कञ्चनजंघामा बिहीबार २६ आरोही
2022-05-06 15:49:16CRI
Share with:

१५ नेपालीसहित कम्तीमा २६ जनाले बिहीबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गरेका छन्। पायोनियर एडभेन्चर प्रालिका महाप्रबन्धक निभेष कार्कीका अनुसार, बाटो बनाउँदै संखुवासभाका मिङ्मा दोर्जी शेर्पा र सानु शेर्पा दिउँसो ४ बजेर ५२ मिनेटमा शिखरमा पुगेका कान्तिपुर अनलाइनले लेखेको छ।

उनीहरु पछि पायोनियरका १२ नेपाली शेर्पा गाइड र ८ जना विदेशी तथा अर्को कम्पनी सभेन समिट ट्रेक्सका तीन नेपाली र तीन विदेशी गरी कम्तीमा २६ जनाले कञ्चनजंघा आरोहण गरेको दुवै कम्पनीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन्।

पाओनियरबाट नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पा अकितासहित ११ पुरुष छन् भने सेभेन समिटबाट फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित दुई पुरुष आरोही छन्।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनीहरु शुक्रबारसम्म कञ्चनजंघाको आधार शिविरमा आइपुग्ने खबर प्राप्त भएको छ। यसवर्षको बसन्तयाममा आरोहणको सुरुवात चैत २६ गते धौलागिरि हिमालबाट भएको थियो। त्यसदिन १० विदेशीसहित कम्तीमा २४ जनाले धौलागिरि आरोहण गरेका थिए।

यसवर्ष आरोहणका क्रममा एक जना विदेशीले ज्यान गुमाएका छन्। धौलागिरि हिमाल आरोहण सकेर फर्किँदै गरेका ग्रिसका एन्तोनिस साइकारीसको चैत २९ गते ७ हजार ४ सय मिटरको उचाईमा मृत्यु भएको शेर्पाले बताउनुभयो।