ऋण उपयोगिता र उपलब्धिबारे अध्ययन गर्न आईएमएफ टोली नेपालमा
2022-04-30 15:50:04cri
Share with:

शून्य ब्याजदरमा नेपाललाई दिइएको सहुलियतपूर्ण ऋण (एक्स्टेन्डेड क्रेडिट फेसिलिटीईसीएफ)को उपयोगिताबारे समीक्षा गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) टोली नेपालमा आएको छ नेपालको आग्रहमा आईएमएफको कार्यकारी समितिले गत मंसिर (जनवरी १४, २०२२) मा करिब ४० करोड अमेरिकी डलर (करिब ४८ अर्ब रुपैयाँ) ईसीएफ स्वीकृत गरेको थियो। यो निर्णयअनुसार आगामी तीन वर्षभित्र नेपालले उल्लिखित रकम शून्य ब्याजदरमा पाउनेछ। यसमध्ये पहिलो किस्तामा करिब १३ अर्ब रुपैयाँ (११०.४२ मिलियन अमेरिकी डलर) नेपाल आइसकेको छ। बाँकी रकम ६ चरणमा नेपालले पाउनेछ

सन् २०२४ डिसेम्बर २२ मा सातौं (अन्तिम) किस्ता नेपाललाई प्रदान गर्ने कोषको तालिका छ। तर हरेक किस्ताको रकम दिनुअघि आईएमएफको टोलीले ऋण उपयोगिता र उपलब्धिबारे स्थलगत रुपमा समीक्षा गर्छ। सोही प्रयोजनका लागि पहिलो समीक्षा गर्न अहिले आईएमएफ टोली नेपाल आएको हो

 

आईएमएफका ईसीएफ रिभ्यु मिसन संयोजक रोबर्ट ग्रेगरीको नेतृत्वमा ८ जना सदस्य रहेको टोली नेपालमा छ। गत आइतबारदेखि समीक्षाबारे अध्ययन सुरु गरेको टोलीले आउँदो मंगलबारसम्म काम पूरा गर्नेछ। तोकिएका लक्ष्य पूरा नभए आगामी किस्ता रोक्नेसम्मका निर्णय हुन सक्छन्। टोलीले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सरकारी निकाय, निजी क्षेत्र, धितोपत्र बोर्ड, बिमा समिति, निजी क्षेत्रका छातासंगठनलगायत निकायसँग भेटघाट गरिरहेको कान्तिपुर अनलाइनमा खबर


सामान्यतया विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर हुँदा आईएमफले ईसीएफ उपलब्ध गराउँछ। यो सर्तसहितको शुन्य ब्याजदरको ऋण हो। कोषको विशेष सुविधा कार्यक्रमको अवस्था हेरेर सन् २०२३ पछि भने न्यून ब्याज लगाउने सक्ने प्रावधान सम्झौतामा छ। तर कोषलाई आर्थिक समस्या हुने सम्भावना न्यून रहेकाले अहिले सदस्य राष्ट्रहरूलाई शून्य ब्याजदरमा प्रदान गरेको ऋणमा ब्याज नलाग्ने जानकारहरू बताउँछन्। नेपालले लिन लागेको सहुलियतपूर्ण ऋण कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्र उकास्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व जोगाउन र गरिबी न्यूनीकरणका विभिन्न कार्यक्रममा खर्च गर्ने प्रतिबद्धता जनाएको आईएमएफले बताएको छ

 

राजस्व र सार्वजनिक खर्च बढाउन, वित्तीय क्षेत्र नियमन, सुपरीवेक्षण र आर्थिक पारदर्शिता कायम गर्न कार्यान्वयन गरिने विभिन्न कार्यक्रमका लागि सरकारले उक्त रकम उपयोग गर्न सक्नेछ। भ्रष्टाचार निवारण प्रयास तथा प्रशासनिक क्षमता अभिवृद्धि पनि यो ऋण रकम उपयोग हुने नेपालका अधिकारीहरू बताउँछन् घट्दो रेमिट्यान्स तथा वैदेशिक लगानी र बढ्दो व्यापार घाटाका कारण पछिल्लो समय नेपालमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ

भुक्तानी सन्तुलन निरन्तर घाटामा गएपछि सरकारले ईसीएफका लागि कोषलाई अनुरोध गरेको हो। सामान्यतता सदस्य राष्ट्रहरूले कोषबाट आरसीएफ र ईसीएफ गरी दुई प्रकारको ऋण सुविधा पाउँछन्। नेपालले धेरै पहिलेदेखि नै यी सुविधा लिँदै आएको छ। सन् २००७ अघि गरिबी निवारण र वृद्धिका लागि सहयोग (पीआरजीएफ) का नाममा यस्तो कर्जा सुविधा ल्याइन्थ्यो। त्यसपछि आरसीएफ र ईसीएसका नाममा लिन थालिएको हो