै चलायमान बनाएको देखिन्छ ।

सेवासँग जोडिएका एक दर्जन क्षेत्र समेटिने सेवा क्षेत्रको वृद्धिदर चालू आर्थिक वर्ष ५.९३ प्रतिशत पुग्ने अनुमान छ, जुन अघिल्लो आर्थिक वर्षमा ४.२ प्रतिशत मात्र थियो । सेवा क्षेत्रको योगदान गत आर्थिक वर्षको तुलनामा सामान्य बढेर करिब ६२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

 

यसैबीच चालू आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आय १६ हजार दुई सय रुपियाँ अर्थात् १३३ डलरले बढ्ने भएको छ । विभागका अनुसार प्रतिव्यक्ति आय चालू आर्थिक वर्ष एक लाख ६४ हजार ५९८ अर्थात् एक हजार ३७२ डलर पुग्नेछ । गत आर्थिक वर्ष प्रतिव्यक्ति आय एक हजार २३९ डलर थियो ।  यस हिसाबले चालू आर्थिक वर्ष नेपालीको दैनिक आम्दानी औसतमा ४५० रुपियाँ पुग्ने देखिन्छ ।

 

साथै विभागले चालू आर्थिक वर्ष नेपालको आयात २० खर्ब १२ अर्ब रुपियाँ पुग्ने अनुमान गरेको छ । त्यस्तै निर्यात तीन खर्ब २० अर्ब ७० करोड नाघ्ने प्रक्षेपण गरिएको छ । यस हिसाबले व्यापार घाटा करिब १७ खर्ब रुपियाँ पुग्ने अनुमान छ ।

 

चालू आर्थिक वर्ष नेपालीको बचत गर्ने बानीमा सामान्य सुधार हुने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालीको बचत ९.३ प्रतिशत पुग्ने अनुमान छ, जुन अघिल्लो आर्थिक वर्ष ७.७ प्रतिशत थियो ।

चालू आर्थिक वर्षमा नेपालीले उपभोगमा ४४ खर्ब एक अर्ब ६७ करोड रुपियाँ खर्च गर्ने अनुमान छ।