भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमण गर्ने, ‘मानार्थ महाविद्यावारिधि’दिइने
2022-05-11 17:24:45cri
Share with:

लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अनररी डक्टरेट’ अर्थात् मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ। भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन लुम्बिनी भ्रमणमा आउने कार्यक्रम छ। भ्रमणका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले महाविद्यावारिधिबाट सम्मान गर्न लागेको हो। विश्वविद्यालयको कार्यकारिणी सभाले मोदीलाई अनररी महाविद्यावारिधि दिने निर्णय गरिसकेको विश्वविद्यालय महासभाका सदस्य डा. रमेश ढुंगेलले  बताउनुभयो। लुम्बिनी विश्वविद्यालयका चान्सलर प्रधानमन्त्री रहने व्यवस्था छ।

नेपालखबर अनलाइनका अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयमा भारतका तर्फबाट पनि अध्यक्ष राख्ने विषयमा नेपाल र भारत सरकारबीच छलफल जारी छ। ‘भारत सरकारले नै तलबभत्ता र सुविधा व्यहोर्ने गरी लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्यक्ष राख्ने विषयमा कूटनीतिक तहमा छलफल भइरहेको छ। तर, निर्णय भइसकेको छैन’ स्रोतले भन्यो।

जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी उत्तर प्रदेशको कुशीनगर हुँदै लुम्बिनी आइपुग्ने कार्यक्रम छ। लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले विशेष कार्यक्रमलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन्। नेपाल सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी पनि कार्यक्रममा सहभागी हुनेछन्।

नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी तीब्र बनाएको छ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष पूजाआजा तथा ध्यानमा मोदी सरिक हुने कार्यक्रम छ। मोदीले मायादेवी मन्दिरमा डेढ घण्टा पूजाआजामा बिताउने र अशोक स्तम्भमा द्वीप प्रज्ज्वलन र पुष्करणि पोखरीको दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्ने योजना छ।

 मोदीको भ्रमणको कार्यतालिकामा काठमाडौं परेको छैन। बुद्ध जयन्तीका अवसरमा हुन लागेको मोदीको एकदिने भ्रमणलाई औपचारिक स्वरुप दिन लागिएको अधिकारीहरुले बताए। राष्ट्रसंघीय एजेन्सी युनेस्कोको निमन्त्रणामा मोदी लुम्बिनी भ्रमण गर्न लागेको भएपनि भारतीय विदेश मन्त्रालयले भ्रमणबारे केही बताएको छैन।

 मोदीको यो पाँचौँ नेपाल यात्रा हुनेछ। पहिलोपटक सन् २०१४ अगस्टमा नेपाल भ्रमण गरेपछि सार्क शिखर सम्मेलनमा भाग लिन सोही वर्षको नोभेम्बर र तेश्रो पटक सन् २०१८ को मे महिनामा नेपाल आउनुभएको थियो। चौथोभ्रमण २०१८ अगस्टमा भयो। नेपालले आयोजना गरेको बिमस्टेक शिखर सम्मेलनमा मोदीले सहभागिता जनाउनुभएको थियो।

 यसैबीच भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तयारी तिव्र पारिएको छ। २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रम लागि मोदी हेलिकोप्टरबाट लुम्बिनी उत्रने कार्यक्रम छ। भ्रमण तयारीमा संलग्न अधिकारीहरुका अनुसार मोदीसहितको भारतीय प्रतिनिधिमण्डलको अवतरणका लागि चारवटा हेलिप्याड निर्माण जारी छ।