५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्ने ऊर्जामन्त्रीको दाबी
2022-05-24 16:15:50CRI
Share with:

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी ५ वर्षपछि वार्षिक करिब ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुगिने दावी गर्नुभएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) र कान्तिपुर मिडिया ग्रुपले संयूक्त रुपमा आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। ‘यस आवमा करिब २ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा छौं । अर्को आर्थिक वर्षमा करिव ५०० मेगावाट विद्युत् निर्यात हुनेछ, जसबाट करिब १२ देखि १५ अर्ब रुपैयाँ आर्जन गर्न सक्नेछौं’ उहाँले भन्नुभयो‘आगामी ५ वर्षपछि वार्षिक करिव ५० अर्बको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नेछौं।’

नेपालको वर्तमान विद्युत् माग करिव १७ सय मेगावाट रहेको र जलविद्युतको जडित क्षमता करिव २३ सय मेगावाट पुगेको बताउँदै उहाँले सिँचाइ र विद्युतको संयोजन गर्दै आफूले कृषि उत्पादकत्व बढाउन ध्यान दिएको बताउनुभयो। कान्तिपुर अनलाइनका अनुसार आगामी नीति तथा कार्यक्रम र बजेटमा पनि सिँचाइलाई विशेष प्राथमिकतामा राखिएको छ।

आयात निरुत्साहित गर्न र उत्पादकत्व वृद्धि गर्नका लागि विद्युतको खपत नेपालमै बढाउने कार्यक्रम अगाडि सारिने बताउँदै उहाँले थप्नुभयो, ‘उत्पादित विद्युतलाई औद्योगिक वस्तु उत्पादन, यातायातमा विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि, ग्यास चुलोको सट्टामा विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गरिने छ ।’ विद्युतीकरण करिब ९५ प्रतिशत जनतामा पुगिसकेको र आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने सरकारको लक्ष्य रहेको छ।