दुई दिन बिदाले पर्यटन व्यवसायी खुसी
2022-05-02 15:55:50CRI
Share with:

नेपाल सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सो निर्णयबाट पोखराका पर्यटन व्यवसायी खुसी भएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा माग गर्दै आएका व्यवसायी सरकारको सो निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका गोरखापत्र अनलाइनले लेखेको छ।  

कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ।होटल सङ्घले विज्ञप्ति नै निकालेर सरकारको निर्णयले सकारात्मक सन्देश दिएको बताएको छ। ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकामा दुईदिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौँ’ विज्ञप्तिमा भनिएको छ। 

कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुईदिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास सङ्घको रहेको अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले अरू देशमा पनि यस्तो अभ्यास रहेकामा नेपालले ढिलो गरी यसलाई पछ्याए पनि यो सुखद समाचार रहेको बताउनुभयो। यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्ने उहाँले बताउनुभयो। 

पोखरामा हिजोआज विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउँछन्। बिस्तारै नेपालीमा घुम्ने संस्कारको विकास भएको छ। पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन्। तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन्।पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई चौबीसै घण्टा खुला राख्ने निर्णय गरेको छ। अहिले व्यवसायीले लगानी बढाएका छन् भने पर्यटक लक्षित साहसिक खेलकुदका गतिविधि पनि थपिएका छन्।