विद्युत् खरिद गर्न बङ्गलादेश तयार
2022-05-23 16:29:22CRI
Share with:

नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालबाट विद्युत् खरिद गर्न बङ्गलादेश तयार रहेको बताउनुभएको छ।  नेपाल–बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौँस्थित बङ्गलादेशी दूतावासमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छलफलमा उहाँले नेपालको विद्युत् खरिद गर्न बङ्गलादेश आतुर रहेको बताउनुभएको हो । 

ऊर्जाबाहेकका क्षेत्रमा लगानीका लागि नीतिगत सुधारको अपेक्षा गरेको पनि उहाँले जानकारी दिनुभयो । नेपालसँग लगानी सुरक्षणसम्बन्धी छुट्टै सम्झौता गर्न पहल गरे पनि परिणाम हासिल हुन नसकेको उहाँले बताउनुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

छलफलमा चेम्बरले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग प्रस्ताव गरेको थियो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्युत् खरिदसँगै नेपालमा जलविद्युत्मा लगानी गर्न पनि राजदूत चौधरीसँग आग्रह गर्नुभएको थियो ।