चीनमा फेरि फैलिएको हो त कोरोनाभाइरस?
2022-05-12 15:27:29cri
Share with:

————अजय अलौकिक

हाल बेइजिङमा फेरि पनि छिटफुट रूपमा कोरोनाभाइरस (कोभिड-१९) सङ्क्रमण देखिएको छ, दिनमा चालिस/पचासको हाराहारीमा। कुनै बेला नेपालमा समेत दैनिक रूपमा हजारौँको सङ्ख्यामा सङ्क्रमण देखिएको अवस्था र विश्वका विभिन्न देशमा एकै दिन लाखौँ जनता सङ्क्रमित भएको अवस्थामा यो सङ्ख्या नगन्य र छिटफुट नै मान्न सकिन्छ। त्यस माथि, विश्व झण्डै दुई वर्षअघि इपिसेन्टर मानिएको ऊहानमा चीनले कोरोनाभाइरस सङ्क्रमणलाई शुन्यमा झारेर विजय हासिल गरेको अवस्थाको साक्षी पनि हो। तर अहिले चीनमा फेरि एकाएक कोभिड-१९ सङ्कमण देखिनथालेको छ।

पछिल्लो समयमा तिब्बत स्वायत्त प्रदेशलगायत केही प्रान्तबाहेक अरू सबै प्रान्त र सहरमा देखिएको छ। साङहाईमा लकडाउन जारी नै छ। यसै अवस्थालाई लिएर विश्वको ध्यान चीनमा खिचिएको छ। साङहाईपछि बेइजिङ सहरभित्रका केही क्षेत्रहरू सिल्ड छन्। यसले विश्वभरका मानिस त्रसित, सशंकित अनि अन्योलमा छन्।

हुन त विश्वबाट कोभिड-१९ पूर्ण रूपमा हराइसकेको पनि होइन र यसको म्यूटेसन पनि भइ नै रहेको छ र सङ्क्रमण फैलिने दरमा केही तलमाथि भएको अवस्था मात्रै हो। विज्ञहरूको भनाइ पनि यही नै हो। यो अझै प्राणघातक नै हो। खोप र स्वास्थ्य सुरक्षा र सतर्कताले हामी यसबाट कम प्रभावित भएका छौँ। यस बाहेक, कतिपय देशमा यो कोभिड-१९ सँगै बाँच्ने नीति पनि अवलम्बन गरिएको छ। यसलाई एउटा कडा रूघाको रूप लिइएको देखिन्छ तापनि यो कोभिड-१९ सँगै रोग लुकेको कुरा भने बिर्सनु हुँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार, यो कोभिड-१९ को पूरा अर्थ कोरोनाभाइरस रोग-२०१९ हो।

कोरोनाभाइरस यो शताब्दीकै भयङ्कर डरलाग्दो महाव्याधी हो। कतिपय देश र जनताले समेत यसलाई हल्का रूपमा लिइरहेको पाइन्छ जब कि यस रोगका कारण प्रत्यक्ष/अप्रत्यक्ष गरी आजको दिनसम्म करिब १ करोड ५० लाख मानिसले ज्यान गुमाइसकेका छन्। यस बाहेक, कतिपय ठाउँ र देशमा ‘हर्ड इम्युनिटी’ बाट महामारीलाई सामान्यकरण गरिरहेको भन्ने गरिएको छ।

यता चीन यो कोरोनाभाइरसको उद्यदेखि नै ‘सर्वप्रथम जनता’ को नारासँगै जन स्वास्थ्य तथा सुरक्षामा केन्द्रित रहेको छ। आफ्ना जनतालाई सकेसम्म रोग लाग्नै नदिने सोच र सोही अनुरूप अग्रसर छ।

यही ‘डाइनामिक जिरो पोलिसी’ लाई पछ्याउँदै चीन साङहाई जस्तो विश्व आर्थिक केन्द्रलाई समेत लकडाउन गरी हरेक दिन न्यूक्लिक एसिड परीक्षण गर्दै सर्वप्रथम रोगको जरो उखेलेर निमिट्यान्न गर्न लागिपरेको छ। साङहाई सहर लकडाउन भएको एक महिना पुगेको छ र अहिले सङ्क्रमण दर निकै नै ओरालो लागिसकेको छ। साथसाथै १८०० अत्यावश्यक औद्योगिक संस्थाहरूमध्ये कूल ७० प्रतिशत संस्थाहरू पुनःसञ्चालन पनि भइसकेका छन्। केही कम्युनिटी आवास क्षेत्रहरू खुला पनि भइसकेका छन्।

यसै बीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार, मार्च ५ मा कोभिड-१९ रोकथाम कार्यसम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिको बैठकको अध्यक्षता गर्दै चीनको हालको कोभिड-१९ नियन्त्रण रणनीति वैज्ञानिक र प्रभावकारी साबित भएको तथा यस लडाइँविरूद्ध मुलुक महत्त्वपूर्ण र कठिन चरणमा पुगेकोले सो रणनीतिलाई अडिग रूपमा पालना गर्न जोड गरेका छन्। राष्ट्रपति सीले भने, ‘हामीले ऊहानमा महामारीविरूद्धको लडाइँ जितेका थियौँ, हामी निश्चित रूपमा साङहाईमा पनि भाइरसविरूद्धको लडाइँ जित्ने छौँ।’

चीन अहिले ऊहानपछि झण्डै दुई वर्षपछि कठिन लडाइँ लडिरहेको छ। साङहाईलगत्तै बेइजिङमा ओमिक्रोनको आतङ्क फैलिएको छ। हाल बेइजिङमा देखिएको अवस्था विश्वमा यो महामारी फैलिएपछि पहिलो पटक हो। हाल १३ वटा मेट्रो लाइनका ६० वटा स्टेसनहरू बन्द छन्। बेइजिङभित्रको आर्थिक केन्द्र छाओयाङ जिल्लाका धेरै कम्युनिटीहरू सिल गरिएका छन्। बेइजिङभरि मनोरञ्जन स्थल, रेस्टुराँ, सङ्ग्रहालय तथा पर्यटकीय स्थलहरू बन्द छन्।

साङहाईलाई ध्यानमा राखेर बेइजिङले मे दिवसको विदाअगाडि नै यस्तो सतर्कता अपनाएको हो। मे दिवसको पाँच दिने विदा आर्थिक गतिविधि चलायमान गर्ने माध्यम हुँदाहुँदै पनि सरकारले सबै कुरा ठप्प रोकेर मानवीय आवातजावतलाई कम गर्ने कदम चालेको थियो। यस बाहेक, बेइजिङभरि न्युक्लिक एसिड परीक्षण चालेको थियो। किनभने अप्रिल २२ देखि बेइजिङमा नयाँ सङ्क्रमित रोगीहरू देखा परिरहेका थिए। पछिल्लो चरणमा अप्रिल २२ देखि आजको दिनसम्म मात्र पाँच सय नाघेको छ। दुई करोड तीस लाख जनसङ्ख्या भएको सहरमा १५ दिनमा ५४० सङ्क्रमण थपिनु विश्वका अरू क्षेत्र या नेपालसँग तुलना गर्दा पनि त्यो सानो अङ्क हो।

आममानिसलाई चीनमा फेरि नयाँ कोरोनाभाइरस फैलियो भन्ने पनि लागेको छ। साङहाईमा लकडाउन भएदेखि नै मानिसहरू त्रसित भएका थिए। विश्वभरि बिस्तारै सुस्ताएको अवस्थामा चीनमा फेरि बल्झिएको समाचारले मानिस त्रसित र सशंकित भएका हुन्। यहीँ नेर भ्रम चिर्न चाहन्छु, मार्चदेखि समग्र चीनमा यस कोभिड-१९ को भेरियन्ट ओमिक्रोनले आतङ्क मच्चाएको हो। चीनमा कुनै नयाँ भाइरस देखिएको होइन। अहिले चीनमा ओमिक्रोनको आतङ्क हो। साङहाई लकडाउनको समाचारसँगै विश्वले चीनमाथि संकित नजरले हेरेको देखिन्थ्यो, विभिन्न सामाजिक सञ्जाल र समाचारमा समेत अपुष्ट रूपमा चीनमा फेरि कोरोना कहरको चर्चा चुलिएको थियो।

वर्तमान अवस्थामा राजधानी बेइजिङका विभिन्न क्षेत्र र कम्युनिटीलाई पनि सिल गरिएको छ। बाहिरी दुनियाबाट साथै नेपालबाट हेर्दा चीन यसको कहरमा बल्झिएको देखिन्छ। हरेक पक्षमा पहिलो स्थानको होडमा रहेको र नक्कली सूर्य र चन्द्रमा बनाउने क्षमता भएको चीन कसरी असफल भन्ने प्रश्न तेर्सिने पनि गरेको छ।

विश्वका धेरै भूभागमा यस भाइरसको कहर केही मन्द देखिएको अवस्थामा यो सवाल स्वभाविक पनि होला। तर, १ अर्ब ४४ करोड जनसङ्ख्या भएको चीनमा दिनमा मात्र ३५६ सङ्क्रमित न्यून होइन र? हो, यहाँ एक जना देखेसम्म पनि त्यसको जरा पत्ता लगाउने र त्यसको असर र प्रभावको खोजी गरिन्छ। यही कार्यलाई बाहिरबाट हेर्दा भीमकाय लागेको हो। तर, यहाँबाट, बेइजिङबाट हेर्दा काठमाण्डु खाल्डो, नेपाल अनि अमेरिका र अरू प्रभावित क्षेत्रलाई देख्दा अचम्म लाग्छ।

एक पटक सङ्क्रमित रोगी देखिएको ठाउँ, उसले टेकेको ठाउँ र छोएका सबै चीजबिज सङ्क्रमित हुन्छन्। यसर्थ, सङ्क्रमित र सङ्क्रमितको सम्पर्कमा रहेका मानिसमा समेत कोरोनाभाइरसको बास देखिन्छ, अनि साथै समग्र हावापानी। केही समय निष्क्रिय रहला या केही समयपछि मेटिने होला। तर कुनै बेला पनि त्यसले विशाल रूप लिने सम्भावना भने नकार्न सकिँदैन।

यहाँ, मेरो व्यक्तिगत घटना राख्न चाहन्छु, पढ्नुस् है। तपाईँ चीनको तयारी, सतर्कता, प्रविधि सबैबाट चकित खानुहुन्छ। कुनै पनि देश तथा त्यहाँको सरकार र जनता आफैले सतर्कता अपनाएको छैन या कुनै तयारी र नीति अख्तियार गरेको छैन भन्ने अर्थ नलागोस् तर चीनको चुस्ततालाई विश्वले पहिलेदेखि पछ्याइ दिएको भए यो महामारी विलय भइसक्थ्यो कि!

यो अप्रिल २८ को कुरा हो, मलाई अफिसबाट २७ तारिख राती नै घर नजिकैको वाण्डा प्लाजामा जानुभएको छ कि त्यहाँ अप्रिल २१ तारिखमा सङ्क्रमित गएको पाइएको छ भनेर सूचित गरिएको थियो। म भने २३ तारिख सोही प्लाजामा रहेको ‘क्यारिफोर’ मा किनमेलका लागि गएको थिएँ। त्यसकारण, सिधा उत्तर दिएँ, अप्रिल २१ मा गएको छैन। तर अफिस गएपछि थाहा पाएँ कि अप्रिल २१ देखि त्यहाँ गएका सबैलाई तीन दिन अबर्जरभेसनमा बस्न भनिएको रहेछ।

परेन फसाद! म २३ मा गएको थिएँ, त्यसपछि मलाई घरैमा बसेर काम गर्न र ३ दिनसम्म आफूलाई हेर्न तथा बाहिर नजान भनियो साथै आवश्यक सामग्री चाहेको खण्डमा जानकारी गराउन भनियो। म सरासर घर फर्केँ। लौ! म त २३ तारिख गएको हो नि! मैले यसो पनि भनेँ, ओहो! २१ तारिखमै बजार गएको भए।

यस बाहेक, मलाई दुईपटक न्युक्लिक एसिड परीक्षण पनि गर्न भनिएको थियो। सोही बेला मे दिवसलाई मध्य नजर गरी बेइजिङभरि नै एक दिन बिराएर आफ्नो कम्युनिटीमा परीक्षणको व्यवस्था गरिएको थियो। अप्रिल २६ मा गरिएको परीक्षणको नतिजा नेगेटिभ पनि आइसकेको थियो। साथै सोही दिन बिहानै दोस्रो खेपको स्वाब गराएर अफिस गएको थिएँ। ममा कुनै लक्षण थिएन पनि र ममा छैन भन्नेमा ढुक्क पनि थिएँ। तापनि सम्भावनालाई नकार्न सकिँदैन।

यसै बीच, सोही साँझ मोबाइलमा एउटा मेसेज आयो, तपाईँ केही दिनअघि जानुभएको वाण्डा प्लाजामा सङ्क्रमित रोगी पुगेको भेट्टाइएको छ, तपाईँ आजबाट तीन दिनसम्म घरमै बसी आफूलाई हेर्नुहोला, साथै कुनै लक्षण देखिएको छ भने तुरून्तै सम्पर्क गर्नुहोस्। यसरी चीनको उन्नत प्रविधि अनि सतर्कता तथा तयारी र जनतालाई सुरक्षित राख्ने नीतिको आफूले पनि अनुभव गरेँ।

चीनको डाइनामिक जिरो नीतिलाई स्पष्ट बनाउने अर्को यस्तै प्रसङ्ग सुन्दा तपाईँ अझै चकित हुनुहुने छ। खासमा, के थियो त घटना? केही महिनाअघिको कुरा हो, अफिसमा एक सहकर्मीलाई नदेखेको हप्तादिन जसो भएको थियो र अर्को सहकर्मीलाई सोधपुछ गर्दा उनी अबजर्भेसनमा रहेको बताइयो। खासमा यस्तो थियो घटना, उनको परिवारको एक सदस्यले काम गर्ने संस्थाका एक कर्मचारीको सम्पर्क सङ्क्रमित रोगीसँग भएको पाइएको थियो, र उक्त पहिलो शंकाको घेरामा रहेको व्यक्तिबाट महामारी कोरोनाभाइरस रोगको विशेषता अनुसार तीव्र रूपमा फैलिनसक्ने सम्भावना कारण उनीसमेत अबजर्भेसनमा थिए।

खासमा भन्नुपर्दा नेपाली दाजुभाइ दिदीबहिनीले साह्रै हलुका रूपमा लिएको पाइन्छ। लक्षण देखिँदादेखिँदै पनि परीक्षण नगर्ने र साधारण रूपमा लिने गरेको देखिन्छ। एकजनाबाट घरपरिवार सबैमा नराम्रो असर पर्नसक्छ। यहाँ बेइजिङमा, हालसालै एकजनाबाट तीन र तीनबाट चालिसजनामा सरेको भेट्टाइएको छ। कन्ट्याक्ट ट्रेसिङ गर्दै जरासम्म खोज्दैजाँदा सार्वजनिक शौचालयमा गएका एक सङ्क्रमितबाट अरू दुई र यसरी समग्रमा चालिसजनासम्म सरेको पाइएको थियो। यसरी चीनले उन्नत प्रविधिको विकास, विस्तारसँगै सावधानी र सतर्कता अपनाउँदै जनताको स्वास्थ्य र प्राणलाई पहिलो प्राथमिकतामा राखेको छ।

यसै महामारी भाइरसलाई निमिट्यान्न पार्न कसिलो रणनीतिलाई अपनाउँदै आएको हो। अन्यथा, यहाँ भाइरसको रजगज छैन भन्दा फरक पर्दैन। हालसम्म विशाल चीनमा ८ लाख १८ हजार सङ्क्रमित भएका छन् र १५ हजारको मृत्यु भएको छ।

अन्त्यमा, फेरि पनि दोहोर्याउन चाहन्छु, कोरोनाभाइरस महामारीको अन्त्य भएको छैन। विज्ञको भनाइहरू सम्झाउन चाहन्छु, कोरोनाभाइरस पूर्ण रूपमा निमिट्यान्न भएको छैन। सचेत रहनुस्, लापरवाहीले ठूलो क्षति हुनसक्छ। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा हात धुने लगायतका स्वास्थ्य सुरक्षाका कार्य अझै पनि गर्नुपर्छ। साथै उक्त भाइरसले धेरै मानिसको अङ्ग प्रत्यङ्गमा आफ्नो छाप छोडिसकेको छ र यसको असर के कस्तो हुने छ, त्यो त समयको गर्भमा छ। यसकारण, रोग लाग्न नदिनु नै पहिलो शर्त हो। र, सावधानी तथा सतर्कता अपनाउँदै यस महाव्याधीबाट बच्ने उपायहरूको अवलम्बन नै जन कल्याण हो।

(हिमालप्रेसमा शनिबार २४, बैशाख २०७९ मा प्रकाशित)