चीनको सहयोगमा निर्मित टिम्मुरे सुख्खा बन्दरगाहको भौतिक प्रगति ३२ प्रतिशत
2022-05-09 21:45:04cri
Share with:

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा रसुवामा निर्माणाधीन टिम्मुरे सुख्खा बन्दरगाहको भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ । कोरोना महामारीका कारण लामो समय निर्माणमा बाधा पुगेको आयोजनाले अहिले गति लिएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । मंसिरयता बन्दरगाहको भौतिक निर्माणको प्रगति झण्डै दोब्बर भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो। मंसिरमा १८ प्रतिशत रहेको आयोजनाको भौतिक प्रगति अहिले ३२ प्रतिशत पुगेको उहाँको भनाइ छ।

 

अनलाइनखबरका अनुसार समयमै निर्माण सकिएको भए यही वैशाखमा आयोजना सम्पन्न हुनुपर्ने थियो। कोभिडका कारण आफ्नो देश फर्किएका चिनियाँ कामदारहरु मंसिरमा नेपाल फर्किए पनि आयोजना निर्माणले गति लिएको थियो। कोभिड र कोरोनासँगै नदी छेउमा निर्माणधीन आयोजनालाई बाढीले समेत क्षति पुर्‍याएको थियो।

पाँच तले बहुउपयोगी स्टोरेज बिल्डिङ, एउटा ठूलो र एउटा सानो गोदाम रहने बन्दरगाहमा १८० ठूला ट्रक र दुई वटा जाँच पास केन्द्र रहनेछ। खोलाको धार परिवर्तनका कारण दुई पटक बाढीले बन्दरगाहमा क्षति पुर्‍याएको थियो। निर्माणाधीन व्यापार पूर्वाधारमा चीन सरकारले डेढ अर्ब लगानी गरेको छ। आयोजना नेपाल चीन सीमा क्षेत्रबाट १ किमी  नेपालतर्फ अवस्थित छ।