आधारशिविरमै पर्बतारोहण अनुगमन तथा सहजीकरणको बैठक
2022-05-05 16:08:07CRI
Share with:

सगरमाथा आधार शिविरमा पर्बतारोहण अनुगमन तथा सहजीकरण समितिको बैठकमा बसेको छ। पर्यटन विभागले पर्बतारोहणलाई सहज बनाउने लक्ष्यका साथ चैत १३ गते गठिन समितिको बैठक आधारशिविरमा बसेको पर्यटन विभागले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

बैठकमा समितिका सदस्यहरुले आरोही, आरोही गाइड, आधारशिविर मेनेजर, सम्पर्क अधिकृत र आरोही कम्पनीसँग आरोहणको अवस्था बारेमा छलफल गरेका थिए। पर्बतारोहीको बढी चाप हुने खुम्बु क्षेत्रमा सहजिकरणका लागि भन्दै समिति गठन भएको थियो। यस महिना सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३१६ जना, त्यसपछि ल्होत्से हिमाल आरोहणका लागि ११२ जना, आमादव्लम हिमाल आरोहणका लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि ६८ जना, नुप्से हिमाल आरोहणका लागि ५७ जनाले अनुमती लिएको विभागको तथ्याङकमा उल्लेख छ। 

समितिले सन् २०२२ को बसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहण सम्बन्धी विभिन्न गतिविधिहरुलाई थप नियमित, मर्यादित र व्यवस्थित तुल्याउने कार्यमा आवश्यक समन्वय र सहजीकरण गर्ने विभागका निर्देशक मोहनबहादुर जिसिले जानकारी दिनुभयो। 

समितिको संयोजकमा पर्यटन विभागका निर्देशक एवं पर्वतारोहण शाखा प्रमुख सूर्य प्रसाद उपाध्याय रहनु भएको छ। समितिको सदस्यहरुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका सेनानी किशोर अधिकारी, पर्यटक प्रहरीका तर्फबाट प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे, हिमालयन उद्धार संघ नेपालका प्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि, सगरमाथा आरोही संघका तर्फबाट आरोही निशा अधिकारी र वरिष्ठ नापी अधिकृत एवं आरोही खिमलाल गौतम सदस्य सचिव रहनु भएको छ। 

यस महिना नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमती लिई आधारशिविर पुगेका छन्। यी हिमाल आरोहण गर्न ७४ देशबाट आरोही आएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो। 

१११ आरोहणदलबाट आरोहीहरु आधारशिविर पुगेसँगै विभागले प्रत्येक आरोहणदलका लागि एक जना सम्पर्क अधिकृत समेत खटाइ सकेको जनाएको छ। यी हिमाल आरोहण शुल्कबापत विभागले ४६ करोड ७५ लाख सात हजार ६७१ रुपियाँ राजस्व सङ्कलन गरेको छ।