'दक्षिण एसियाली मुलुकहरुमा थुप्रै संकट' रहेको काठमाडौं भेलाको निचोड
2022-05-28 16:00:30CRI
Share with:

गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्च (सापे) ले दक्षिण एसियाली मुलुकहरुमा व्यापक संकट रहेको निचोड निकालेको छ । काठमाडौंमा आयोजित तीनदिने भेलापछि दक्षिण एसियाका प्रतिनिधिहरुले दक्षिण एसियाका मुलुकहरुमा थुप्रै समस्या रहेको बताएका हुन् । दक्षिण एसियाका प्रतिनिधिहरुले श्रीलंकामा राजपाक्ष परिवारको गलत कामको कारण आर्थिक संकट, अफगानिस्तानमा तालिबानको राजनीतिक नेतृत्वको कारण जनताको मौलिक अधिकारमै संकट, बंगलादेशमा म्यान्मारबाट लखेटिएका रोहिंग्या शरणार्थीको संकट तथा भारत र पाकिस्तानमा धार्मिक अतिवादको संकट रहेको औंल्याएका थिए।

काठमाडौंमा भएको छैटौं वार्षिक सभा तथा जनसार्क बैठकमा यस क्षेत्रका सामाजिक अभियान्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको कान्तिपुर अनलाइनले लेखेको छ।

तीनदिने छलफलपछि १५ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरिएको छ। उनीहरुले दक्षिण एसियाको समस्या समाधान गर्न सार्क मुलुकहरु मिल्नु पर्ने पनि सुझाव दिएका छन् । यस्तै भारत र पाकिस्तानले द्वन्द्व गर्न नहुने तथा अफगानिस्तान र श्रीलंकाको संकटलाई सबै मिलेर सम्बोधन गर्नुपर्ने उनीहरूको सुझाव थियो। दक्षिण एसियाली मुलुकहरु बीचमा बन्द सीमालाई खुला गर्नुपर्ने पनि उनीहरुको माग थियो।