नेपाली सेनाको टोली कञ्चनजंघा शिखरमा
2022-05-07 15:49:12CRI
Share with:

ताप्लेजुङमा अवस्थित संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा शनिबार बिहान नेपाली सेनाको टोली पुगेको छ। नेपाली सेनाले इतिहासमै पहिलोपटक कञ्चनजंघा आरोहण गरेको जनाइएको कान्तिपुर अनलाइनले लेखेको छ।

सेनाको अगुवाइमा हिमाल सफाइ अभियान अन्तर्गत गएका क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टोली बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको सफाइ अभियानको ह्यान्डलिङ एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिनुभयो।

टोलीमा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक छिरिङ जाङबु शेर्पा, फुर्वा शेर्पा, ङिमा छिरिङ शेर्पा र छेवाङ शेर्पा छन्। दुई नेपाली सेनासहित हिमाल सफाइ अभियानका ६ जना शिखरमा पुगेका हुन्। समुन्द्री सतहदेखि ८ हजार ५ सय ८६ मीटरको कञ्चनजंघालाई प्राविधिक रुपमा आरोहण गर्न कठिन हिमाल भनेर चिनिन्छ।

गत वर्षहरुमाझैं यस वर्ष पनि नेपाली सेनाको अगुवाइमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाइ भइरहेको छ। गत वर्ष यी हिमालहरुबाट १३ हजार किलोभन्दा बढी फोहोर सेनाले संकलन गरेको थियो।