अन्तर्राष्ट्रिय उडानसँगै भैरहवामा खुल्दै छन् ठूला होटल, हालसम्म ३० अर्ब लगानी
2022-05-23 16:20:36CRI
Share with:

लुम्बिनी र भैरहवालक्षित गरी ठूला होटलमा ३० अर्ब बढी लगानी भएको छ। लुम्बिनीका पर्यटक र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ठूला होटल खुल्नथालेका हुन्। लुम्बिनी आसपासमा दर्जन बढी तारे होटलमा व्यवसायीले लगानी गरेका छन्। केही सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन छन्। गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउँदा होटल व्यवसायी उत्साहित छन्।

 

सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रसाद (सीपी) श्रेष्ठ लुम्बिनी र विमानस्थललाई ध्यानमा राखेर करिब ३० अर्ब बढी लगानी होटल क्षेत्रमा भएको बताउनुभयो। भैरहवा आसपासका होटल व्यवसाय लुम्बिनीमा आउने पर्यटकलक्षित गरी खुलेका थिए। अहिले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने भएसँगै थप लगानी भइरहेका छन्। एसियाली देशका बौद्धमार्गीहरु नेपाल आउँदा सरकारलाई राजस्व पनि बढ्ने र होटल पनि फस्टाउने बताउँछन् होटल व्यवसायी।

लुम्बिनीमा आउने पर्यटकलाई टार्गेट गरेर उक्त क्षेत्रमा करिब २० अर्ब रुपैयाँ होटल क्षेत्रमा मात्रै लगानी भएको छ। कुनै पनि सहरमा अन्तर्राष्ट्रिय उडान हुँदा पहिला त्यो क्षेत्रमा पर्यटनको विकास हुन्छ। जजिरा एयरवेजले भैरहवामा उडान गरे पनि अरु एयरवेजले सिधा भैरहवा उडान गर्छन् कि गर्दैनन् र सरकारले ल्याउने नीतिमा होटल व्यवसाय पनि जोडिने उनीहरुको भनाइ छ। 

 

नेपालखबर अनलाइनका अनुसार विमानस्थल सञ्चालनमा आउँदा कोभिड महामारीले थला परेका होटल व्यवसायीमा भने राम्रै आशा पलाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट जति धेरै देशमा हवाइ सम्पर्क हुन्छ त्यति होटल व्यवसाय बढ्दै जान्छ। ड्रिमल्यान्ड इन्टरनेशनल होटलका कार्यकारी अध्यक्ष गोपाल राना विमानस्थल सञ्चालनमा आउँदा सबैभन्दा खुसी होटल व्यवसायी रहेको बताउनुहुन्छ।

बुद्ध जन्मस्थल लुम्बिनीसँगै गौतमबुद्ध विमानस्थल,  भारतीय सीमानाका, विशेष आर्थिक क्षेत्र, ठूलो भन्सार कार्यालयको कारण पनि ठूला होटल चल्ने व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय एयरलाइन्स थपिँदै गए अहिलेका होटल पूर्वाधार अझै अपुग हुनेछ। वैदेशिक रोजगारीमा जाने नेपाली र पर्यटकीय आवागमन बढेसँगै तारे होटलको चाप बढ्नेछ।

रुपन्देहीकै पहिलो पाँचतारे होटल टाइगर प्यालेसलाई चर्चित मानिन्छ। ५ अर्ब बढी लगानी भएको यसमा १५० कोठा छन्। यहाँ आउने भारतीय पर्यटकको लागि यो होटल मुख्य आकर्षण बनेको छ। क्यासिनो समेत भएकाले यहाँ दैनिक सयौँ भारतीय आउने गरेका छन्। यसबाहेक सिद्धार्थ ग्रुपले भैरहवामा पाँचतारे होटल खोलेको छ। त्यस्तै पर्यटक लक्षित गर्दै १ अर्बभन्दा बढी लगानी रहेको होटल होक्के पनि छ। तिलोत्तमाको मणिग्राममा रहेको ड्रिमल्यान्ड रिसोर्टले पनि स्तरोन्नति गरी ४ तारे बनाएको छ। मणिग्राममै तारेसरहको होटल टुलिप सञ्चालनमा आएको छ। भैरहवामा तीनतारे होटल नान्स सञ्चालनमा छ।

भैरहवाको नजिकै वसन्तपुरमा होटल बोधी रेडसन सञ्चालनमा छ। यो तारे होटलमा करिब अर्ब लगानी भएको छ। यस्तै, भैरहवाकै बुद्धचोकमा घिमिरे समूहको अर्ब लगानीमा पाँच तारे होटल छ।