यस वर्षको वसन्ते सिजनमा अनुमति लिएका अधिकांश सगरमाथा शिखरमा
2022-05-19 15:32:29cri
Share with:

यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान रहेको गोरखापत्र अनलाइनले लेखेको छ। 

विभागका पर्वतारोहण शाखा अघिकृत भीष्मराज भट्टराईका अनुसार जारी सिजनमा साना हिमाल आरोहण गर्ने अघिकांशले आरोहण पूरा गरिसकेका छन् भने सगरमाथा आरोहण पनि अघिल्ला वर्षको तुलनामा सुरक्षित र समयमै सम्पन्न हुन लागेको छ । अहिलेको तयारीअनुसार अब कसैले अनुमति नलिए मे २८ भित्र सगरमाथा आरोहण सकेर डोरी निकाल्ने काम सम्पन्न हुनेछ ।

यो सिजनमा विभिन्न २७ हिमाल आरोहणका लागि १२३ समूहका ९६८ आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथा हिमाल आरोहणका लागि ४२ आरोही समूहका ३१९ आरोहीले अनुमति लिएका हुन् ।

त्यस्तै माउन्ट ल्होत्से आरोहणका लागि १४ समूहका १३४ आरोहीले अनुमति लिएका छन् । अमादब्लम आरोहणका लागि नौ समूहका ९७, कञ्चनजङ्घा आठ समूहका ६९, नुप्त्सेमा नौ समूहका ७२, अन्नपूर्ण पहिलोमा चार समूहका २६, धौलागिरिमा तीन समूहका २७, मकालुमा पाँच समूहका ४४ जनाले आरोहणको अनुमति लिएका थिए । अहिले सगरमाथाभन्दा साना उचाइका अधिकांश हिमालको आरोहण सकिएको छ ।यस वर्ष आरोहणका लागि खुला गरिएका हिमालबाट ४८ करोड ११ लाख ९५० रुपियाँ राजस्व उठेको पर्यटन विभागले जनाएको छ ।

यस वर्ष हिमाल आरोहण गर्न अमेरिकाबाट १३८, बेलायतबाट १०८, भारतबाट ६५, फ्रान्सबाट ६०, क्यानडाबाट ३६, अस्ट्रेलियाबाट ३१, रसियाबाट २९, चीन २४ जनाले सबैभन्दा बढी अनुमति लिएका छन् ।त्यस्तै सगरमाथा आरोहणतर्फ यस वर्ष सबैभन्दा बढी अमेरिकाबाट ६५, बेलायतबाट ३४, रसियाबाट १७, भारतबाट २४, क्यानडाबाट १७, फ्रान्सबाट १३ जनाले अनुमति लिएका छन् ।

यस वर्ष हिमाल आरोहण सुरु भएयता हेलिकप्टरको व्यापारसमेत फस्टाएको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार पछिल्लो समय हेलिकप्टरको प्रयोग कोरोना महामारीयताकै सर्वाधिक बढी रहेको छ । अहिले ११ कम्पनीका साढे दुई दर्जन हेलिकप्टरले दैनिक सात घण्टासम्म उडान भर्दै आएको सङ्घले जनाएको छ । 

अहिले आरोहणका लागि आरोहीको साथमा हिमाली क्षेत्रमा पुगेका गाइड, सम्पर्क अधिकृत तथा सहयोगीसमेत लगायत फर्कने समय रहेकोले हेलिकप्टरलाई उडान भर्न भ्याइनभ्याई रहेको सङ्घले जनाएको हो । लुक्ला र पोखरालाई बेस बनाएर हेलिकप्टरले उडान गर्दै आएका छन् ।