उपत्यकामा दैनिक १७ करोड लिटर पानी
2022-05-03 16:43:45CRI
Share with:

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ। केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उहाँले बताउनुभयो। वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो। वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने बताउनुभयो। 

उहाँले भन्नुभयो, “यसअघि कतिपय ठाउँमा पानी पुग्न सकेको थिएन। वितरण प्रणालीमा १७ करोड लिटर पठाउँदा पाइप परीक्षण भइसकेका सबै ठाउँमा पानी पुग्नेछ। पानी पुग्न नसकेका ठाउँमा केयुकेएलको ‘-यापिड रेस्पोन्स टिम’ पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ।

” वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा २७ करोड लिटर पानी वितरण हुनेछ। अहिले केयुकेएलले दस करोड लिटर पानी वितरण गर्दै आएको छ। दस करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरेर २७ करोड लिटर पानी काठमाडौँमा वितरण हुने प्रमुख शाक्यले बताउनुभयो।

सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पु¥याउन आवश्यक संरचना निर्माण भइसकेको बताउँदै उहाँले ७७ किलोमिटर लम्बाइको थोक वितरण प्रणाली (ब्लक डिस्ट्रिब्युसन सिष्टम)मार्फत नौवटा ठाउँमा निर्माण गरिएको भण्डारण केन्द्रमा पानी पुगेको र त्यहाँबाट घर–घरमा पुग्नेगरी संरचना निर्माण गरिएको जानकारी दिनुभयो। 

मेलम्चीबाट आउने १७ करोड लिटर पानीमध्ये तीन करोड २० लाख लिटर पानी पाइप परीक्षणका लागि प्रयोग गरिनेछ। उहाँले भन्नुभयो, “पाइप परीक्षणका लागि प्रशस्त मात्रामा पानी चाहिन्छ। ट्याङ्करको पानीले पुग्दैन। १७ करोड लिटर पानी प्रवाहसँगै बाँकी रहेका पाइप परीक्षण गरिनेछ।”

मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यका चक्रपथभित्रको क्षेत्रमा एक हजार किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न भएको छ। केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन एकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापकोटाले काठमाडौँको चक्रपथभित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न एक हजार दस किलोमिटर पाइप लाइन बिछ्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार बिछ्याइएका पाइपमध्ये अहिलेसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ। परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी वितरण गर्न सकिनेछ।